२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • ‘आँसु लुकाएर दलदलमा पसिरहेका छन् सुरक्षाकर्मी’...
समाचार

‘आँसु लुकाएर दलदलमा पसिरहेका छन् सुरक्षाकर्मी’ : प्रधानमन्त्री शाह

‘आँसु लुकाएर दलदलमा पसिरहेका छन् सुरक्षाकर्मी’ : प्रधानमन्त्री शाह

आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको साहस, त्याग र योगदानको उच्च प्रशंसा गरेका छन्।
    प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार विपद्का बेला सुरक्षाकर्मीहरूले आफ्नो ज्यानको समेत पर्वाह नगरी खोज, उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनमा निरन्तर खटिरहेका छन्।
    उनले नुवाकोटको विदुर–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा भएको घटनालाई सुरक्षाकर्मीको साहसको एउटा उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। बाढीको जोखिम बढेपछि कारागार सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका कमान्डरसहित ५२ जना सुरक्षाकर्मीले कारागारका दुई भवनमा रहेका ९२३ कैदीबन्दीलाई सुरक्षित रूपमा माथिल्लो भवनमा सारेको उल्लेख गरेका छन्।
    बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट, पर्खाल तथा कैदीबन्दी राखिएको भवनको पहिलो तलासम्म लेदो र पानी पसेको अवस्थामा समेत सुरक्षाकर्मीले उद्धार कार्यलाई निरन्तरता दिएको प्रधानमन्त्री शाहको भनाइ छ।
    बाढीको मौका छोपेर पर्खाल र गेट तोडी करिब १०० मिटरसम्म भागेका ५० जना कैदीबन्दीलाई समेत सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएको उनले बताएका छन्। सो क्रममा केही सुरक्षाकर्मी घाइते भएको र आसपासका स्थानीयको ज्यान जोगाउनसमेत सुरक्षाकर्मीले भूमिका खेलेको शाहले उल्लेख गरेका छन्।
    १३ हजारभन्दा बढीको उद्धार
    प्रधानमन्त्री शाहका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको छ।
    स्थलमार्ग, हेलिकप्टर तथा कतिपय अवस्थामा आफ्नै काँधमा बोकेरसमेत घाइते तथा प्रभावितलाई सुरक्षित स्थान र अस्पतालसम्म पुर्‍याइएको उनले बताएका छन्।
    बाढीपछि शव व्यवस्थापन, संक्रामक रोग फैलिन नदिन आवश्यक सावधानी, राहत शिविरमा रहेका प्रभावितलाई मनोबल बढाउने तथा जोखिमयुक्त क्षेत्रमा निरन्तर सुरक्षा प्रदान गर्ने काममा समेत तीनवटै सुरक्षा निकाय अहोरात्र खटिएको प्रधानमन्त्री शाहको भनाइ छ।
    उनले कठिन भूगोल, प्रतिकूल मौसम र बाढीले थुपारेको दलदल तथा भग्नावशेषबीच सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा जुटिरहेको उल्लेख गरेका छन्।
    ‘साथी गुमाएको पीडा लुकाएर उद्धारमा खटिएका छन्’
    प्रधानमन्त्री शाहले विपद्मा सुरक्षाकर्मीहरूले आफ्नै सहकर्मी गुमाएको पीडासमेत भोगिरहेको बताएका छन्।
    उनका अनुसार बाढीका कारण नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्।
    “आफ्ना साथीहरू गुमाएको पीडा हुँदाहुँदै पनि आँसु लुकाएर सुरक्षाकर्मीहरू दलदलमा पसिरहेका छन्,” भन्ने भाव व्यक्त गर्दै शाहले सुरक्षाकर्मीहरूको त्याग र समर्पणप्रति सम्मान व्यक्त गरेका छन्।
    तीनवटै सुरक्षा निकायको सक्रियता
    प्रधानमन्त्रीका अनुसार नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ तथा ‘फरवार्ड एयर बेस’ सञ्चालन गरी उद्धारलाई तीव्रता दिएको छ।
    रसुवाको धुन्चेमा पनि सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालनमा रहेको शाहले बताएका छन्। सेना प्रभावित क्षेत्रमा बाटो खोल्ने तथा बेलीब्रिज र एक्रो ब्रिज निर्माणमा समेत जुटेको छ। हाल ९ हजार २८७ जना नेपाली सेना प्रभावित क्षेत्रमा खटिएको उल्लेख छ।
    त्यस्तै, नेपाल प्रहरीले खोज तथा उद्धार, राहत वितरण, घाइतेलाई अस्पताल पुर्‍याउने, शव व्यवस्थापन, नागरिकको सुरक्षा तथा शान्ति–सुरक्षा कायम गर्ने कार्यलाई निरन्तरता दिएको छ। हाल ७ हजार ९७५ जना प्रहरी प्रभावित क्षेत्रमा खटिएको जनाइएको छ।
    सशस्त्र प्रहरी बलले गोताखोर, डोरी टोली, ड्रोन तथा तालिमप्राप्त केनाइन टोली परिचालन गरी खोज तथा उद्धार गरिरहेको छ। प्रभावित क्षेत्रमा विभिन्न विपद् प्रतिकार्य बेस तथा फिल्ड कमाण्ड पोष्ट स्थापना गरी उपचार सेवासमेत दिइरहेको जनाइएको छ। हाल ४ हजार २०३ जना सशस्त्र प्रहरी प्रभावित क्षेत्रमा परिचालित छन्।
    प्रधानमन्त्री शाहले संकटको समयमा सुरक्षाकर्मीले देखाएको साहस र समर्पणका कारण लाखौँ नागरिकले सुरक्षित महसुस गर्न पाएको बताएका छन्।
    उनले कार्यक्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर गर्ने प्रतिबद्धता जनाउँदै सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने बताएका छन्।
    संकटको समयमा सुरक्षाकर्मीलाई आफ्नो कर्तव्यमा खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति समेत प्रधानमन्त्री शाहले आभार व्यक्त गरेका छन्।
    “राष्ट्रसेवक सुरक्षाकर्मीहरू, तपाईंहरूप्रति हामी सधैँ कृतज्ञ रहनेछौँ।” प्रधानमन्त्री शाहले आफ्नो सन्देशको अन्त्यमा भनेका छन्।
    स्रोत : प्रधानमन्त्री बालेन्द्र शाहको सामाजिक सञ्जालमा सार्वजनिक धारणा
    प्रस्तुति : जनबाटो अनलाइन

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij