गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेकमा रहेको पर्यटकीय क्षेत्र सत्यवती र हचिङ्कोट दरबार क्षेत्रमा टिमुर रोपण भएको छ ।
डिभिजन बन कार्यालय गुल्मीको सहयोगमा उक्त क्षेत्रमा पाँचहजार टिमुरको बेर्ना रोपण गरिएको हो । सत्यवती र हचिङ्कोट क्षेत्रलाई टिमुर पकेट क्षेत्र बनाउने लक्ष्य सहित टिमुर लगाइएको हो ।
उक्त दुवै स्थान गुल्मीकै सुन्दर पर्यटकीय क्षेत्र हो । पर्यटन क्षेत्रमा रहेका स्थानीयलाई उत्पादनसित जोड्ने र यस क्षेत्रलाई विश्वव्यापी प्रचारप्रचार गर्ने उद्देश्य रहेको छ ।
सत्यवती क्षेत्र पुग्नैपर्ने सय पर्यटकीय गन्तव्यमा पर्दछ भने हचिङ्कोट क्षेत्र ५ सयबर्ष अगाडी बाइसेचौबिसे राज्य बन्नुभन्दाअघि भुरेटाकुरे राजाहरुले शासन गरेको स्थान हो । सत्यवती क्षेत्रमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आएका छन् भने हचिङ्कोट दरबार क्षेत्र भुरेटाकुरे शासनकालीन पुरातात्विक संरचनाका अवशेषहरु रहेका छन् ।
यसअघि हचिङ्कोटमा विभिन्न प्रकारका लाली गुराँसका विरुवा रोपिएको छ भने सत्यवती क्षेत्रमा पनि गतबर्षदेखि नै लाली गुराँसका विरुवाहरु रोपिएको छ ।
