२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको...
समाचार

लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे ध्यानाकर्षण

लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे ध्यानाकर्षण

स्वास्थ्य सेवा गुणस्तरीय, सर्वसुलभ र सेवाग्राहीमैत्री बनाउन जोड

बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • बुटवल। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालको समग्र सुधारको माग गर्दै २४ बुँदे ध्यानाकर्षण पत्र अस्पताल प्रशासनलाई बुझाएको छ।
    जिल्ला सेक्रेटरी वीरेन्द्र सीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवा नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार भएकाले सरकारी अस्पतालबाट सेवा लिन आउने प्रत्येक नागरिकले बिना विभेद छिटो, प्रभावकारी, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा पाउनुपर्ने उल्लेख गरिएको छ।
    पार्टीले लुम्बिनी प्रादेशिक अस्पतालले लुम्बिनी प्रदेशसहित छिमेकी जिल्लाका हजारौं नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आए पनि सेवाग्राहीबाट प्राप्त गुनासा, जनचासो तथा स्थलगत अवलोकनका आधारमा सेवा प्रवाह, व्यवस्थापन, पूर्वाधार, जनशक्ति, औषधि आपूर्ति, सुशासन तथा सेवा गुणस्तरका क्षेत्रमा सुधार आवश्यक रहेको जनाएको छ।
    ध्यानाकर्षण पत्रमा ओपीडी टिकट वितरणलाई प्रविधिमैत्री बनाउने, क्यूआरमार्फत शुल्क भुक्तानी, डिजिटल टोकन, अनलाइन पूर्वदर्ता तथा एसएमएसमार्फत पालो जानकारी दिने व्यवस्था लागू गर्ने, इमर्जेन्सी सेवामा पर्याप्त चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, बेड र उपकरणको व्यवस्था गर्ने, पित्तथैली, मिर्गौलाको पत्थरी, पाठेघर तथा हाडजोर्नीसम्बन्धी शल्यक्रियाको क्षमता विस्तार गर्ने, डायलाइसिस सेवा बढाउने तथा बिरामीले लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने माग गरिएको छ।
    त्यस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, बालबालिका तथा गम्भीर बिरामीलाई प्राथमिकताका आधारमा सहज सेवा, सहिद तथा बेपत्ता परिवार र अति विपन्न नागरिकका लागि निःशुल्क उपचार, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवा २४सै घण्टा उपलब्ध गराउने व्यवस्था गर्न माग गरिएको छ।
    माओवादीले अस्पतालभित्र हुने दलाल तथा बिचौलियाको प्रभाव अन्त्य, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र सुशासन कायम, आवश्यक औषधि अस्पतालभित्रै उपलब्ध गराउने, बिग्रिएका उपकरण तत्काल मर्मत वा प्रतिस्थापन गर्ने, हेल्प डेस्क तथा हटलाइन सेवा सञ्चालन गर्ने, अस्पताल परिसरलाई सफा, सुरक्षित र संक्रमणमुक्त बनाउने तथा सबै कर्मचारीबाट सेवाग्राहीप्रति सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेको छ।
    त्यसैगरी लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गरी एमबीबीएस, नर्सिङ, स्वास्थ्य विज्ञान तथा अन्य प्राविधिक विषयको अध्ययन–अध्यापन सञ्चालन गर्न आवश्यक पहल गर्नुपर्ने माग गर्दै अस्पताललाई प्रदेशकै उत्कृष्ट उपचार, शिक्षण तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आवश्यक पूर्वाधार, जनशक्ति र आधुनिक उपकरणको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
    पार्टीले अस्पतालको प्रशासनिक, आर्थिक तथा सेवा व्यवस्थापनलाई सूचना प्रविधिमैत्री, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री बनाउँदै नियमित सार्वजनिक सुनुवाइ र सेवा समीक्षा सञ्चालन गरी जनगुनासोको समयमै समाधान गर्नुपर्नेमा समेत जोड दिएको छ।
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला समिति रुपन्देहीका प्रतिनिधिमण्डलले उक्त २४ बुँदे ध्यानाकर्षण पत्र लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमलाई हस्तान्तरण गरेको थियो।
    ध्यानाकर्षण पत्र ग्रहण गर्दै मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले आम नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पछिल्लो समय विशेषगरी इमर्जेन्सी सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउने काम अघि बढाइएको जानकारी दिँदै पार्टीले उठाएका सुझाव तथा ध्यानाकर्षणका विषयलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    ध्यानाकर्षण पत्रको अन्त्यमा पार्टीले अस्पताल प्रशासन, चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीको योगदानप्रति सम्मान व्यक्त गर्दै मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गरी लुम्बिनी प्रादेशिक अस्पताललाई सुशासित, पारदर्शी, सेवाग्राहीमैत्री, गुणस्तरीय तथा नमुना सरकारी अस्पतालका रूपमा विकास गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
    उक्त ध्यानाकर्षण पत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय तथा लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिलाई समेत पठाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij