२०८३, आश्विन १६ गते

Oct 02 2026

Logo

२०८३, आश्विन १६ गते | Oct 02 2026

images
  • समाचार
  • बुटवलमा माघ १ देखि मासु जाँच...
समाचार

बुटवलमा माघ १ देखि मासु जाँच ऐन लागू हुँदै, व्यवसायी र स्थानीय तहबीच अन्तरक्रिया

बुटवलमा माघ १ देखि मासु जाँच ऐन लागू हुँदै, व्यवसायी र स्थानीय तहबीच अन्तरक्रिया

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  •  बुटवल । सरकारले पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने तयारी गरेसँगै बुटवलमा मासु व्यवसायी र स्थानीय तहबीच मासुको गुणस्तर, स्वच्छता तथा व्यवसाय व्यवस्थापनका विषयमा अन्तरक्रिया गरिएको छ।

    सरकारले तय गरेको कार्यतालिकाअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मंसिर १ गतेदेखि र काठमाडौं उपत्यकाबाहेकका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा २०८३ माघ १ गतेदेखि ऐन कार्यान्वयन गर्ने तयारी गरेको छ। सोही सन्दर्भमा मासु व्यवसायी संघ नेपाल, रुपन्देहीको आयोजनामा मासु जाँच ऐनको कार्यान्वयन, मासुको गुणस्तरीय सुधार तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम बुटवलमा सम्पन्न भएको हो।

    कार्यक्रममा सहभागी सरोकारवालाले ऐन कार्यान्वयनसँगै उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपलब्ध गराउन नियमित अनुगमन, मासु परीक्षण, व्यवसायीको जिम्मेवार भूमिका तथा स्थानीय तह र व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका छन्।

    कार्यक्रमकी प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रीदेवी अर्यालले मासु व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन स्थानीय सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले मासुको उत्पादनदेखि बिक्री–वितरणसम्म स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

    उहाँले मासु जाँच ऐन तथा सम्बन्धित मापदण्डको प्रभावकारी कार्यान्वयनसँगै व्यवसायीलाई आवश्यक सहजीकरण, सचेतना र प्राविधिक सहयोग उपलब्ध गराउँदै अघि बढ्नुपर्ने बताउनुभयो। कानुन कार्यान्वयनसँगै व्यवसायीका व्यावहारिक समस्या समाधानमा पनि स्थानीय तह सकारात्मक रूपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ थियो।

    कार्यक्रममा मासु व्यवसायी संघ नेपाल, रुपन्देहीका अध्यक्ष विशाल थापाले गुणस्तरीय मासु उपलब्ध गराउनु व्यवसायीको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले ऐन कार्यान्वयनका क्रममा व्यवसायीलाई आवश्यक मापदण्डबारे स्पष्ट जानकारी गराउँदै स्थानीय सरकार र व्यवसायीबीच सहकार्यका आधारमा व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।

    अध्यक्ष थापाले मासु जाँच ऐन कार्यान्वयनका क्रममा व्यवसायीलाई आवश्यक प्राविधिक जानकारी, सहजीकरण तथा प्रशिक्षण उपलब्ध गराउनुपर्ने बताउँदै उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न संघ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

    उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले मासुको गुणस्तर र स्वच्छता उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसमा कुनै पनि प्रकारको लापरबाही गर्न नहुने बताउनुभयो। उहाँले मासु पसलको सरसफाइ, मासुको परीक्षण, भण्डारण, मूल्य तथा बिक्री–वितरण प्रणालीमा नियमित अनुगमन आवश्यक रहेको उल्लेख गर्नुभयो।

    जिसीले उपभोक्ताले गुणस्तरीय मासु पाउने अधिकार सुनिश्चित गर्न स्थानीय सरकार, व्यवसायी र उपभोक्ता अधिकारकर्मीबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पशु विशेषज्ञ डा. भागिरथ पुरीले पशु स्वास्थ्य, वधस्थलको सरसफाइ, मासु परीक्षण, भण्डारण तथा बिक्री–वितरणका क्रममा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्डबारे जानकारी गराउनुभयो। उहाँले मासुको गुणस्तर कायम गर्न उत्पादनदेखि उपभोक्तासम्मको सम्पूर्ण प्रक्रियामा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाको अनुगमन शाखा प्रमुख   लक्ष्मी अर्याल तथा वासना विसीले  पनि मासु व्यवसायको अनुगमन तथा व्यवस्थापनका विषयमा आ–आफ्ना भनाइ राख्नुभएको थियो।

    मासु व्यवसायी संघ नेपाल, रुपन्देहीका अध्यक्ष विशाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संघका महासचिव थानेश्वर सुवेदीले गर्नुभएको थियोे ।

    कार्यक्रममा आगामी माघ १ गतेदेखि बुटवलमा समेत ऐन कार्यान्वयन हुने भएकाले त्यसअघि व्यवसायीलाई आवश्यक जानकारी, मापदण्ड र सहजीकरण उपलब्ध गराउने तथा मासु व्यवसायलाई थप व्यवस्थित, स्वच्छ, सुरक्षित र उपभोक्तामैत्री बनाउने विषयमा व्यवसायी तथा सरोकारवाला निकायबीच छलफल गरिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij