२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--3906

'आऊ हामी उत्पीडनहरू साटासाट गरौं'

'आऊ हामी उत्पीडनहरू साटासाट गरौं'

सन्दर्भ : ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

मंगलवार, फाल्गुण २४ २०७८
मंगलवार, फाल्गुण २४ २०७८
  • मानुषी

    तिमी जति गर्न सक्छौ
    त्यति म पनि गर्न सक्छु
    तिमी जत्तिकै पाखुरी बजार्न सक्छु
    पसिना बगाउन सक्छु
    तिम्रा सबै अनुभूतिहरू
    मेरा पनि अनुभूति
    तर इतिहासले आज
    कहाँ ल्याएर पछार्यो कुन्नि मलाई
    तिमी त मभन्दा कोसौं अघि गइसकेछौ ।

    तिमी र म एउटै होइनौं
    एक–अर्काका पूरक मात्र हौं
    त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरूका भागिदार हुन सक्दैनौ
    म तिम्रो मृतदेहसँग जिउँदै मर्न सक्छु
    म तिमीहरूको सामूहिक बलात्कार खपेर बाँच्न पनि सक्छु
    तिमीलाई त यसो कहिल्यै भएन,
    तिमीले रजस्वलाको कष्टप्रद क्षण भोगेका छैनौ
    तिमीलाई आफ्नो अस्मिताको जोखिम उठाउनु पर्दैन
    तिमीलाई गर्भधारणको अतिशय पट्यारलाग्दो अवधि थाहा छैन
    तिमीलाई प्रसवकालको सीमातीत कष्ट भोग्नुपर्दैन

    हो, म तिमीबिना आमा बन्न सक्तिनँ
    तर मैले तिमीलाई बाबु बन्ने श्रेय दिएकी छु
    तथापि तिमी त्यो नैसर्गिक मातृत्व बुझ्दैनौ
    त्यो मेरो, नितान्त मेरो अनुभूति हो

    तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्यो ?
    तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ?
    तिमीलाई स्वास्नीमान्छेले बेच्यो ?
    तिमी निरूत्तर छौ यस प्रश्नको अघि,
    आजको सत्तारूढ तिमी
    शताब्दी–शताब्दीअघि
    झगडालु, ईर्ष्यालु वनमानुष तिमीलाई
    माया र सह–अस्तित्वको अँगालोमा बाँधी
    आफ्नो ओढारको छानुमुनि भित्र्याएकी थिएँ
    जसरी आज तिमी
    दाइजोको लावा–लस्करसँग घुम्टोभित्र लुकाई
    पशुलाई जस्तै रूवाउँदै भित्र्याउने गर्छौ ।

    त्यसैले तिमी यति विमुख न हौ
    यति निर्दयी नबन,
    यति बैगुनी न हौ,
    तिमी मेरो उत्पीडन बुझ्दैनौ
    म तिम्रो उत्पीडन बुझ्छु
    आऊ आज हामी उत्पीडनहरू साटासाट गरौं
    हामी मानसिकताले एकाकार हौं
    हामी एक–अर्का बिना बाँच्न सक्ने प्राणी होइनौं
    म तिम्रो हात दह्रो गरी समाउँछु
    तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुर्याऊ
    त्यहाँ, जहाँ तिमीलाई मैले
    सभ्यताको आदिकालमा पुर्याइसकेकी थिएँ ।

    (वैसालु वर्तमानबाट)

    पारिजातको जन्म दार्जिलिङको लिंगीय चिया कमानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उनको पिता (के.एन. वाईबा) एक चिकित्सक थिए र माता अमृत मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाईबा हो,तर लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन गयो, जुन उनी आफैले रोजेकी थिइन्। उनका असंख्य कृतिहरुले जिवन्त सुभास दिएर यस नामलाई सार्थक पारेका छन्। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.सं. २०११ सालमा काठमाडौं भित्रिएकी पारिजातले पद्मकन्या विद्याश्रमबाट एस.एल.सी. र पद्मकन्या कलेजबाट बी.ए. सम्मको पढाई हासिल गरिन्। अंग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले त्रिभुवन विश्वविद्यालय कलेजमा उनी भर्ना त भईन तर शारीरिक असक्तता र लेखन कार्यमा बिशेष सक्रिय भएको कारणले उनको इच्छा अधुरै रह्यो। दर्शनसाश्त्र र साहित्य बिषयका ग्रन्थहरु खोजीखोजी पढ्ने उनको बानी थियो। पारिजात एक संघर्षसिल नारी थिइन । बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसम्म गर्न पाइनन् । त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोगको पीडा पनि खप्नुपर्यो । पिताको संरक्षण र रेखदेखमा काठमाडौँमा बसि अध्यनमा लाग्दा उनले विभिन्न अभावहरुसँग जूध्नुपर्यो । बी.सं. २०२९ सालमा पिता को देहावसान भएपछि उनलाई पितृस्नेहबाट पनि बन्चित हुनुपर्यो। वि.सं. २०१३ सालमा 'धरती' पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्ययात्रा सुरु गरेकी थिइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij