२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • विपद् प्रभावितका लागि हेफर नेपाल र...
समाचार

विपद् प्रभावितका लागि हेफर नेपाल र कर्मचारीद्वारा १ करोड सहयोग

विपद् प्रभावितका लागि हेफर नेपाल र कर्मचारीद्वारा १ करोड सहयोग

बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं। बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले हेफर इन्टरनेसनल नेपाल र संस्थाका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेका छन्।

    हेफर नेपालका अनुसार संस्थाको आपत्कालीन व्यवस्थाका लागि छुट्याइएको रकम तथा कर्मचारीहरूले आफ्नो तलबबाट स्वेच्छिक रूपमा गरेको योगदानलाई एकीकृत गरी उक्त रकम सहयोग गरिएको हो।

    गत भदौ १० गते उच्च हिमाली क्षेत्रमा हिमपहिरो तथा हिमतालसम्बन्धी घटनापछि आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। विपद्का कारण सयौँ परिवार प्रभावित भएका छन् भने सडक, पुललगायतका पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यसमेत चुनौतीपूर्ण बनेको छ।

    हेफर इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर तीर्थराज रेग्मीले विपत्तिबाट प्रभावित परिवार तथा समुदायप्रति संस्थाको ऐक्यबद्धता रहेको बताएका छन्। उनले सरकारको राहत तथा पुनःस्थापनाको प्रयासमा संस्थाले आफ्नो तर्फबाट सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    आर्थिक सहयोगसँगै हेफर नेपालले प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने कामसमेत अघि बढाएको जनाएको छ। प्रभावित समुदायको आवश्यकता पहिचान गर्न सरकारी निकाय, साझेदार संस्था तथा स्थानीय समुदायसँग समन्वय भइरहेको संस्थाले जनाएको छ।

    तत्कालीन राहतपछि पनि प्रभावित परिवारलाई आत्मनिर्भर बनाउन जीविकोपार्जन पुनःस्थापना तथा समुदाय पुनर्निर्माणका कार्यक्रममा दीर्घकालीन रूपमा सहयोग गर्ने योजना हेफर नेपालको छ।

    मूल स्रोत : द काठमाडौँ पोस्ट
    पुनर्लेखन : जनबाटो अनलाइन

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij