२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--3219

‘माओवादी केन्द्र’ माओवादी पार्टी होइन

‘माओवादी केन्द्र’ माओवादी पार्टी होइन

संसदीय पुँजीवादी व्यवस्थामा चुर्लुम्म डुबेर आफुलाई माओवादी भन्नु माओवादको उपहास हो । 

सोमवार, पौष १२ २०७८
सोमवार, पौष १२ २०७८
  • टिप्पणी, पुस १२ । नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न भ्रमहरु छरिदै आएको छ । शान्ति प्रक्रियापछि नेपाली जनतामाझ जानेर वा नजानेर ‘माओवाद’ पदावलीलाई बदनाम गरिदै आएको छ । 

    अहिले प्रचण्ड समूहको महाधिवेशन चलिरहेको छ । यो समूहले आफ्नो नाम सिद्धान्तको लागि भन्दा पनि परम्परागत नामथरको रुपमा ग्रहण गरेको राजनीतिबारे सामान्य जानकारी राख्ने जोकोहीलाई थाहा छ । ऊ माओवादी नीति, सिद्धान्त र पार्टी होइन भन्ने अब भने कसैलाई भ्रम छैन । नाम ‘नेकपा माओवादी केन्द्र’ भएपनि ऊ ‘माओवादी सिद्धान्त’मा आधारित छैन । शान्ति प्रक्रियापछि माओवादी मूल्य र मान्यतालाई त्यागिसकेको छ । यो नवधनाढ्यहरुको समूह हो । दलाल र भ्रष्टहरुको समूह हो । यो समूह माओवादी आन्दोलनमा आर्थिक, सांस्कृतिक र सांगठनिक अराजकता मच्चाउनेहरुको झुण्ड हो । अहिले यो समूह माओवादी आन्दोलनमा आत्मसमर्पण गरेका, विचलित भएका नेता कार्यकर्ताहरुको थकाई मार्ने चौपारी भएको छ । अर्थात् माओवादको ‘म’ पनि उसित बाँकी छैन । माओवादी मूल्य र मान्यताबाट ऊ धेरै पर पुगिसकेको छ । उनीहरु अर्थात् प्रचण्ड समूह सिद्धान्ततः नयाँ अनुहारका खु्रश्चेभ, देङ स्याओ पिङ र केशरजंग रायमाझीका सन्तानहरु हुन् ।  

    शान्ति प्रक्रियापछि नेपाली कांग्रेस र एमालेका नेताहरूले ‘माओवादी आयो, माओवादी आयो’ भनी जत्ति आतङ्क मच्चाए, त्यो सच्चा माओवादीको डरले भन्दा सत्ताको आफ्नो भाग खोसेर खाने ‘भाइ काङ्ग्रेस’ र ‘भाइ एमाले’ आएको त्रासले हो भन्दा फरक पर्दैन । अहिले प्रचण्ड समूह राजनीतिक दृष्टिले घोर प्रतिक्रियावादी, दक्षिणपन्थी, राष्ट्रघाती पुँजीवादी पार्टी नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा छ । सत्ताका लागी हिजो टाउकाको मूल्य तोक्ने देउवाको पाउमा लम्पसार छ । सिङ्गो श्रमिक जनता संसदीय पुँजीवादी व्यवस्थाविरुद्ध सङ्घर्ष गरिरहेको बेला उसले यो व्यवस्थालाई अझ बलियो बनाउन कस्सिएर लागेको छ । 

    हिजो शान्ति प्रक्रियापछि प्रचण्ड वा बावुराम नेतृत्वको सरकार छँदा पनि कांग्रेस एमाले नेतृत्वको ‘पुँजीवादी सरकार’ को भन्दा भिन्न कुनै नीति लिएको थिएन, अहिले पनि हिजोका भ्रष्टाचार, घूसखोरी, कमिसनतन्त्र, विदेशीको दलालीजस्ता विकृति–विसङ्गति र खराबीहरू अझ बढी बढेर गएको छ । यसको मुख्यकारण राजनीतिक रूपमा देखिएको वैचारिक विचलन नै हो । अर्थात् अहिले पछिल्लो बर्ष माओवादी नामको खोल ओढेर माओवादी आदर्श, सिद्धान्त र नीतिलाई अबलम्बन गरिरहेको कम्युनिस्ट पार्टीमाथि नै प्रतिबन्ध गरेर बन्दुकले दमन गरेको थियो । विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताको सुराकी उसैले सबैभन्दा धेरै गरेको थियो । यसक्रममा नेकपाका १२ जना कार्यकर्ताको हत्या भयो । अहिले पनि सवासय भन्दा बढी नेता कार्यकर्ता जेलमा रहेका छन् । क्रान्तिकारीलाई हत्या र दमन गर्ने ऊ कसरी माओवादी हुन सक्छ ? अर्थात् ऊ कसरी कम्युनिस्ट पार्टी हुन सक्छ ?  

    ‘माओवादी’ भनेर जुन प्रचार गरिएको छ, त्यो माओवादी पदावलीलाई बदनाम गर्ने नियोजित र प्रायोजित खेलबाहेक केही होइन । प्रचण्ड समूह कुनै माओवादी पार्टी नै होइन, माओवादी भन्न सुहाउने न सिद्धान्त बाँकी छ न व्यवहार नै । बरु कांग्रेस एमालेले भन्दा चर्को पुँजीवादी नीति लिएर ‘दाइ कांग्रेस’ र ‘दाइ एमाले’ बन्न खोजिरहेको सत्य हो । उसले नेपाली जनतामाझ र अन्तर्राष्ट्रिय समुदायमा ‘माओवादी’ को भ्रम फैलाउनु सर्वथा गलत हो । संसदीय पुँजीवादी व्यवस्थामा पाइतलादेखि टुप्पीसम्म चुर्लुम्म डुबेर आफुलाई माओवादी भन्नु माओवादको उपहास हो । 

    चित्र : कान्तिपुर दैनिक

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij