बुटवल । वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले वर्तमान राजनीतिक नेतृत्व, बुद्धिजीवी समुदाय र कम्युनिस्ट आन्दोलनमाथि कडा टिप्पणी गर्दै जनपक्षीय राजनीति र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्नुभएको छ।
लेखक तथा साहित्यकार दिल साहनीद्वारा लिखित कथा सङ्ग्रह ‘मुलतबी’, निबन्ध सङ्ग्रह ‘अध्ययन, अनुभव र अनुभूति’ तथा उपन्यास ‘रूपान्तर’को आइतबार बुटवलमा आयोजित विशेष समारोहबीच संयुक्त रूपमा विमोचन गर्दै संग्रौलाले साहित्य केवल सिर्जना नभई अन्यायविरुद्ध बोल्ने चेतनाको माध्यम भएको बताउनुभयो।
उहाँले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, "सरकारले सुकुम्बासीहरूमाथि कल्पनासमेत गर्न नसकिने व्यवहार गर्यो। उत्पीडित जनताको पक्षमा बोल्नुपर्ने बेला देशका बुद्धिजीवी मौन बसे, कम्युनिस्टहरू रमिते बने। जनताको पक्षमा उभिनुपर्ने कम्युनिस्टहरूले आफ्नो आचरण नै त्यागेका छन्।"
संग्रौलाले कम्युनिस्ट आन्दोलन आफ्नो मूल वर्गीय चरित्र र जनपक्षीय दायित्वबाट विचलित हुँदै गएको टिप्पणी गर्दै सामाजिक अन्याय, विभेद र उत्पीडनविरुद्ध अग्रपङ्क्तिमा उभिनुपर्ने शक्तिहरू नै मौन बस्नु दुःखद भएको बताउनुभयो।
उहाँले "देश उरन्ठेउलाहरूले चलाइरहेका छन्, तर त्यसविरुद्ध बोल्नुपर्ने बुद्धिजीवीहरू मौन छन्। यस्तो मौनताले अन्यायलाई झन् बलियो बनाउँछ," भन्दै बौद्धिक समुदायको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाउनुभयो।
साहित्यले समाजलाई परिवर्तनको दिशामा डोर्याउने शक्ति बोकेको उल्लेख गर्दै उहाँले प्रगतिशील साहित्यले जनपक्षीय चेतना निर्माण, अन्यायविरुद्ध प्रतिरोध र सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो।
विमोचित कृतिका लेखक दिल साहनीले तीनवटै पुस्तकमा आफूले देखेका, भोगेका र अनुभूत गरेका जीवनका यथार्थलाई साहित्यिक रूप दिने प्रयास गरेको बताउनुभयो। नेपालदेखि भारतको आसाम र बर्मासम्मका सामाजिक परिवेश, मानवीय सम्बन्ध, संघर्ष र जीवनका विविध आयामलाई आफ्ना कृतिमा समेटिएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा लेखक रामचन्द्र श्रेष्ठ, सुमिना, लक्ष्मी सुनार, यज्ञप्रसाद न्यौपाने तथा रुद्र ज्ञवालीले विमोचित कृतिमाथि टिप्पणी गर्दै साहनीका सिर्जनाले समाजका यथार्थ पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको र समकालीन नेपाली साहित्यलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो।
पाठक मञ्च बुटवलद्वारा आयोजित कार्यक्रमको सञ्चालन शंकर भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य साहित्यकार सरिता श्रीषले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा साहित्यकार, लेखक, पाठक, पत्रकार तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
(नोटः समाचारमा समावेश गरिएका सरकार, बुद्धिजीवी तथा कम्युनिस्ट आन्दोलनसम्बन्धी टिप्पणीहरू कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले व्यक्त गर्नुभएको अभिव्यक्ति हुन्।)
