२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--3387

युग सापेक्ष क्रान्तिकाे मार्ग प्रष्ट बनाेस्

युग सापेक्ष क्रान्तिकाे मार्ग प्रष्ट बनाेस्

आइतवार, माघ २ २०७८
आइतवार, माघ २ २०७८
  • धेरै पार्टीमा एकता र बिखण्डनका उत्तार चढाबले गर्दा काे कता कुन पार्टीकाे कुन गुट उपगुटमा छ भनेर थाहा पाउन मुस्किल हुन थालेकाे छ । पुँजिवादी पार्टीमा याे पद, पैसा, सत्ता, शक्ति र अवसरकाे खेल हाे । उनीहरूकाे लागि जसले जता फाइदा हुन्छ उतै लाग्न सक्नु पनि कला हाे । जीवनभर राजनीति गरेर गणेशमान हुनु ? नेकाका साथीहरूसित आदर्शकाे कुरा गर्दा कहिले काँही यस्ता जवाफ पनि आउने गर्छ । धेरै नपढ केटा हाे घनश्याम हाैला ! यस्ता उक्ति एमालेका युवाहरूमा कुनै बेला चल्थ्याे । कम्युनिष्ट पार्टी भनिने पार्टीमा अहिले चल्ने गरेका एकता र विखण्डन पनि यही परिधिमा हुने गरेकाे छ । हुनुपर्ने त नीति र विचार सिद्धान्तकाे आधारमा हाे । विचार सिद्धान्त पनि कसैलाई हाेच्याउने बेलामा मात्र यस्साे ल्याउने हाे । अघिपछि त आफ्नै दन्तबझान भए कार्यकर्ताले ताली पिटिहाल्छन् । भाषणकाे खर्च पानी चलिहाल्छ ।

    व्यक्तिगत स्वार्थकाे कारणले व्यक्तिगत गाली गलाैजका फागु खेलेर कहिले यता कहिले उता गर्नेहरूबाट कुनै पनि पार्टीले प्रगति गर्न सक्दैन । फेसबुक, ट्विटर, युट्युव र अनलाइनकाे दर्शक, पाठक, लाइक, कमेन्ट र शेयरले राजनीति अगाडि बढ्दैन । केही कम्युनिष्ट नेता ज्युहरू कहिले यताकाे समाचार बनेका छन् । कहिले उताकाे समाचार बनेका छन् । कसैकसैलाई त कहिले के बाेलेकाे छु भन्ने पनि हेक्का छैन । आफ्नै अघिल्लाे दिनकाे विचारले भाेलिपल्ट आफैलाई थुकेकाे पनि हेक्का छैन । केही महान तथा गाैरवशाली, याे युगकै उच्च स्तरका नेता महाेदय त अझ अर्काले लेखिदिएकाे लेख पत्रकामा आफ्नाे नाममा छपाउँछन् र त्यही शेयर गरेर मख्ख पर्छन् । जसले चार शब्द फेसबुकमा स्टाटस लेख्दा पुरै चारै शब्द अशुद्ध लेख्छ र के भन्न खाेजेकाे हाे प्रष्ट पार्न सक्दैन । उसैले हजार शब्द पुरै सिलसिला मिलाएर प्रष्ट रुपमा लेख्याे भनेर कसरी विस्वास गर्ने ?? लाज नलागे पछि जे गरे पनि हुने रहेछ । सम्मान त उसैलाई धेरै चाहिन्छ । यसरी कसैकाे बेइज्यत गर्नु मेराे उद्देश्य हाेइन । बरु हामीमा कति महत्वाकांक्षा बढेकाे रहेछ ? जे जसरी भएपनि पद, पैसा, शक्ति, सत्ता र अवसर प्राप्त गर्न कति फाेहाेरी खेल चलिरहेकाे रहेछ ? भनेर देखाउन खाेजेकाे हाे । मान्छे घरबाट काठ्माण्डाै हिँड्दा याैटा कम्युनिष्ट पार्टीकाे, काठ्माण्डाैमा प्रतिनिधि हुँदा अर्काे कम्युनिष्ट पार्टीकाे, केन्द्रीय समितिमा चयन हुँदा अर्काे कम्युनिष्ट पार्टीकाे भएर गैरवका साथ घर फर्केका केही उदाहरण पनि छन् ।

    नेपालका सबै कम्युनिष्ट पार्टीले आफूलाई फरक देख्नु पर्ने धेरै दार्शनिक कारण छैन । सबै उस्तै हाे । राजावादी, क्षेत्रियतावादी र जातिवादी पार्टीलाई छाेडेर बाँकी कसैमा पनि धेरै तात्विक फरक देखिन छाेडेकाे छ । फरक देखाउने विचारले हाे । नीति सिद्धान्तले हाे । नीति सिद्धान्त अनुसारकाे व्यवहारले हाे । पार्टीकाे घाेषणा पत्र अनुसार कुनै पार्टी चलेकाे छ ?! छैन । अरु त भइहाले कम्युनिष्ट भन्नेले त अलिकता कम्युनिष्टकाे रङ देखाउनु नि ? छैन । पार्टीमा पुँजिवादीहरूकाे हस्तक्षेप हावी भयाे । अवसरका पछि लाग्नेहरूले नीति, विचार र सिद्धन्त सबै ताेडमाेड गरेर आफ्नाे स्वार्थ अनुसार बनाउने प्रयासमा लागे । त्यसकाे प्रभाव धेरै थाेरै जताततै पर्याे । सिद्धान्तकाे कुरा गर्नेहरू त कुनै अनाम ढुङ्गे युगकाे अँध्याराे गुफाबाट निस्केर, खाेलामा नुहाएर, कुनै चाेककाे हजामकाेमा सित्तैमा दाह्री कपाल खाैरेर, सडकमा निस्केकाे ऋषिमुनि जस्तै हाे । जाे सडककाे गाडी देखेर, सहरकाे झिलिमिलि देखेर, मान्छेकाे चहलपहल देखेर र नयाँ जमानाकाे भाषा सुनेर अलमल अलमल भएकाे छ । उसकाे विचारकाे व्याकरण नै एकादेसकाे कथा भइसकेकाे छ । कुकुरकाे रगतलाई सहिदकाे रगत र सहिदकाे रगतलाई बाेइलरकाे रगत भनेर बजारमा बेच्न सक्नेहरू अहिलेकाे महान नेता हाे । अलिकता तिताे ओकेलेर मन हल्का पार्न खाेजेकाे हाेइन । युग अनुसार परिवर्तन खाँचाे छ । इतिहासकाे मुल्याङ्कन, उपलब्धिकाे यशाेगान र खराब चरित्रकाे त्यही अनुसारकाे निन्दा गर्ने संस्कृति बसाल्नुपर्छ । विचार अनुसारकाे आचरणकाे विकास गर्नुपर्ने हाे । ती सारा काम अहिले नगरे कहिले गर्ने ?! भन्न खाेजकाे हाे । अब पनि राजा महेन्द्रकाे पालाकाे सङ्घर्षकाे कार्यक्रम उहीँ पुरानाे विचारकाे थुन्सेमा बेकेर काम छैन । अझै पनि उहीँ निरङ्कुश सत्ता विरुद्द आएकाे जवजकाे लवजले कसैकाे पेट भरिनेवाला छैन । राजासितकाे सङ्घर्षकाे बेलाकाे जनताकाे जनवादले खर्च चल्नेवाला छैन ।

    निरङ्कुश राजतन्त्रसितकाे सङ्घर्यकाे बेलाकाे नाैलाे जनवादी कार्यक्रम त अहिले ईतिहास भइसक्याे । प्रचण्ड पथ कुन चाेकबाट सुरु भएर कुन चाेकमा मेटिन्छ ? भनेर साेधिरहनुपर्दैन । निरङ्कुश शासन हटेर बहुदल आयाे । बहुदल पछि फेरि गणतन्त्र आयाे । खै कसरी कसरी सङ्घियता पस्याे अझ पनि उहीँ पुरानै विचारकाे स्वस्थानी व्रतकथाले पार्टी चल्छ त कमरेड ? शसस्त्र जनयुद्धमा हाेमिएका भनिने र हाेमिन तयार रहेका कमरेडहरूले नयाँ कुरा के लिएर जङ्गल पस्ने ?! कि उहीँ दिव्य बाह्र वर्षे पुरानाे धुँवासाेबाट उहीँ पुरानाे खैलाम्पुरे कार्यक्रम लिएर पस्ने ? अँह पुग्दैन, जङ्गल नपुग्दै विचारकाे खट्टे सकिन्छ । नयाँ राजनीतिक अध्याय सुरु भएपछि अबकाे सङ्घर्षकाे अध्याय पनि नयाँ तयार गर्नु जरुरी छ । जनताकाे मुख्य शत्रु काे ? मित्र शक्ति काे ? पुन परिभाषित गर्नुपर्ने भएकाे छ । देसमा यत्राे परिवर्तन भइसक्दा पनि सङ्घर्षकाे ताैरतरिका पनि अवश्य फेरिएका छन् । बर्ग दुश्मन फेरिएकाे छ । दुस्मनकाे चरित्र फेरिएकाे छ । मुक्तिकामी जनतामा पनि धेरै परिवर्तन आएकाे छ । सामाजिक स्तर पनि समयसङ्गै फेरिएकाे छ । मान्छेमा चेतनाकाे स्तर धेरै उच्च रहेकाे छ ।

    आफूलाई कम्युनिष्ट पार्टी भन्नेहरूकाे महाधिवेसनमा नेतृत्वबाट प्रस्तावित दस्तावेज महायज्ञमा जस्तै हरे भनेर सकिन थाले पछि जनताले के आश गर्ने ?! खै त बहस ?! खै छलफल ? यत्राे युगान्तकारी परिवर्तन आयाे । त्यही अनुसार क्रान्तिकारी मार्ग परिवर्तन गर्ने विचार किन कसैमा आएन ? महाधिवेशन नसकिएका पार्टीकाे महाधिवेशनमा पनि उस्तै कर्मकाण्ड नदाेहाेरियाेस् । वैचारिक सङकटकाे समाधान हाेओस् । पद, पैसा, शक्ति, सत्ता, अवसर देख्ने आँखाले क्रान्तिकारी बाटाेमा खाडल परेकाे मात्र नदेखाेस् । ती खाडल पुर्ने वैचारिक मसला पनि तयार पाराेस् । अबकाे कान्तिकाे मार्गचित्र बनाेस् । गणतान्त्रिक नेपालकाे वर्तमान अवस्थालाई हेरेर भविष्यलाई सम्बाेधन गर्ने सङ्घर्षकाे कार्यक्रम आओस् । मेरा सवालका उचित जवाफ आओस् । धन्यवाद ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij