अमेरिकाका ४३ औं राष्ट्रपति जर्ज वाकर बुश सन २००१ देखि २००९ सम्म रिपब्लिकन पार्टीबाट जितेर अमेरिकाको राष्ट्रपति रहे । अमेरिकी अनुदान नियोग युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरन्यासनल डेभलपमेन्ट (युएसएआइडी) सँग र्याङठ्याङ नमिलेर रिपब्लिकन बुशको पालामा एमसीसी अमेरिकी अनुदान निकायको गठन गरियो । युएसएआइडीका कर्मचारी डेमोक्रेट्सका सहयोगी र नीति पनि डेमोक्रेट्स अनुकूल रहेकोले रिपब्लिकन सरकारले एमसीसीको माध्यमबाट अनुदान दिने नीति अपनायो । डेमोक्रेट्सका व्यापारी लबीले रिपब्लिकनलाई विश्वास नै गरेन । पल कोलियरको पुस्तक 'द बटम बिलियन' मा यो प्रसङ्ग उल्लेख गरिएको छ । भूपरिवेष्ठित देशहरूले कसरी आर्थिक विकास गर्न सक्छन् पुस्तकले सुन्दर चित्रण गरेको छ जुन नेपालको लागि पनि उपयोगी हुन सक्छ ।
अहिले अमेरिकामा डेमोक्रेट्सको सरकार छ । नेपालले कूटनीतिक पहल गर्नसके एमसीसी समस्या समाधान गर्ने सही अवसर पनि छ । रिपब्लिकन डोनाल्ड ट्रम्पलाई पराजित गरेर डेमोक्रेट्स जो बाइडेन अमेरिकी राष्ट्रपति बनेका छन् । एउटा पार्टीको पराजय पछि अर्को पार्टी सत्तामा आउँदा प्राय सबै देशहरूमा नीति र नियममा परिवर्तन हुन्छ । ओबामा केयरलाई ट्रम्पले धोती लाइदिएको दुनियाँले देखेकै हो ।
एमसीसी डेमोक्रेट्सको एजेन्डा होइन भनेर वर्तमान अमेरिकी सरकारलाई नेपाल सरकारले संझाउन सके नेपालमा गिजोलिएको एमसीसीबाट नेपाल र नेपाली जनताहरूले राहत पाउने थिए । आज नेपाली राज्यसत्ता कुलीनवर्ग (ओलिगार्की) को हातमा छ । सत्तासीनहरू नेपाल र नेपाली जनताको विरुद्ध निहित स्वार्थका लागि राष्ट्रघात गर्न तम्सिएका छन् । सत्तापक्ष देउवा र दाहालले देश र जनतालाई सूचित नै नगरी एमसीसीलाई षड्यन्त्र पूर्वक एमसीसी पास गर्ने आसयको गोप्य चिठी लेख्नु र प्रतिपक्ष एमसीसीबारे अनिर्णयको बन्दी देखिनुले नेपाली जनताहरूले आशंकाको अभिव्यक्ति सडक संघर्षबाट गरिरहेका छन् । केही दल र केही व्यक्तिहरू एमसीसीको तावेदारीमा लागेका छन् । इतिहासमा देश बेच्ने, भाषा बेच्ने, संस्कृति बेच्ने गद्दारहरू नदेखिएका होइनन् । सन १८३९ मा ढाका सहरका ५०० पढेलेखेका मानिसहरूले ढाकाको सरकारी भाषा बंगालीको साटो फार्सी हुनुपर्छ भनेर सरकारमा विन्तिपत्र हालेका थिए ।
विन्तिपत्र हाल्नेमा २०० हिन्दु र ३०० मुस्लिम थिए । उनीहरूले पैसामा भाषा बेच्ने दलाली गरेका थिए । अहिले बंगलादेशको इतिहासमा ऊनीहारूलाई देशद्रोहीको रूपमा दर्ज गरिएको छ । आज एमसीसीको दलाली गर्नेहरूलाई भोलिको पिँढीले कसरी हेर्छ यो भविष्यको इतिहासले बताउने छ । सोभियत संघले अप्रिल १९६१ मा युरि गागरिन्लाई अन्तरिक्षमा पठाएपछि अमेरिकी जनताको हुटहुटीलाई बुझेर राष्ट्रपति जोन एफ. केनेडीले सेप्टेम्बर १९६२ मा राइस विश्वविद्यालयमा जुन भाषण गरेका थिए परिणाम जुलाई २०, १९६९ मा अपोलो-११ मानव सहित चन्द्रमामा पुग्यो । नेतृत्वले कसरी जनताको भावनालाई मूर्तरूप दिनुपर्छ मारियाना मजुकाटोको चर्चित पुस्तक 'मिसन इकोनोमी' एउटा उदाहरण हो ।
दक्षिणबाट विस्तारवादी भारत, उत्तरबाट पुँजीवादी चीन र माथि आकाशबाट साम्राज्यवादी अमेरिकाको चेपुवामा परेको नेपालमा एमसीसीको पैसाले जति लेनको सडक बने पनि पुग्ने नर्क नै हो । संकटको समयमा नेतृत्वको परीक्षा हुने गर्छ र नेपालमा अहिले त्यो समय आएको छ । नेतृत्वले गद्दारी गरे जनताले हस्तक्षेप गर्ने छन् ।
