काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट, आगजनी तथा विध्वंसका घटनाको निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन्।
जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनको प्रारम्भिक चरणमा उठेका युवाका जायज माग र त्यसपछि भएका हिंसात्मक तथा विध्वंसात्मक घटनालाई एउटै दृष्टिले हेर्न नहुने बताएका छन्।
उनले भदौ २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासकै ‘कालो दिन’ का रूपमा चित्रण गरेका छन्। सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालयलगायत ऐतिहासिक तथा सार्वजनिक संरचनामा भएको आगजनी, तोडफोड र विध्वंसले उक्त दिनलाई थप गम्भीर बनाएको उनको भनाइ छ।
‘दमन कसले गर्यो, आन्दोलन कसले भड्कायो ?’
प्रचण्डले घटनाको वास्तविकता बाहिर ल्याउन धेरै गम्भीर प्रश्नको जवाफ खोजिनुपर्ने बताएका छन्।
आन्दोलनमाथि दमन किन र कसरी भयो ? कसले आन्दोलन भड्कायो ? कसले हिंसा, लुटपाट र विध्वंस मच्चायो ? त्यसबाट लाभ कसले उठायो ? भन्ने प्रश्नको तथ्यपूर्ण उत्तर खोजिनुपर्ने उनको भनाइ छ।
दोषी जोसुकै भए पनि, जुनसुकै राजनीतिक पहुँच वा शक्तिमा रहे पनि कानुनी दायरामा ल्याउनुपर्ने उनले बताएका छन्।
‘जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?’
प्रचण्डले आन्दोलनको एक वर्षपछि पनि जेन–जीले उठाएका मूल प्रश्नहरू सम्बोधन हुन नसकेको टिप्पणी गरेका छन्।
भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र समान अवसरको अपेक्षा गरेका युवासहित आम नागरिकमा पुनः निराशा देखिएको उनको दाबी छ। महँगी, कमजोर अर्थतन्त्र, रोजगारीको अभाव, बढ्दो वैदेशिक पलायन, सार्वजनिक ऋण र करको बोझलगायत विषयमा उनले सरकारको आलोचना गरेका छन्।
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग
प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडबारे तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
‘आयोगको प्रतिवेदन दराजमा थन्क्याउने विषय होइन, कार्यान्वयन गर्ने दस्तावेज हो’ भन्दै उनले प्रतिवेदनमा औँल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।
‘लोकतन्त्रको उपचार लोकतन्त्र समाप्त गर्नु होइन’
प्रचण्डले जेन–जी आन्दोलनले युवाको आवाजलाई दबाएर होइन, सुनेर र सम्बोधन गरेर लोकतन्त्र बलियो बनाउनुपर्ने सन्देश दिएको बताएका छन्।
उनले लोकतन्त्रका कमजोरीको उपचार लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी, पारदर्शी, जनमुखी र परिणाममुखी बनाउनु भएको उल्लेख गर्दै आफूहरूले यसलाई ‘लोकतन्त्रको सर्भिसिङ’ भन्दै आएको बताएका छन्।
वक्तव्यको अन्त्यमा प्रचण्डले पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउँदै संविधान, शान्ति र लोकतन्त्रको पक्षमा रहेका राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपालीलाई एकताबद्ध हुन अपिल गरेका छन्।
स्रोत : नेपाली कम्युनिष्ट पार्टीको प्रेस वक्तव्य
प्रस्तुति : जनबाटो अनलाइन
