बुटवल, असार ३० । बुटवल–४ स्थित कान्ति माध्यमिक विद्यालयले विद्यालयमा करिब ४० वर्ष निरन्तर सेवा गरेका कार्यालय सहयोगी प्रेमबहादुर बगालेलाई सम्मान तथा औपचारिक बिदाइ गरेको छ।
विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष रामकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बगालेलाई कदरपत्र, सम्मान तथा रु. ४ लाख २९ हजार नगदसहित सम्मानपूर्वक बिदाइ गरिएको हो।
कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहकार जीवनप्रसाद वझा, विद्यालयका संरक्षक एवं बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्ष नरिश्वर पौडेल, जनप्रतिनिधि अरुणकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली लगायतले प्रेमबहादुर बगालेले चार दशकसम्म विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उहाँको इमान्दार, अनुशासित र सेवामुखी कार्यशैली भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो।
विद्यालयले प्रदान गरेको कदरपत्रमा बगालेले २०४२ साल पुस २९ गतेदेखि २०८३ साल वैशाख ३ गतेसम्म निरन्तर, निष्ठापूर्वक र जिम्मेवारीका साथ सेवा गर्दै विद्यालयको समग्र विकास, व्यवस्थापन तथा समुन्नतिमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरिएको छ।
महेश खनालले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले बगालेको सुखद, स्वस्थ र दीर्घ सेवानीवृत्त जीवनको शुभकामना व्यक्त गरेका थिए।
यसै अवसरमा बुटवल उपमहानगरपालिकाभित्र उत्कृष्ट विद्यालयका रूपमा कान्ति माध्यमिक विद्यालयले प्राप्त गरेको उत्कृष्ट विद्यालयको प्रमाणपत्र विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष रामकृष्ण शर्माले विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीलाई हस्तान्तरण गर्नुभयो।
सो अवसरमा अध्यक्ष शर्माले उक्त उपलब्धि विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, सम्पूर्ण शिक्षक–कर्मचारी, अभिभावक, विद्यार्थी तथा विद्यालयसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबै सरोकारवालाहरूको साझा प्रयास, निरन्तर मेहनत, अनुशासन, समर्पण र गुणस्तरीय शैक्षिक अभ्यासको प्रतिफल भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विद्यालयलाई अझ उत्कृष्ट, प्रविधिमैत्री, अनुशासित र गुणस्तरीय शिक्षाको नमुना संस्थाका रूपमा स्थापित गर्न सबै पक्षबीचको सहकार्य, समन्वय र प्रतिबद्धता अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सल्लाहकार जीवनप्रसाद वझा, वडाध्यक्ष नरिश्वर पौडेल, प्रधानाध्यापक गोविन्द ज्ञवाली लगायत वक्ताहरूले विद्यालयले हासिल गरेको उत्कृष्टताको सम्मान सम्पूर्ण विद्यालय परिवारका लागि गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै उपलब्धि हासिल गर्दै कान्ति माध्यमिक विद्यालयलाई देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा स्थापित गर्न शुभकामना व्यक्त गर्नुभयो।
