२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
अर्थ-उत्पादन

'किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन'

'किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन'

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका, सानागाउँकी सुबिता गुरुङ विद्यार्थी जीवनसँगै कृषि कर्ममा होमिएकी एक प्रेरणादायी उदाहरण बनेकी छिन्। स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुबिताले आफ्नो पढाइलाई निरन्तरता दिँदै व्यावसायिक अकबरे खुर्सानी खेतीबाट आफूलाई एक सफल युवा किसानको रुपमा स्थापित गर्ने लक्ष्य राखेकी छिन्।

आइतवार, जेठ १९ २०८२
आइतवार, जेठ १९ २०८२
  • रसुवा : रसुवा जिल्लाको उत्तरगया गाउँपालिका, सानागाउँकी सुबिता गुरुङ विद्यार्थी जीवनसँगै कृषि कर्ममा होमिएकी एक प्रेरणादायी उदाहरण बनेकी छिन्। स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुबिताले आफ्नो पढाइलाई निरन्तरता दिँदै व्यावसायिक अकबरे खुर्सानी खेतीबाट आफूलाई एक सफल युवा किसानको रुपमा स्थापित गर्ने लक्ष्य राखेकी छिन्।

    “गाउँमा २-३ जना आमाहरुले अकबरे खुर्सानी खेती सुरु गर्नुभएको थियो, त्यही देखेर मलाई पनि प्रेरणा मिल्यो,” सुबिताले आफ्नो कृषि यात्राको सुरुवातबारे बताइन्। कृषिमा लाग्नुअघि उनले ‘थ्री जी कटिङ्ग’ सम्बन्धी तालिम पनि लिएकी थिइन्, जसले उनलाई बिरुवाको उत्पादन बढाउन थप मद्दत पुर्‍याएको छ। हाल उनले करिब ७०० अकबरे खुर्सानीका बिरुवाबाट आफ्नो खेती सुरु गरेकी छिन्।

    सुबिताको खेती प्रणाली पूर्णतया जैविक छ। “लाही किराहरुले कहिलेकाहीँ दुःख दिने गर्छन्, त्यसको लागि जैविक झोल मलहरु प्रयोग गर्छु। हाम्रो बारीमा रासायनिक विषादीको प्रयोग हुँदैन,” उनी भन्छिन्। मलको लागि पनि उनले गाईवस्तुको गोबरमललाई नै प्राथमिकता दिएकी छिन्, जसले माटोको उर्वराशक्ति बढाउनुका साथै उत्पादनलाई स्वस्थ राख्न मद्दत गर्दछ।

    पढ्दै गरेकी युवतीलाई कृषि पेसा रोज्नुको कारणबारे सोध्दा उनी भन्छिन्, “पढ्दा पढ्दै के गर्ने, आफूलाई खर्च जोहो गर्न पनि सजिलो होस् र परिवारलाई पनि केही सहयोग गर्न सकिन्छ कि भनेर कृषि पेसामा लागेको हुँ।” उनको यो सोचले युवाहरुमा उद्यमशीलता र आत्मनिर्भरताको भावना जगाउँछ।

    उत्तरगया गाउँपालिकाले निःशुल्क बिरुवा उपलब्ध गराएर सहयोग गरेपछि सुबितालाई थप हौसला मिलेको छ। “गाउँपालिकाले हामीलाई बिरुवा निःशुल्क दिनुभएको छ, यसले केही गरौं भन्ने भाव पैदा गरेको छ,” उनले कृतज्ञता व्यक्त गरिन्।

    आफूलाई किसान भनेर चिनाउन पाउँदा सुबिता गर्व महसुस गर्छिन्। “किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन,” उनको यो भनाइले कृषि पेसाप्रतिको सम्मान र आत्मविश्वास झल्काउँछ। भविष्यमा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुनेमा उनी आशावादी छिन् र बजारको खासै चिन्ता नभएको बताउँछिन्। सुबिताको यो प्रयासले अन्य युवाहरुलाई पनि कृषिमा लाग्न र आत्मनिर्भर बन्न प्रेरित गर्ने देखिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij