सत्तामा रहेका तीन पार्टी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सत्ता बाहिर रहेको नेपाल कम्युनिष्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा गठन गरेका छन्।
संसदीय व्यवस्थाको खरो विरोधी नेपाल कम्युनिष्ट पार्टी र संसदीय व्यवस्थाको पोख्त खेलाडी दलहरूसँगको मोर्चाबन्दी कतिको जायज? यसै विषयमा मोर्चा घटक नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँगको कुराकानीका आधारमा तयार पारिएको सामग्री :
समाजवादी मोर्चाको औचित्य
विगतमा ०६२/६३ पछि जसरी जनयुद्ध र १९ दिने जनआन्दोलनलाई राष्ट्रिय राजनीतिमा संस्थागत गर्नुपर्ने थियो। त्यसका सिद्धान्त, मान्यता र त्यसका एजेण्डाहरूको जनतामा व्यक्त भएका चाहनालाई बुझ्नुपर्ने थियो। जनता र राजनीतिक पार्टीले गरेको बलिदानको घाइते अपाङ्ग साथीहरूको सम्मान त्यही अनुरूपमा हुन नसकेपछि हामीले यी सबै उपलब्धिविरुद्ध षडयन्त्र हुँदैछ भनेर असहमति जनायौं। अर्को ढंगले भन्दा आन्दोलन बढायौं।
एक दशक पछि आउँदा देशको अवस्था नयाँ ठाउँमा पुगेको छ। राजनीतिक अवस्था र पार्टीका भिजनहरू पनि नयाँ ठाममा पुगेका छन्। त्यसो भएको हुनाले अहिले मुख्य कुरा भनेको राजनीतिक पार्टीले राजनीति गर्ने भनेको देशको जनताको सेवाको निम्ति हो। समाजको परिवर्तनका लागि हो। समाजलाई उन्नत बनाउने हो।
अहिले आउँदा देश इतिहासकै अप्ठ्यारो अवस्थामा रहेको छ। धेरै संकटग्रस्त अवस्थामा छ। राष्ट्रियता थ्रेटमा छ। आर्थिक सामाजिक राजनीतिक रूपले पनि धेरै जटिल ठाउँमा रहेको छ। नेपाली जनता कसैले पनि भविष्य नदेख्ने स्थितिमा देश पुगेको छ।
आर्थिक स्थिति पनि जटिल छ। देशलाई अप्ठ्यारो स्थितिबाट निकाल्नका लागि राजनीतिक दलले के के सम्भावना छन् भन्ने कुरा खोज्नु र त्यो सम्भावनालाई परिचालन गर्नुपर्ने दायित्व हुन्छ। यो देशमा विशेष गरेर समस्याको सिर्जना गर्ने दलाल पूँजीवाद भयो। दलाल पुँजीपति वर्ग र त्यसको हर्कतले यो समस्या पैदा गरेको हो।
देशलाई थ्रेट साम्राज्यवादी र विश्व पुँजीवादीहरूले गरे। दलाल पुँजीवादी र साम्राज्यवादले पैदा गरेको समस्याको समाधानका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी हामीले पहल गर्नुपर्ने थियो। त्यो सम्भावना हामीले सबै हेर्यौं।
त्यो सम्भावना हेर्दा हामीले तीन प्रवृत्ति एक ठाउँमा आउनु पर्ने देखिन्छ। पहिलो कम्युनिष्टहरू, इमानदार कम्युनिष्टहरू, दोस्रो प्रगतिशील लोकतन्त्रवादीहरू, तेस्रो सच्चा राष्ट्रवादीहरू एक ठाउँमा हुने र अहिलेको समस्याको समाधानको निम्ति राष्ट्रिय पहल जरूरी छ।
संसदीय यात्राको सम्भावना र नेपाल कम्युनिष्ट पार्टीकाे बाटाे
यो पहल र निष्कर्षमा आम नेपाली जनतालाई अपिल गरेर मात्रै देशलाई यो संकटबाट निकास दिन सकिन्छ भन्ने पार्टीको सोचाइका साथ हामीले अहिले सम्भावनाको पहल गर्ने व्यवस्थापन गर्ने सन्दर्भमा समाजवादी मोर्चा बनाएका छौं। चार पार्टी आएका छौं। माथि भनेका विचार हुने पार्टीलाई हामी एकीकृत गर्छौं। यो सुरूवाती यात्रा मात्र हो।
यसलाई हाम्रो वैचारिक रूपान्तरण भन्दा पनि वैचारिक विकासका रूपमा बुझ्नुपर्ने हुन्छ। राजनीतिक रूपमा विकासका रूपमा बुझ्न जरूरी छ। यो कुरा सत्य हो कि देशमा जुन समस्या छन् तिनीहरू प्रणाली वा व्यवस्थासँग सम्बन्धित छ। यो चाहिँ सत्ताको चरित्रसँग सम्बन्धित छ। यसको नेतृत्व गर्ने वर्गसँग पनि छ। यसकारण यसलाई जनताको चाहना र राष्ट्रिय आवश्यकता एउटा सचेत क्रान्तिकारी पार्टी हुनुले त्यसको जिम्मेवारी कोणबाट सोच्दाखेरी अहिलेको वस्तुगत आवश्यकतामा विकास भएको नयाँ सोचाइ हो।
नयाँ नीति तथा कार्यक्रम हो भनेर बुझ्दा नै सहि हुन्छ। दश वर्ष युद्ध गर्दा नसकेपछि विप्लवजीहरू पनि यही बाटो भएर सत्तामा जान खोज्नुभएको छ भन्ने कुरा कता कता अफवाह सुनिएको छ। यो त्यस्तो होइन। माओवादी पार्टी नेतृत्व गरिरहनु भएका कमरेड प्रचण्डसँग हाम्रो छलफल भएको छ। हामीले समाजवादी मोर्चा बनाउनका लागि जो अवधारणा तयार गर्नुपर्ने थियो। त्यो तयार पार्ने क्रममा पनि कार्यदलका मुख्य नेताहरू छौं। त्यसकारण माओवादी केन्द्रको आधिकारीक धारणा के हो भने समाजवादी मोर्चा निर्माणका लागि जे अवधारणा तयार गर्छौं त्यो नै आधिकारीक धारणा हो।
हिजो हामीले घोषणा गर्दा जे नेताहरूले बोले त्यो नै आधिकारिक हो। त्यसकारणले मलाई लाग्छ माओवादीका साथीहरूले गैह्रजिम्मेवार अभिव्यक्ति दिन्छन् भने मलाई लाग्दैन। बरू माओवादी केन्द्रको हवला दिएर षड्यन्त्रकारीले अफवाह फैलाउने खतरा रहेको छ। यो कुराबाट पार्टीका साथीहरू सचेत हुन जरूरी छ।
विप्लव पुन माओवादीमै फर्कन खोज्नुभएको र यो मोर्चा प्रस्थानविन्दु हो भनेर व्याख्या गरिरहेका पनि छन्। यसको जवाफ अघि नै दिइसकेको छु। नेपालको राजनीतिक अवस्था हेर्दा जुन ठाउँमा पुगेको छ। यसको गम्भीर समीक्षा गर्न सबै राजनीतिक पार्टीले जरूरी छ। संसद्वादी पार्टीहरूले अझ जरूरी छ। यो आकाशबाट झरेको समस्या होइन। अरू कसैले पैदा गरेको समस्या पनि होइन। यो समस्या भनेको राज्य व्यवस्था र सञ्चालनसँग सम्बन्धित छ। मैले के देख्छु भने विगतमा यो राज्यको अभ्यास गर्ने र व्यवस्थाको राजनीतिक अवलम्बन गर्ने सबै राजनीतिक दलले आफूलाई समीक्षा गर्नुपर्ने र आफूलाई एक ठाउँमा उभ्याउनुपर्ने अवस्था छ।
पार्टी एकता कि कार्यगत एकता
सबै पार्टीले वस्तुगत अवस्था र जनताको चाहनालाई विचारमा उठाउने कुरा हो। राजनीतिक लाइनमा उठाउने कुरा हो। आफ्नो व्यवहार र संस्कृतिमा उठाउने कुरा हो। बाँकी अन्य कुरा रूढीवादी कुरा हुन्। पार्टी एक बनाउनलाई के आधार चाहिन्छ? कार्यगत एकता हुन के आधार चाहिन्छ भन्ने विषयमा त कम्युनिष्ट पार्टीमा आधारभूत सिद्धान्त आवश्यक छ। यसकारण जुन किसिमको अफवाह फैलाउने काम हुँदैछ। यसबाट सचेत हुन जरूरी छ।
समाज गतिशील छ। यो गतिशील समयलाई राज्यको नेतृत्वले बुझेर शासन प्रवृत्तिमा आउन सके मात्र औचित्य हुन्छ नत्र हुँदैन। तीस वर्ष पञ्चायत शासन चल्यो अहिले त्यसको औचित्य छैन। ४६ देखि ६३ सालसम्म राजतन्त्रात्मक संसदीय व्यवस्था चल्यो। अहिले त्यसको औचित्य छैन। त्यसकारणले अहिले हामीले देश र जनताको जीवनमा हेर्नुपर्यो। ६२-६३ पछिको संघीय लोकतान्त्रिक गणतन्त्र भनेर जसरी स्थापित गरियो। यद्यपि त्यो के छ भने जनयुद्ध र १९ दिने जनआन्दोलनको उपज हो। परिणाम हो। उपलब्धि हो। त्यसको मुख्य कुरा भनेको नेपालमा राजतन्त्रको अन्त्य नै हो।
त्यसपश्चात् दलित, जनजाति, पिछडिएको वर्ग मुक्त कमैयालगायत जसको जीवन स्तर उठ्नुपर्ने हो तिनले पाउनुपर्ने गरि शासन व्यवस्था गर्नुपर्ने त्यो हुन सकेन। हामीले भन्ने गरेको व्यवस्थाले यसको प्रतिनिधित्व गर्न सकेन।
नेकपा माओवादीले गरेको जनयुद्ध र जनआन्दोलन नेतृत्व गरेको पार्टीले के प्रयास गरेन भन्नुहुन्छ भने हामीले सोचेको पुरा गर्न सकेनौं नि। त्यसको पनि समीक्षा गर्नुपर्छ। अन्य दलले पनि समीक्षा गर्नुपर्छ। हामीले पनि वैज्ञानिक र उन्नत बनाउनुपर्छ भन्ने अर्थमा हाम्रो सहकार्य सम्भव भएको हो।
हाम्रो अवधारणामा पनि विगतको उपलब्धिहरूलाई रक्षा गर्दै समाजवादी गणतन्त्रात्मक राज्यका रूपमा लिनुपर्छ भन्ने हामी समान प्रतिबद्धता हो। हामी पनि त्यसमा पनि सहमत छौं। अरू पनि छन्।
यसअघि चुनाव वा गठबन्धनका नाममा पनि एमाले माओवादी, माओवादी र कांग्रेस मिलेको अवस्था थियो। अहिले हामी मिलेका छौं। नेपालको राजनीतिमा राजनीतिक जटिलता जुन छन् त्यसले यस्ता कतिपय सैद्धान्तिक र कतिपय अव्यवहारिक अभ्यासहरू हुन्छन्। अहिले पनि राज्यकै संकटको परिणाम हो त्यो। यो विगतको अवस्था हो। भर्खरै चुनावमा पनि गठबन्धनसहित जाँदा वा मोर्चा बनाएर जाँदा पनि नतिजा जे आयो उहाँहरूलाई गम्भीर बनाएको छ। यो नतिजाले पनि नयाँ तरिकाले सोच्ने त बनायो नि!
अहिलेको वस्तुस्थितिको माग, देश र जनताको अवस्था त्यसपछि एउटा राजनीतिक दल जसले जनताको चाहना र बदलिँदो परिस्थिति अनुसार आफूलाई बदल्नुपर्ने परिणामका सहकार्य र बदल्न जरूरी छ। सहकार्य गर्न जरूरी छ। राज्य बदल्न राजनीतिक दल बद्लेनन् भने जनताले आन्दोलन गरेर बदल्छन्। समयमा राजनीतिक दलले काम गरेनन् भने परिस्थिति जटिल बन्न सक्छ भन्ने हो।
यही संसदीय व्यवस्थामा हामी जान्छौं भन्ने कुरा बुझ्नु भएन। यस मोर्चामा दुई दायित्व छन्। पहिलो गणतन्त्र आएपछिका उपलब्धि रक्षा गर्ने, दोस्रो कुरा राष्ट्रिय स्वतन्त्रताको रक्षा हो। अहिले अमेरिकन तथा युरोपियन साम्राज्यवादीहरू देशमा नाङ्गो नाच नाचिरहेका छन्।
अहिले राजनीतिक खेल सत्ता र कुर्सीको खेल भइरहेको छ। त्यसको निम्ति देश र जनतालाई दाउ हान्ने भइरहेको छ। यस कारण पहिले भएका सकारात्मक कामको रक्षा र नकरात्मक कामको निर्ममतापूर्वक समीक्षा गर्न जरूरी रहेको छ। हामी त्यो मान्यतासहित आएका छौं।
इतिहास सामान्य चिजले बन्दैन। निर्ममता र भीषण संघर्ष। त्याग र तपस्या र बलिदानबाट बन्ने हो। यो कुरा मोर्चाका साथीहरूलाई थाहा छ। समानुपातिक मोर्चा त्यसै बनेको होइन। अध्ययन गरेर नै भएको हो। बन्ने भए विगतमा पनि बन्न सक्थ्यो बनेन नि।
अहिलेको संविधान र प्रणालीले जनताको अपेक्षा पुरा गर्न सकेन भन्ने कुरा पुष्टि भइसकेपछि योभन्दा बाहिरको तर्क गर्नु भनेको त्यो कुतर्क हो।
देशमा संकट आएको हुनाले यो संकटबाट देशमुक्त बनाउन पहल गरेका हौं। समाजवादी मोर्चा विद्यमान समस्याको समाधानका लागि अगाडि ल्याइएको नयाँ सोच र नयाँ नीतिको उपज हो। देश र जनताको साझा समस्यालाई उठाउने एक मात्र पार्टी भनेको नेपाल कम्युनिष्ट पार्टी मात्र हो। सडकमा भएको पार्टी सशक्त भएकै कारण यो मोर्चा सफल भएको हो। एमसीसीविरूद्ध देखि महिला उत्थानसम्म लड्ने हाम्रो पार्टी हो। राष्ट्रियताको पक्षमा लड्ने हाम्रै पार्टी हो। भ्रष्टाचारविरूद्ध बोल्ने हाम्रो पार्टी हो। हाम्रो पार्टी यो देशको वैकल्पिक पार्टी हो।
-थाहाखबरबाट
