बुटवल, श्रावण ३० । बुटवल उपमहानगरपालिका–४ स्थित कान्ति माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको भेलाले एलिजा पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कान्ति विद्यार्थी क्लब गठन गरेको छ।
वि.सं. २०७४ सालमा स्थापना भएको कान्ति विद्यार्थी क्लबले विद्यालयमा सञ्चालन हुने विभिन्न शैक्षिक, साहित्यिक, सामाजिक तथा सह–पाठ्यक्रम गतिविधिमा समन्वयकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र जिम्मेवारीबोधको विकास गर्दै विद्यालयका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले क्लब गठन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका सहायक प्रधानाध्यापक केदारनाथ ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले क्लबका पदाधिकारीलाई बधाई दिँदै क्लबको उद्देश्य, भूमिका र कार्यक्षेत्रबारे जानकारी गराउनुभयो।
क्लबका शिक्षक नायक राजन पौडेलले क्लबको स्थापना, उद्देश्य तथा वर्तमान गतिविधिबारे प्रकाश पार्दै विद्यार्थीको नेतृत्व विकासमा क्लबको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो।
त्यसैगरी कक्षा ११ र १२ विज्ञान संकायका इन्चार्ज मोहन भट्टराई तथा शिक्षक तारा गौतमले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। क्लबका पूर्वअध्यक्ष सूर्यबहादुर क्षेत्रीले पनि क्लबको निरन्तर सफलताको कामना गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारीपूर्ण ढंगले अघि बढ्न आग्रह गर्नुभयो। कार्यक्रममा क्लबका पूर्व पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
नवगठित समितिको अध्यक्षमा एलिजा पोखरेल, उपाध्यक्षमा समीर रिजाल र युगल पन्थी, सचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सिजल पन्थी तथा कार्यक्रम संयोजकमा सुजल शर्मा निर्वाचित हुनुभएको छ। अन्य सदस्यहरू समेत समेटेर १३ सदस्यीय समिति गठन गरिएको हो।
विवेक बन्जाडेले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवं क्लबका संरक्षक गोविन्द ज्ञवालीले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल, सिर्जनात्मक र जिम्मेवार कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले विद्यार्थी क्लब विद्यालयको नेतृत्व विकासको महत्वपूर्ण माध्यम भएकाले विद्यालयको शैक्षिक, सामाजिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय र उदाहरणीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
