२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--4908

दशैंमा डेँगुको डर, नियन्त्रणमा सरकारको ध्यान पुगेन

दशैंमा डेँगुको डर, नियन्त्रणमा सरकारको ध्यान पुगेन

शुक्रवार, आश्विन १४ २०७९
शुक्रवार, आश्विन १४ २०७९
  • बुटवल । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्ष भरिभराउ छ। आकस्मिक कक्षको प्यासेजका शय्याहरुमा पनि बिरामीहरु छन्। केही शय्यामा दुईजनासम्म बिरामीहरु स्लाइन पानी लिएर सुतिरहेका छन्।

    अस्पतालको प्रांगणमा पनि बिरामीको लाइन छ। लाइनमा बसिरहेकी एक महिला बेहोस भइन्। उनलाई तुरुन्तै अस्पतालभित्र लगेर उपचार प्रक्रिया अगाडि बढाइयो। उनको उपचार चलिरहेको समयमा बाहिर लाइनमा बसेका अर्का एक पुरुष पनि बोहोस भएर लडे। 

    अस्पताल परिसरमै बोहोस भएर लडेका र शय्यामा सिकिस्त भएर सुतिरहेका यी सबै बिरामी डेंगुका हुन्। स्वास्थ्यखबरको टोलीले लगातार अस्पतालमा सात दिनसम्म स्थलगत अध्ययन गर्दा अस्पतालमा हरेक दिन यस्तै दृश्य देखिएका थिए। केही समयअघिसम्म कोभिड संक्रमितको उपचारमा सक्रिय रहेका अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली दुई महिनादेखि डेंगुका बिरामीको परीक्षण र उपचारमा सक्रिय थिए।

    अस्पतालको बहिरंग विभागमा बिरामी जाँचिरहेका डा शेरबहादुर पुनले ओपिडी समयमा कुराकानी गर्ने फुर्सद नपाएपछि साँझ पाँच बजेपछि मात्र स्वास्थ्यखबरले उनीसँग कुराकानी गर्न सकेको थियो। ‘साउन महिना लागेदेखि नै ओपिडीमा डेंगुका बिरामीको भिड बढेको हो,’ उनले भने, ‘डेंगु नियन्त्रण र रोकथाममा समयमा नै चासो नदिएका कारण बिरामीको चाप मंसिर महिनासम्मै बढ्ने देखिन्छ।’

    उनका अनुसार अस्पतालमा डेंगुका बिरामीको संख्या बढ्न थालेपछि डेंगु विशेष क्लिनिक नै बनाइएको छ। तर बिरामीको चाप बढी भएका कारण अस्पतालको ओपिडीदेखि डेंगु विशेष क्लिनिक, आकस्मिक कक्ष, वार्ड र आइसीयुसम्म डेंगुका बिरामी छन्।

    शुक्रराज अस्पतालम जस्तै डेंगुका बिरामी उपत्यकाका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल, तथा निजी अस्पतालहरुमा बढ्दो क्रममा रहेको अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्याले देखाउँछ।

    चिकित्सकहरुका अनुुसार डेंगुकै लक्षण लिएर परीक्षण नगराइ बस्नेहरुको संख्यामा घरघरमा झनै धेरै छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार असोज १२ गतेसम्म २८ हजार एक सय नौ जना व्यक्तिमा डेंगु पुष्टि भइसकेको छ। साउन यता डेंगुका कारण ३८ जनाको मृत्यु भइसकेको छ। 

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले डेंगु मुस्ताङ जिल्ला बाहेक ७६ जिल्लामा देखिसकेको जानकारी दिए। डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने खालको रोग भएपनि यो सरुवा रोगभित्र नै पर्छ। डेंगु संक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेर सोही लामखुट्टेले अर्को व्यक्तिलाई पनि टोकेमा डेंगुको संक्रमण अर्को व्यक्तिमा पनि हुन्छ।

    दसैं तथा चाडबाडको समयमा डेंगु प्रभावित क्षेत्रबाट गाउँघरमा फर्किनेहरु बढी हुँदा डेंगु नफैलिएका क्षेत्रमा पनि डेंगु बढ्नसक्ने डा अधिकारीको भनाइ छ। 

    डेंगु बढ्नसक्ने जोखिम भएकाले समयमै डेंगु रोग नियन्त्रणका लागि डेंगु गराउने लामखुट्टे तथा त्यसको लार्भा नष्ट गरी डेंगुबाट बच्न सकिने डा अधिकारीले बताए। 

    ‘डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट नै बच्नुपर्छ, डेंगु गराउने लामखुट्टेको वृद्धिविकास रोक्न, लार्भा नष्ट गर्ने, पानी जम्न नदिने, घर वरपर सरसफाइ गर्ने नै हो।’

    स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा भदौको अन्तिम सातादेखि दैनिक एक हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ। डेंगुको संक्रमण सबैभन्दा बढी काठमाडौं उपत्यकामा देखिएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरमा देखिएको डेंगुका बिरामीमध्ये ८० प्रतिशत काठमाडौं उपत्यकाभित्र नै छ। 

    यी हुन् डेंगु संक्रमण बढी देखिएको १० जिल्ला
    काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, रुपन्देही, चितवन, धादिङ, गुल्मी र कैलाली।

    डेंगु के हो?
    डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यो मानिसबाट मानिसमा भने सर्दैन। तर डेंगु संक्रमण भएको व्यक्तिलाई एडिस जातको लामखुट्टेले टोकेर फेरि अर्को मानिसमा त्यही लामखुट्टेले टोक्यो भने सर्छ। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाइ र एडिस एल्वोपिक्टस जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ। सहरी क्षेत्रका सवारी साधनका फालिएका टायरमा, टिनका बट्टाहरु, गमला, खाली ड्रम, पानी ट्यांकी, तथा साना खाल्डाखुल्डीहरुमा यो लामखुट्टे बढी भेटिन्छ।

    डा शेरबहादुर पुनका अनुसार डेंगु एडिस एजेप्टाइ र एडिस एल्वोपिक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो। यसले मानिसमा १०५ डिग्री फरेनहाइटसम्म ज्वरो ल्याउन सक्छ। डेंगुका बिरामीमा मांसपेशी अत्याधिक दुख्ने तथा आँखको गेडी दुख्ने समस्या धेरैमा हुन्छ। 

    वरिष्ठ माइक्रोबायोलोजिष्ट मेघराज बञ्जाराका अनुसार संक्रमित लामखुट्टे टोकेका तीन देखि ५ दिन भित्रमा मानिसमा डेंगुको लक्षण देखिन्छ। डेंगु भाइरस डेन १, डेन २, डेन ३ र डेन ४ गरी चार सरोटाइपका हुन्छन्। 

    चिकित्सकहरुका अनुसार डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तीन प्रकारका छन्। क्लासिक डेंगु सामान्य प्रकारको हो। यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। डेंगु हेमोरेजिक र डेंगु सक सिन्ड्रोम भने अलिक जोखिमयुक्त हुन्छ। आन्तरिक रक्तश्राब गराएर मानिसको मृत्यु गराउने खालको हुन्छ।

    लक्षण
    –    उच्च ज्वरो
    –    जीउ दुख्ने
    –    आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने
    –    जोर्नी दुख्ने
    –    शरीरमा विमिरा आउने
    –    वाकवाकी लाग्ने 
    –    पेट दुख्ने
    –    नाक वा गिजाबाट रगत बग्ने
    –     रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने
    –     बेहोश हुने आदि।

    बच्ने उपाय
    –    डेंगुबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको नै लामखुट्टेको टोकाइबाट बच्ने हो।
    –    बिरामी भइसकेपछि लक्षणका आधारमा उपचार।
    –    बिरामी भइसकेपछि चिकित्सकको सल्लाह अनुसार प्यारासिटामोल सेवन गर्ने।
    –    लामखुट्टोको वृद्धिविकास रोक्ने।
    –    पानी जम्ने भाँडाहरु गमला, फुलदानी, ड्रम, टायर आदीमा पानी जम्न नदिने।
    –    यस लामखुट्टेले धेरैजसो दिउसो टोक्ने भएकाले बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने।
    –    सुत्दा झुलको अनिवार्य प्रयोग गर्ने।
    –    लामखुट्टे भगाउने धुप तथा मलहम दल्ने।
    –    घर तथा कार्यालय वरिपरि सफा सुग्घर राख्ने।

    चाडबाडमा कोरोनासँगै अन्य सरुवा रोगको उस्तै जोखिम
    दसैं, तिहार लगायतका चाडबाडमा मानिसको आवातजावत बढ्ने हुँदो कोरोना, डेंगुसँगै औलो, झाडपखाला, हैजा जस्ता रोगहरुको जोखिम पनि उत्तिकै रहेको डा अधिकारी बताउँछन्। उनी चाडबाडमा थप सचेत रहन सुझाब दिन्छन्।
    विगत तीन वर्षदेखि नेपालमा कोरोनाको महामारी छ। यो वर्ष कोरोना संक्रमण केही कम भए पनि जोखिम भने टरिसकेको छैन। यही समयमा अहिले डेंगुको संक्रमण देशभर फैलिँदा दसैंमा बढी नै सचेत रहनुपर्ने अवस्था आएको डा अधिकारी बताउँछन्।

    ‘सन् २०१९ डिसेम्बरमा चीनबाट फैलिएको कोभिड महामारीका कारण नेपालीहरुले अघिल्ला २ वर्षका चाडपर्व कोभिडकै डर र त्रासमा मनाए,’ उनले भने, ‘विश्वभर फैलिएको कोभिड महामारीको नयाँ–नयाँ भेरियन्टहरु बढ्दै गएकाले अघिल्ला दुईवर्षका दसैं हर्ष उल्लास र उमंग साथ भन्दापनि डर त्रासमा बित्यो। यो वर्ष कोभिडको जोखिमसँगै डेंगुको डर थपिएको छ।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ताथ्यांकका अनुसार दैनिक १ सय देखि डेढ सय व्यक्तिमा कोभिड पोजिटिभ आइरहेको छ।  यस्तै डिस्चार्ज हुनेदर पनि सोही संख्यामा छ भने करिब २ हजार कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयको पछिल्ला तथ्यांकले देखाउछ।

    समन्त्रालयका सह– प्रवक्ता डा समिर अधिकारीका अनुसार हाल नेपालमा सबै उमेर समुहका व्यक्तिमा कोरोना संक्रमण भइरहेको छ। तर अस्पतालमै भर्ना हुनुपर्ने अवस्था तथा मृत्यु भएकाहरु भने कोभिड खोप नलगाएका तथा दीर्घ रोग भएका बिरामीहरु छन्। चाडपर्व मनाउन देश विदेशमा रहेका नेपालीहरु गाउँघर फर्किने हुँदा कोभिडको जोखिम पनि बढ्नसक्ने डा अधिकारीको भनाइ छ।

    उनी भन्छन्,‘केही समय अगाडि भन्दा अहिले कोभिड संक्रमण केही कम भएजस्तो त देखिन्छ, तर मापदण्ड पालना गर्न छाडियो भने कुनबेला कहाँबाट नयाँ भेरिएन्ट सहित फैलिन्छ, थाहा हुँदैन र रोकथाम नियन्त्रण गर्न गाह्रो हुन्छ।’ उनले कोभिड विरुद्धको खोप नलगाएका वा पूर्ण मात्रा नलगाएकाहरुलाई खोप लगाउन प्रोत्साहित गर्नुपर्ने बताए। दसैंमा हुने आफन्तजनको भेटघाट र जमघटमा कोभिड प्रति सचेत नभए दसैंपछि फेरि संक्रमण बढ्न सक्ने डा अधिकारीको भनाइ छ।

    ‘दसैंको समयमा कोभिड प्रति सचेत भइएन भने फेरि संक्रमण नबढ्ला भन्न सकिदैन,’ उनले भने, ‘अघिल्ला वर्षहरुमा पनि दसैं, तिहार जस्ता चाडपर्वकै भेटघाटमा कोरोना संक्रमण भएर आफन्त गुमाउनु परेको हामीले धेरै सुन्यौं।’ कोरोनाबाट बच्न साबुन पानीले धात धुने, भौतिक दुरी कायम गर्ने, मास्क लगाउने जस्ता जनस्वास्थ्यको मापदण्ड पानला गर्नुपर्ने डा अधिकारीले बताए।

    डा अधिकारीका अनुसार चाडपर्वमा खानपानमा ध्यान नदिँदा फुड पोइजनिङ, पखला, हैजा जस्ता रोगको पनि जोखिम बढ्ने हुँदा खापानमा बढी नै सचेत हुन आवश्यक छ। दसैंको समयमा मासुजन्य पदार्थको सेवन बढी हुने हुँदा नसर्ने रोगको जोखिम पनि उत्तिकै रहेको उनी बताउँछन्।

    चाडबाडको समयमा हरिया सागसब्जी तथा फलफूल, दुध, दहि, मोहीलाई पन्छाएर मानिसहरु बजारमा पाइने पेय पदार्थको सेवन बढी गर्न थालेका छन्। जुन खाद्यपदार्थ स्वास्थ्यका लागि हानिकारक हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणीन्द्र बराल बताउँछन्।

    नेपालमा अस्वस्थकर खानपानका कारण नसर्ने रोगहरु मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धि विभिन्न रोग ,क्यान्सर, मिर्गौलाको रोग लगायतका रोगहरुको जोखिम बढ्दै गएको डा बरालले जानकारी दिए।

    उनी भन्छन्, ‘जंकफुड, बढी चिल्लो तथा नुन भएका, कम पोषण भएका चिनीको मात्रा बढी भएका खानेकुराहरुको प्रयोग बढी गरेको कारण विभिन्न प्रकारको नसर्ने रोगहरुको जोखिम बढेको छ।’ नसर्ने रोगको जोखिम घटाउन पनि चाडपर्व वा अन्य समयमा पनि बजारका तयारी खाना भन्दा घरमै पाइने स्वस्थकर खाद्य पदार्थ खान उनले सुझाव दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij