२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • खेलकुद
  • नेपाली क्रिकेटमा आशलाग्दो फड्को, उठायो नेपालीको...
--5391

नेपाली क्रिकेटमा आशलाग्दो फड्को, उठायो नेपालीको शीर

नेपाली क्रिकेटमा आशलाग्दो फड्को, उठायो नेपालीको शीर

बुधवार, बैशाख २० २०८०
बुधवार, बैशाख २० २०८०
  • बुटवल । वर्षाको पर्वाह नगरी नेपाली क्रिकेटलाई हौसला दिन उपस्थित हजारौँ दर्शकको माया र हौसलाबीच घरेलु टोली नेपालले एसिसी प्रिमियर कप क्रिकेटको उपाधि उचालेको छ। लगातारको वर्षाले हिजो (सोमबार) खेल अवरुद्ध हुँदा आजका लागि राखिएको रिजर्भ डेमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले घरेलु मैदानमा उपाधि उचालेको हो।

    युएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालको पनि शुरुवात भने खराब रह्यो। आठौँ ओभरमा २२ रनमात्र जोड्दा नेपालले ३ विकेट गुमाइसकेको थियो। 
    ओपनरद्वय कुशल भुर्तेल १ तथा आशिफ शेख ८ रनमा आउट हुँदा कप्तान रोहित पौडेल पनि १ रनमा पवेलियन फर्किए।

    खेलकै क्रममा युएईका रोहन मुस्तफा र नेपालका आशिफ शेखबीच भनाभन नै चल्यो। उक्त विवाद खेल सकिएपछि पनि मैदानमा छताछुल्ल भयो। आशिफले मुस्तफासँग हात मिलाउनै नचाहेपछि फेरि विवाद भएको थियो।

    दयनीय स्थितिमा रहेको नेपालको ब्याटिङ लाइनलाई गुल्सन झा र भीम सार्कीले उकासे। नेपालको जितमा नायक बनेका गुल्सन झाले अविजित सर्वाधिक ६७ तथा भीम सार्कीले ३६ रन जोडे।

    जितपछि मुख्य प्रशिक्षक मोन्टी देसाईले १७ वर्षीय गुल्सनको खुलेर प्रशंसा गरे। जहाँ जुनसुकै पोजिसनमा पनि खेल्न सक्ने उनको खुबीका कारण उनको क्रिकेट भविष्य उज्ज्वल रहेको सुनाए।

    जितसँगै नेपालले २१ वर्षपछि एशिया कपमा स्थान बनाएको छ। विश्व विजेता भारत र पाकिस्तान जस्ता बलिया टोलीसँग खेल्न पाउने भएपछि हौसिएका कप्तान रोहित पौडेल नेपाललाई विश्वमा चिनाउने र विदेशी फ्रेन्चाइज लिगमा खेलाडीलाई अवसरको बाटो खुलेको दाबी गर्छन्।

    सन् २००२ मा सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एशिया कपमा स्थान बनाए पनि भारत र पाकिस्तानको आन्तरिक द्वन्द्वले एशिया कप नै रद्द भयो। नेपालले एशिया कपमा पुगेर पनि त्यति बेला खेल्न पाएन।

    नेपाली टोलीका मुख्य प्रशिक्षक देसाई भारत र पाकिस्तानसँग खेल्दा थप अवसर आउने र उनीहरूबाट गरिने व्यवहारमा समेत परिवर्तन आउने बताउँछन्।

    एसिसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका स्पिनर सन्दीप लामिछानेले एशिया कपमा पुगेकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेट एक चरणबाट अर्को चरणमा प्रवेश गरेको बताएका छन्।

    नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको एशिया कप कुनै कारणवश रद्द नभए आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ। प्रिमियर कपको विजेता नेपाल, भारत र पाकिस्तानसँगै समूह ‘ए’मा रहेको छ। समूह ‘बी’मा बंगलादेश‚ श्रीलंका र अफगानिस्तान छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij