दोस्रो विश्वयुद्धअघि जापानले सैन्यशक्तिको दम्भ र बलमा अन्य देशहरुमाथि आतङ्क मच्चाइरहेको थियो । यसलाई साम्राज्यवादले चलाइरहेको पीत आतङ्क (Yellow Perill) भनिन्थ्यो । त्यस्तै सूचना भूमण्डलीकरणका नाउँमा अहिले पत्रकारितामा पीत पत्रकारिता (Yellow Journalism) को विगविगी छ । कुनैबेला हिटलरका सञ्चारमन्त्री थिए– गोयबल्स । उनको सिद्धान्त थियो, ‘झूटलाई पनि कैयौँ पटक दोहो¥यायो भने सत्य हुन्छ ।’ तर हिटलरको बकबासलाई स्तालिनजस्ता स्पातिला नेता र रूसी क्रान्तिकारी जनताले उखेलेर फ्याकिदिएका थिए ।
नेपालमा पनि बहुराष्ट्रिय कम्पनीको आडमा चलेका कर्पोरेट मिडियाहरु ‘पत्रकारिता बाहेक सबै काम गर्छन्’ यो पुरानो र उत्तिकै चर्चित उक्ति हो । उनीहरू सूचना र समाचार प्रवाह नै गर्दैनन् झुटो बकबास मात्र प्रचार गर्छन् । क्रान्तिकारी पार्टीमाथि अनर्गल रूपमा विषवमन गर्छन् । गाली, बेइज्जती गर्न, टुटफुट विभाजन गर्न र श्रमिक जनतालाई क्रान्तिबाट बिषयान्तर गर्न हुने–नहुने सबै गर्छन् । संसारभरी कसैले मानोस् नमानोस् उनीहरू आफूलाई चलायमान पत्रकार मान्दछन् । उनीहरू केबल पत्रकार बिल्लाका साम्राज्यवाद वा दलाल पुँजीपति वर्गका औजार मात्र हुन् अर्थात् अपवादबाहेक पत्रकारहरू पत्रकारिताको आडमा प्रोपोगन्डा मेसिन हुन् । उनीहरू पत्रकारिता गर्दैनन्, पीतकारिता गर्छन् ।
तिनै तथाकथित नाम चलेका भनिएका सञ्चारमाध्यम र पत्रकारहरूले नेकपामाथि हमला गरिरहेका छन् । नेकपाका महासचिव विप्लवलगायत केन्द्रीय नेता र नेकपाले लिएको वैचारिक नीति र सिद्धान्तको उपहास गर्दै एकदमै घटिया र निम्नकोटीको समाचार प्रकाशित गरिरहेका छन्, जसको जति नै निन्दा गरे पनि पुग्दैन ।
नेकपामाथिको यो अफवाहको शृङ्खला नयाँ होइन । उनीहरु नेकपा पुनर्गठनदेखि नै चरणबद्वरूपमा एकपछि अर्को असत्य, भ्रामक र अर्थहीन सामग्रीहरू प्रकाशन गर्दै आइरहेका छन् । यसअघि कान्तिपुर दैनिकले मंसिर ५ गते नेकपासित ६ हजार हतियार रहेको झुटो समाचार प्रकाशित गरेको थियो । अहिले बाह्रखरी नाउँको अनलाइनले ‘संकटमा विप्लव समूह : प्रकाण्ड ओली, बास्तोला वैद्य र विप्लव प्रचण्डसँग जान खोज्दै’ शीर्षकको भ्रामक समाचार प्रकाशित गरेको छ । वैचारिक विसर्जनको मसानघाटमा पुगेको माकेका केही कुपुमुण्डुकहरूले नेकपामाथि तुच्छ आरोप लगाउदै यही झुठो र कृत्रिम समाचारको प्रचार गरेर मुतको न्यानो लिइरहेका छन् ।
आफुलाई ‘साझा, स्वतन्त्र र निष्पक्ष’ पत्रकारिताको पक्षधर भन्ने यी कर्पोरेट मिडियाहरु नेकपा र सरकारबीच भएको ३ बुँदे सहमतिलाई भङ्ग गराएर नेकपालाई क्षतविक्षत बनाउने र आफ्नो लुटको स्वर्ग टिकाउने पुँजीपति वर्गको ठूलो षड्यन्त्रमा लागिरहेको प्रष्टसित बुझ्न सकिन्छ । दलाल पुँजीपति वर्गले बहुराष्ट्रिय कम्पनीको आडमा चलेका यी कर्पोरेट मिडियाहरुको गोप्य कोठीमा यस्तै कृत्रिम सत्य निर्माण गर्छन् र बिग मिडियामार्फत् तरंग सिर्जना गरेर आफ्नो लुटको राजनीतिक सत्ता टिकाइरहन्छन् । यो उनीहरुको नियमित धन्दा हो । उनीहरुको वर्गचरित्र पनि हो । क्रान्तिकारी पार्टीले यस्तो निचप्रकारको षड्यन्त्रलाई चिरफार गर्दै जानु आवश्यक छ ।
त्यसैले पीत पत्रकारिताको भण्डाफोर गरौं । पीत पत्रकारिताले जनताका मुक्तिका आकांक्षा र सपनाहरु रोकिन्न । क्रान्ति विचारले गरिन्छ । पार्टी विचारको आधारमा निर्माण गरिन्छ । क्रान्ति आत्मविश्वास र जिजीविषाले जितिन्छ । दलाल पुँजीपति वर्गसित जब विचार सकिन्छ तब उनीहरुलाई झूटको आवश्यकता पर्छ । जब तथ्य सकिन्छ तब गालीको आवश्यकता पर्छ । बाह्रखरी अनलाइनमा नेकपाविरुद्ध प्रकाशन गरिएको भ्रामिक समाचारमा कुतर्क छ, झूटको पुलिन्दा छ । दलाल पुँजीपति वर्ग नेकपामाथि हिलो छ्यापेर आफ्नो कुरूप अनुहार छोप्न खोजिरहेको छ । फरक विचार, फरक आस्था, फरक पार्टीलाई शत्रु देख्ने पीत पत्रकारिता हो । पत्रकारिताले जनतालाई सही सूचना सुसूचित गर्ने, सत्तापक्षलाई खबरदारी वा गलत कार्यको विरोध गर्ने कि साम्राज्यवाद वा दलाल पुँजीपति वर्गको प्रोपोगन्डा मेसिन बन्ने ? जनताले सही छुट्याउन जरूरी छ ।
