२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
स्मृति

शोकमग्न शिवगढी : मृत्युञ्जयी योद्वा

शोकमग्न शिवगढी : मृत्युञ्जयी योद्वा

बुधवार, चैत्र १६ २०७८
बुधवार, चैत्र १६ २०७८
  • दशैंको असरल्ल चहलपहल थियो गाउँभरी । पाखाभरी कोदो झुलेका थिए । काँक्रा, फर्सी, चटेलाहरू लटरम्म थिए बारीभरी । पखेरामा रातै टिमुर पाकेका थिए । हामी छुट्टी लिएर गाउँ फर्किएका थियौं । अर्थात् गुल्मीको सुदूरपूर्व ठूलो लुम्पेक गाउँ । बिहान घाम आगनमा विस्कुनजस्तै पोखिएको थियो । म बोइलाई भान्सातिर काम सघाउँदै थिएँ । बिहानको ८ बजेतिर मोबाइल हेर्दा बिषम सर, प्रज्वलन सर, ईश्वरी दाई र पारस भान्जाको मिसकल देखेँ । अब फोन रिप्लाई गर्छु भनेर किबोर्डमा औंला थिच्दाथिच्दै ईश्वरी दाईको फोन फेरि आयो । “वीरजङ्ग सरको दुःखद् घटनाको सम्चार आयो, वास्तविकता के रहेछ ?” दाईको आवाज सुन्ने वित्तिकै मनमा निकै चिसो पस्यो । मैले फेसबुक खोलेँ । फेसबुकको भित्ताभरि वीरजङ्ग सरको फोटोमा शोक श्रद्धाञ्जलीका शब्दहरूको लस्कर थिए । म असाध्यै निस्तब्ध भएँ । सपना की विपना, दिन कि रातजस्तै असाध्यै बेचैन र पीडाबोध भयो । मैले श्रद्धाञ्जलीका शब्दहरू लेख्नै सकिनँ । ‘उफ्, कस्तो सहनै नसकिने अप्रिय सम्चारको सामना गर्नुप¥यो !’ म लामो सास फेरेर खातमा उत्तानो पल्टिएँ । केहीबेरमा पारस भान्जा हस्याङ–फस्याङ गर्दै आइपुग्नुभयो । पारसले मतिर मलिन आँखाले हेर्दै सुनाउनुभयो, “वीरजङ्ग सरको निधन भएछ !” हामी एकछिन हेराहेर ग¥यौं । हामीसित कुनै शब्द थिएनन् । शब्दहरू तुरिएको चरम अनुभूत भयो । पार्टी र क्रान्तिको अभिभावक गुमाउनु पर्दाको अजस्र पीडाबोध कस्तो हुन्छ ? अनुभूत ग¥यौं हामीले । 
                                                                                                                              ०००

    कमरेड वीरजङ्गसितका स्मृतिबिम्ब
    हामी बिदा सकेर कार्यक्षेत्र फर्कियौं । कात्तिक ५ गते रूपन्देहीमा महासचिव विप्लवको राजनीतिक प्रशिक्षण लियौं । महासचिव विप्लवको उपस्थितिले विस्तारित बैठक जति उद्देलित र उत्साहपूर्ण थियो, वीरजङ्ग कमरेडको निधनको आलो स्मृतिले उत्तिकै स्तब्ध र शोकाकूल थियो । बैठक हल धेरैपटक भावविह्वल बन्यो–कमरेड वीरजङ्गको स्मृतिमा । सबै कमरेडहरूको आँखाबाट अश्रुधारा बगे । जतिबेला कमरेड वीरजङ्गका प्रसङ्गहरू दोहोरिए, हलमा सन्नाता छाउथ्यो र उत्तिकै दोहोरिएर भक्कानिन्थ्यो । विगतका बैठकहरुमा वीरजङ्ग सरले दिएका राजनीतिक प्रशिक्षणहरु, बैठकहरू, सहिद परिवारसितका भेटघाट, हाँसोठट्टाहरू, उहाँसितका अन्तरङ्ग र सामिप्यताहरू उसैगरी हाम्रो मानसस्मृतिमा मदानीजस्तै फनफनी घुमिरहे । सबै कमरेडहरूको हृदयमा वीरजङ्ग कमरेडको स्मृति रेल बनेर गुडिरह्यो । खासगरी पार्टी पुनर्गठनपछि क्रान्तिकारी पार्टी निर्माणका क्रममा, पार्टीमाथि दक्षिणपन्थी नवसंशोधनवादको प्रहार, प्रतिबन्धको कठोर समयमा दुश्मनको घेराबन्दी, धरपकड, गिरफ्तारीदेखि १२ जना सहयोद्वा कमरेडहरूको बलिदानसम्मका दिनहरू स्मृतिमा दोहोरिए ।  

    पार्टी पुनर्गठन भएपछि हामीले बुटवलको ट्राफिक चोकमा पाकापुराना र नयाँ पुस्ताका कविहरुलाई बटुलेर कवि गोष्ठी गरेका थियौं । रक्तरञ्जित सांस्कृतिक परिवारले सांस्कृतिक प्रस्तुति देखाएको थियो । उहाँ त्यो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यो कार्यक्रममा उहाँले क्रान्तिका लागी सांस्कृतिक सेनाको आवश्यकतामा जोड दिनुभएको थियो । उहाँकै प्रत्यक्ष निर्देशनमा हामीले त्यो गोष्ठीमा प्रस्तुत गरिएका सिर्जनाहरूलाई बटुलेर ‘झुल्केघाम’ साहित्यिक पत्रिका प्रकाशित गरेका थियौं । पार्टीको लुम्बिनी ब्युरो इन्चार्जको हैसियतबाट उहाँले झुल्केघामलाई शुभकामना दिनुभएको थियो । झुल्केघामको दोस्रो अङ्कमा हामीले उहाँको लेख प्रकाशित गरेका थियौं । उहाँले जनयुद्धमा सहादत प्राप्त गर्नुभएकी शिवगढीस्थित चम्किलो सांस्कृतिक परिवारका जनकलाकार क.आरतीको जीवन सङ्घर्ष र उहाँसितको राजनीतिक सानिध्यताबारे लेख्नुभएको थियो । उहाँले जनयुद्धमा लुम्बिनीमा सांस्कृतिक क्षेत्रबाट सहादत प्राप्त गर्ने डीबी थापा, चुनु गुरूङ, रक्षा सारू मगर, मनोज तरामुलगायत कलाकार एवं सांस्कृतिक योद्वाहरूको जीवनसित जोडिएका फोटा, सिर्जना एवं अन्य सामग्रीहरू सङ्कलनका लागी निर्देशन दिनुभएको थियो । झुल्केघामको दुई अङ्क प्रकाशन उहाँको देन थियो । पार्टीमाथि प्रतिबन्धपछि म काम विशेषले उहाँको सेल्टरमा धेरैपटक पुगेको थिएँ । यसक्रममा उहाँले जनकलाकार आरतीको बारेमा जानकारी गराउने गर्नुहुन्थ्यो । कमरेड आरतीको लेखको पाण्डुलिपी लिन म उहाँको सेल्टरमा पुग्दा उहाँले जनयुद्धका सहिदहरू क.अशोक, क.विकल्प र क.पृथ्वीकोबारेमा निकै रूचिपूर्वक स्मृतियाद गर्नुभएको थियो र उहाँहरुको बारेमा झुल्केघामको तेस्रो अङ्कमा लेख्ने बताउनुभएको थियो । तर झुल्केघामको तेस्रो अङ्क हामीले निकाल्न सकेनौं र उहाँको त्यो सपना पुरा हुन सकेन । पार्टी स्कूलमा मलाई उहाँले नै जोड्नुभएको थियो । पार्टी स्कूलमा जोडिएपछि आवश्यक अध्ययन सामग्रीहरु र अन्य समस्याहरुका बारेमा सोधिरहनुहुन्थ्यो । पार्टीमाथि प्रतिबन्धपछि उहाँ जेल छँदा सम्चारहरु पठाउनुहुन्थ्यो । उहाँ चितवन छँदा मैले ‘सपनाको भन्ज्याङतिर’ निबन्ध र केही पुस्तकहरु पठाएको थिएँ । पछिल्लो पटक म कोभिडले थलिएपछि सबैभन्दा धेरैपटक फोन गरेर आवश्यक समस्याहरुबारे सोधपुछ र सान्त्वना दिइरहनुभएको थियो । उहाँको शालिन व्यक्तित्व, वैचारिक र व्यवहारिक जीवन, सरल र निडर व्यक्तित्वबाट म सुरूदेखि नै प्रभावित थिएँ नै । उहाँ क्रिमसन अस्पतालमा आफै थलिएर गम्भीर भई भर्ना हुँदा समेत कार्यकर्ताको बारेमा चिन्ता लिने शैलीबाट म निकै प्रभावित भएको थिएँ । उहाँप्रतिको श्रद्वा सबैभन्दामाथि मेरो शीरमा थियो । २०७३ मङ्सिर १७ गते रूपन्देही जिल्ला पार्टी कार्यालय रातोघर, पुष्पलाल पार्कस्थित पुष्पलालको प्रतिमा र सहिदपार्कमाथि केही भिजिलान्टेहरूद्वारा एकैपटक आक्रमण हुँदा वीरजङ्ग सरलगायत हामी सबै कार्यालयभित्र नै थियौं । घटनापछि मैले यसविरुद्ध लुम्बिनी दैनिकमा कविता लेखेको थिएँ । कविताको मुख्य लाइन हटाएर प्रकाशित गरेपछि मैले लुम्बिनी दैनिकको पाहुर विशेषाङ्कको संयोजकलाई भेटेर आपत्ति जनाएको थिएँ । त्यो कविता वीरजङ्ग कमरेडले पढी सक्नुभएको रहेछ । उहाँले मलाई रातोघरको छटमा बोलाएर धन्यवाद दिनुभएको थियो । उहाँले जहिल्यै हामीलाई विचार र व्यवहारको संयोजन गर्न निर्देशन दिनुहुन्थ्यो । लाल र निपूर्ण भएपछि मात्रै कम्युनिस्ट भइने बताउनुहुन्थ्यो । उहाँको निष्ठता, प्रतिबद्धता, वैचारिक र सांगठनिक नेतृत्व हाम्रा लागी पछ्याइरहने आदर्श थिए ।
                                                                                                                          ०००

    शिवगढी आँसुको सागरमा डुब्यो
    कार्तिक १० गते नेकपाले कमरेड वीरजङ्गको स्मृति र सम्मानमा देशभर श्रद्धाञ्जली सभा गर्ने निर्णय ग¥यो । लालदिशाका सम्पादक डा. शिबशंकर बस्याल र म कपिलवस्तुको श्रद्धाञ्जली सभामा सहभागी भयौं । हामी शिवगढी पुग्दा उहाँको घरनजिकै स्कुलको खुल्लाचौरमा सभाको तयारी थियो । सभामा नेकपाका महासचिव विप्लव, उहाँकी ९४ बर्षीय आमा आशिकादेवी चन्द, वीरजङ्ग सरकी मेडम, घरपरिवार, पार्टीका केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरू, आफन्त शुभचिन्तक लगायत निकै ठूलो संख्यामा जनताको सहभागिता थियो । सबैका आँखाहरू रसाएका थिए । सभाको वातावरण असाध्यै शोकाकूल, भावविह्वल र संवेदित थियो । हामीले कमरेड वीरजङ्गको तश्वीरमा श्रद्धाञ्जलीका फूलहरु चढाएर लालसलाम टक्रयायौं । श्रद्धाञ्जली चढाएर फर्किनेहरु कसैको आँखा ओभानो थिएन । अर्थात् हामी सबै भावविह्वल थियौं । लामो समय भेट भएका कमरेडहरूबीच पनि प्रफुल्लित हाँसो र खुशी थिएन । जनदीर्घातिर सबैको अनुहारमा शोकको सागर थियो । आदरणीय र जनप्रिय नेताको आकस्मिक यात्राले धाँजा फाटेका थिए सबैका हृदय । मृत्युशोकको पीडाले हायलकायल बनाएको थियो सबैलाई । शोकको गहिरो आँसुसँगै आक्रोशको तुफान पनि उर्लदोँ थियो । ती महान योद्धालाई कसले चुडायो यति चाँडै ? हजारौं प्रियजनहरुको खुशी कसले खोसिरहेछ ? सबैका अनुहारमा बेचैनी र आक्रोश मडारिएको थियो । सिङ्गो शिवगढी आदरणीय अभिभावक गुमाएको अजस्र पीडाले शोकमग्न थियो । शिवगढी आँसुको सागरमा चुर्लुम्म डुबेको थियो । अर्थात् शोकसन्तप्त थियो । गीतकार एवं सङ्गीतकार चिरन पुनको शब्दमा शिवगढी फूल झरेको रित्तो बगैचाजस्तै भएको थियो । साथी छुटेको खल्लो पंक्षीजस्तै थियो । मुटु झिकेर तड्पी–तड्पी बाँचेजस्तै थियो । आदरणीय कमरेड वीरजङ्ग जति बाँच्नुभयो, अनन्त बाँच्नुभयो । एक निर्भीक योद्वा बिदा हुनुभयो, क्रान्तिका बाँकी जिम्मेवारी हामीलाई सुम्पेर । 
                                                                                                                                  ०००

    हिमालभन्दा गह्रौं मृत्यु
    मृत्यु अन्तिम सत्य हो मान्छेको । क्रान्ति योद्वाको आकस्मिक यात्राले हामीलाई फूलबिनाको बगैचाजस्तो बनायो । कमरेड वीरजङ्गको बाँकी सपनालाई पुरा गर्ने दायित्व हाम्रो काँधमा आएको छ । नेकपा महासचिव विप्लव भन्नुहुन्छ, “उहाँ जनताका सेवक हुनुहुन्थ्यो । जनतासित मिल्ने सरल जीवन, उहाँमा कुनै लोभलालच थिएन । उपचार नपाएर उहाँको असामयिक निधन भयो । कमरेड वीरजङ्गको निधनले क्रान्ति कमजोर हुँदैन, यसले वर्गदुश्मनप्रति घृणा र क्रान्तिप्रति तागत पैदा गर्छ । उहाँले हिडेको बाटो हामीले पुरा गछौं ।” नेकपा केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ भन्नुहुन्छ, “कमरेड वीरजङ्ग कहिल्यै नझुक्ने योद्धा हुनुहुन्थ्यो । उहाँको असामयिक निधनले मर्माहत र भावविह्वल बनाएको छ । जीवन भनेको आँसु र हाँसोको द्धन्द्धवाद हो । जीवन र जगतलाई हेर्ने दृष्टिकोणबाट हामी विचलित हुनुहुँदैन । राज्यसत्ताको लापरबाहीका कारण उहाँको निधन भएको छ । हामीले शोकलाई शक्तिमा बदल्नुपर्छ । उहाँको सपनालाई वैज्ञानिक समाजवादमार्फत् पुरा गर्नुपर्छ ।” नेकपा सचिवालय सदस्य सन्तोष बुढा मगर भन्नुहुन्छ, “कमरेड वीरजङ्गको मृत्यु स्वभाविक होइन, प्रतिक्रियावादी राज्यसत्ताले समयमा नै उपचार नगरेर हत्या गरेको छ । उहाँको निधनले क्रान्तिलाई निकै ठूलो क्षति पु¥याएको छ ।” नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा भन्नुहुन्छ, “हामी एउटै स्कुल पढेका साथी हौं । उहाँ क्रान्तिप्रति दृढ, इमान्दार, मिलनसार र प्रतिबद्ध हुनुहुन्थ्यो । राज्यले उचित ध्यान नदिएर बेवास्ता गरेकै कारण कमरेड वीरजङ्गको निधन भयो ।” नेकपा केन्द्रीय सदस्य आस्थाले कमरेड वीरजङ्ग जनताको नेता भएको भन्दै पार्टीलाई सुदृढ गर्न र सङ्घर्षको नेतृत्व गर्न सक्ने नेता भएको बताउनुभयो । वाम बुद्धिजीवी बिनबहादुर कुँवरले मान्छेको मृत्यु स्वभाविक भएपनि कमरेड वीरजङ्गको मृत्यु स्वभाविक नभएर राज्यसत्ताले गरेको हत्या भएको बताउनुभएको छ । 

    हामीसित जनताका महान सपनाहरु छन्, त्यो यात्रामा आदरणीय कमरेड वीरजङ्गलाई गुमाउनुपर्दा हामी असाध्यै गहुङ्गो पीडाको पहाडले थिचिएका छौं । उहाँको मृत्यु हिमालभन्दा अग्लो छ, सागरभन्दा गहिरो । कुनै मृत्यु निकै गौरवशाली हुँदोरहेछ । निकै गहु्रङ्गो हुँदोरहेछ । कमरेड वीरजङ्ग कहिल्यै नमर्ने मृत्युञ्जयी योद्धा हुनुहुन्छ । अन्त्यमा फेरि गीतकार एवं सङ्गीतकार चिरन पुनको यो गीतमार्फत् कमरेड वीरजङ्गप्रति आदरपूर्ण श्रद्धाञ्जलीका शब्द चढाउँछु –

    ‘तिमीले हिँडेको बाटो कहिल्यै भुल्न दिने छैनौं,
    तिमीले रोजेको आदर्श कहिल्यै मर्न दिने छैनौं !’

    (लालदिशा, अङ्क–३, ०७८)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij