काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समितिले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र एकीकरण गर्ने उद्देश्यसहित राजनीतिक अपिल सार्वजनिक गरेको छ। समितिले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको राष्ट्रिय स्वाधीनता इतिहासकै गम्भीर संकटमा पुगेको, विदेशी शक्तिको हस्तक्षेप बढ्दो क्रममा रहेको तथा वर्तमान सरकारले जनअधिकार र लोकतान्त्रिक उपलब्धिमाथि प्रहार गरिरहेको आरोप लगाइएको छ।
विज्ञप्तिमा वर्तमान सरकारलाई निरंकुश तथा फासिवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै जनयुद्ध, जनआन्दोलन र जनताको संघर्षबाट प्राप्त उपलब्धिमाथि क्रमिक रूपमा हमला भइरहेको उल्लेख गरिएको छ। श्रमिक, किसान तथा आम जनताको हितविपरीत नीति अवलम्बन गरिएको, राष्ट्रिय स्वाधीनता कमजोर पार्ने गतिविधि बढिरहेको र कम्युनिस्ट आन्दोलनलाई विभाजित तथा कमजोर बनाउने प्रयास भइरहेको दाबी पनि गरिएको छ।
आयोजक समितिले विगतका वैचारिक मतभेद, नेतृत्वगत कमजोरी र विभाजनका कारण नेपाली कम्युनिस्ट आन्दोलन कमजोर बनेको निष्कर्ष निकाल्दै अब रूपान्तरणसहितको कम्युनिस्ट एकता अपरिहार्य भएको जनाएको छ। त्यसका लागि विभिन्न माओवादी धारासहित सम्पूर्ण कम्युनिस्ट शक्तिबीच सहकार्य, संयुक्त मोर्चा र साझा राजनीतिक अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ।
विज्ञप्तिअनुसार राष्ट्रिय स्वाधीनताको रक्षा, विदेशी हस्तक्षेपको प्रतिरोध, जनअधिकारको संरक्षण, समाजवादी विचारधाराको विस्तार तथा परिवर्तनकारी शक्तिबीच व्यापक एकता निर्माणलाई प्राथमिक कार्यदिशा बनाइएको छ। साथै आगामी २०८३ भदौ मा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत सार्वजनिक गरिएको छ।
पछिल्लो राजनीतिक घटनाक्रमले भने नेपाली कम्युनिस्ट आन्दोलनभित्रको विभाजन अझ स्पष्ट रूपमा सतहमा आएको देखिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले स्थायी कमिटी सदस्य असल सी, उमा सी लगायतका नेताहरूलाई कारबाही गरेपछि सुरु भएको विवाद औपचारिक रूपमा पार्टी विभाजनसम्म पुगेको छ। पार्टी नेतृत्वले सम्बन्धित नेताहरूले गुटबन्दी गरेको, प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग राजनीतिक रूपमा नजिकिने प्रयास गरेको तथा पार्टीविरुद्ध गतिविधि गरेको निष्कर्षसहित कारबाही गरिएको जनाएको छ। अर्कोतर्फ, कारबाहीमा परेका नेताहरूले भने १४ वर्षदेखि पार्टीले अवलम्बन गरेको नीति, कार्यदिशा र योजनाको समग्र समीक्षा माग गर्दा त्यसलाई दबाउन कारबाही गरिएको आरोप लगाउँदै आएका छन्।
यस घटनापछि केन्द्रीय तहदेखि तल्लो तहसम्मका नेता–कार्यकर्ताको एक हिस्सा पार्टीबाट अलग हुने क्रम देखिएको छ। त्यससँगै कम्युनिस्ट आन्दोलनभित्र नयाँ ध्रुवीकरण, पुनर्गठन र नयाँ पार्टी गठनका पहलहरू पनि अगाडि बढिरहेका छन्। अहिले घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), विप्लवले निर्वाचनमा सहभागी हुनुअघि नेतृत्व गर्दै आएको पुरानै पार्टी संरचनाको पुनर्गठनका रूपमा अघि सारिएको छ। निर्वाचनमा सहभागी हुने निर्णयसँगै पार्टीले आफ्नो आधिकारिक नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखेको थियो भने अहिले पुनः निर्वाचनअघिको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनर्गठन गरिएको घोषणा गरिएको छ।
पछिल्ला विभाजन, कारबाही र नयाँ राजनीतिक पहलसँगै कम्युनिस्ट आन्दोलनभित्र पुनः एकताको बहस पनि तीव्र बन्दै गएको देखिएको छ। विभिन्न तहका नेता तथा कार्यकर्ताले सार्वजनिक रूपमा विभाजनप्रति असन्तुष्टि जनाउँदै वैचारिक संवाद, आत्मसमीक्षा र आन्दोलनको व्यापक एकताका लागि दबाब सिर्जना गरिरहेका छन्। आगामी दिनमा यो पहलले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ एकीकरणतर्फ लैजान्छ वा थप ध्रुवीकरणतर्फ, त्यसको राजनीतिक उत्तर भने समयले नै दिनेछ।
