नेपालको कम्युनिस्ट आन्दोलनमा अध्ययन, बहस र विमर्श संस्कृतिको खडेरी परिरहेको बेला अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिको वैचारिक मुखपत्र “महिला क्रान्ति” हातमा आइपुगेको छ । यो संस्कृतिको खडेरीले कम्युनिस्ट आन्दोलन बाँझो धर्तीजस्तै खण्डहर र उजाड भएको छ । कम्युनिस्ट आन्दोलनको ठूलो पंक्ति संशोधनवादको भासमा पतन भएपछि वैचारिक बहस, विमर्श र प्रकाशनको क्षेत्र कमजोर हुनु स्वभाविक हो । उनीहरू अहिले सामान्य वामपन्थी र प्रगतिशील चरित्रका समेत छैनन् । अर्थात् वामपन्थी अवसरवाद दक्षिणपन्थी अवसरवादमा पतन भएको छ । क्रान्तिबाट भाग्ने प्रवृत्ति दक्षिणपन्थी अवसरवाद हो । यसको गतिलो उदाहरण प्रचण्ड समूह हो । यो समूह अहिले पेरिसडाँडाको मसानघाटमा जम्मा भएर “२१ औं शताब्दीको समाजवादी बाटो” नाउँको ‘जबज’को नयाँ संस्करण आविस्कार गरी तातो पानीले घर जलाउने कोसिस गरेको छ ।
‘राजनीतिक क्रान्ति सकियो’ भन्ने ती नौरङ्गीहरुको चर्चा त अव आवश्यक छैन । तर क्रान्तिकारी आन्दोलनले दर्शन, राजनीति अर्थशास्त्र, समाजवाद वा वर्गसङ्घर्षको पक्षमा घनिभूत बहसको माग गर्दछ । समय, संगठन र संघर्षको चरित्रबारे व्यापक बहस हुन जरुरी छ । क्रान्तिकारी आन्दोलनमा यो पक्ष न्युनीकरण हुँदै जानु दुखद् पक्ष हो । पछिल्लो पटक नेकपा पुनर्गठन भएपछि यसलाई व्यवस्थित गर्न खोजिएपनि सन्तोषजनक हुन सकेको छैन । ‘महिला क्रान्ति’ जस्ता छिटपुट प्रकाशनले क्यै शीतलता दिएको अनुभूत भएपनि पूर्ण छैन । जनपक्षधर भनिएका थुप्रै डिजिटल अनलाइनहरु सञ्चालनमा भएपनि ती सबै टपरट्याईमा नै सीमित छन् । उनीहरुले वैचारिक पक्षलाई सिञ्चित गर्न सकेका छैनन् । श्रमजीवी जनतालाई आकर्षित गर्न सकेका छैनन् ।
नेकपा निकट महिला संगठन अनेमसंघ क्रान्तिकारीले यसअघिदेखि नै वैचारिक प्रकाशनलाई निरन्तरता दिदै आएको छ । यो खुशीको कुरा हो । तर यतिले पुग्ने अवस्था देखिदैन । हामीले अझ मेहनत गर्नुपर्ने देखिन्छ । यस अङ्कमा विचार, बहस, दर्शन, राजनीतिक, कला, साहित्यलगायत विविध बिषयहरु समेटिएका छन् ।
किताबमा नेकपाका महासचिव विप्लव, कञ्चन, सुदर्शन, अनिल शर्मा, माइला लामा, ओमप्रकाश पुन, बन्धु चन्द, गुणराज लोहनीलगायतको महत्वपूर्ण सामग्रीहरु समेटिएको छ ।
किताबमा महासचिव विप्लवद्धारा “महिला, क्रान्ति र वैज्ञानिक समाजवाद” शीर्षकमा लेखिएको महत्वपूर्ण सामग्री समेटिएको छ । लेखमा महासचिव विप्लवले भन्नुभएको छ,“दलाल पुँजीवादी सत्ता र व्यवस्था रहेसम्म देश र महिलाले भोगिरहेका समस्या समाधान हुने नभई बढ्दै जाने निश्चित छ ।” (पृष्ठ ६) विप्लवले पार्टीमा एउटा जाति वा लिङ्ग मात्र सक्रिय भएर क्रान्तिको गति तीव्र नबन्ने बताउनुभएको छ । उहाँले एकीकृत जनक्रान्तिमा महिला कमरेडहरुले भाग लिन थालेपछि समाजको ठूलो संख्या प्रभावित बन्न पुगेको बताउदै उत्पीडित महिलाहरुको सहभागिताले क्रान्तिलाई तीब्रतामा विकास गर्न सकिने बताउनुभएको छ । महासचिव विप्लवले भन्नुभएको छ, “महिला बिनाको समाज जति असंभव छ महिला बिनाको क्रान्ति र वैज्ञानिक समाजवाद पनि असंभव छ । क्रान्तिको सफलताका लागि महिला सहभागिता अनिवार्य भएजस्तै समाजवादको सफलताका लागी पनि महिला सहभागिता अनिवार्य छ ।” (पृ.७) यो निकै महत्वपूर्ण र सबैले ध्यान दिनुपर्ने बिषय रहेको छ ।
किताबमा नेकपा केन्द्रीय सचिवालय सदस्य कञ्चनले “वैज्ञानिक समाजवादी व्यवस्था र महिला स्वतन्त्रता” शीर्षकमा बिद्यमान नेपाली समाजमा महिलामाथिको उत्पीडनबाट मुक्त हुनका लागी पैत्रिक सम्पत्ति कानुनी रूपमा व्यवस्था हुनुपर्ने, हरेक महिलाको सामाजिक प्रतिष्ठा सुनिश्चित गरिनुपर्ने र हरेक महिलाका लागि सार्वजनिक कामका लागि सुनिश्चितता गरिनुपर्ने बताउनुभएको छ ।
नेकपा केन्द्रीय सचिवालय सदस्य सुदर्शनले “महिला मुक्तिको पहिलो शर्त : वैज्ञानिक समाजवाद” शीर्षकको गहन र अनुसन्धानमूलक लेख लेख्नुभएको छ । नेता सुदर्शनले कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स, लेनिनसित सम्बन्धित महिला आन्दोलनका वैचारिक सन्दर्भहरु जोड्दै नेकपाले आठौं महाधिवेशनमा उठाएको बिषयलाई जोड्नुभएको छ । नेता सुदर्शनले सांस्कृतिक क्रान्तिको पक्षलाई जोडदिदै लेख्नुभएको छ, “पितृसत्तात्मक सम्पत्ति सम्बन्धले पुरुषमा मात्र होइन, महिलाहरुमा पनि पितृसत्तात्मक संस्कृति बनेको हुन्छ । त्यसकारण वैज्ञानिक समाजवादी क्रान्तिले मात्र महिलाहरुमा पूर्ण स्वतन्त्रता प्राप्त हुँदैन, यसमा सांस्कृतिक क्रान्ति पनि जोड्न आवश्यक छ । सासु र बुहारीबीचको अन्तरविरोध पितृसत्ताकै अभिव्यक्ति बनेको हुन्छ ।” (पृ.३०)
किताबमा नेकपा केन्द्रीय सदस्य अनिल शर्माले “महिला हिंसामा सांस्कृतिक धार्मिक पक्ष”, नेकपा केन्द्रीय सदस्य माइला लामाले “विद्रोही नायक र जेल” नेकपा केन्द्रीय सदस्य एवं संगठनकी अध्यक्ष बन्धु चन्दले “महिला आन्दोलनबारे महिला साथीहरुसँग छलफल”, नेकपा केन्द्रीय सदस्य गुणराज लोहनीले “द्धन्द्धात्मक भौतिकवादविरुद्ध ‘द्धन्द्धात्मक भौतिकवादी’” शीर्षकको महत्वपूर्ण लेखहरु रहेका छन् । नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुनको “भागिरथी र निर्मलाहरु” शीर्षकको महिला उत्पीडनकेन्द्रीत कविता रहेको छ ।
त्यस्तै धीरेन्द्र उपाध्यायको “समाजवाद र महिला”, खेम थपलियाको “बराबरी भविष्यको लडाइँमा महिलाहरु” लगायत संगठनका जिम्मेवार पदाधिकारी एवं नेताहरुको लेख सामग्रीहरु रहेको छ ।
किताबमा विभिन्न साहित्यिक सामग्रीहरु समेत समेटिएको छ । किताबमा प्रतिबन्धको समयमा गिरफ्तार भएका संगठन सम्बद्ध महिलाहरुको विवरण, संगठनका प्रेस वक्तव्य र सांगठनिक गतिविधिका कलेवर तश्वीरहरु राखिएको छ ।
कम्युनिस्ट सिद्धान्त, विचार र आदर्शबाट विचलित भएका र रङ खुइलिएकाहरूको तडकभडक दलाल, ठेकेदार र गुप्तचरसितको सम्बन्धमा सीमित भएको बेला मालेमावादी सिद्धान्तको वैचारिक आलोकमा आधारित सामग्रीहरु प्रकाशन हुनु खुशीको कुरा हो । यसले नेकपाले उठाएको एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा र सिंगो कम्युनिस्ट आन्दोलनलाई वैचारिक उन्नयन नै गर्नेछ ।
१४३ पृष्ठमा फैलिएको किताबको सम्पादन बन्धु चन्द, धीरेन्द्रा उपाध्याय, राजकुमारी शाही, उषा घर्ती, कमला लिम्बु रहनुभएको छ । भाषिक सम्पादनमा क्यै त्रुटिहरू रहेपनि आवरण कला सुन्दर रहेको छ । किताबको व्यक्तिगत मूल्य १०० रहेको छ भने संस्थागत मूल्य ३०० रहेको छ ।
