२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • बृहत् कम्युनिस्ट एकताको अभियान अघि बढाउने...
News

बृहत् कम्युनिस्ट एकताको अभियान अघि बढाउने नेकपाको घोषणा

बृहत् कम्युनिस्ट एकताको अभियान अघि बढाउने नेकपाको घोषणा

रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न, ४५ सदस्यीय जिल्ला समिति गठन

आइतवार, आषाढ २१ २०८३
आइतवार, आषाढ २१ २०८३
  • बुटवल ,विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएको समूहले नयाँ राजनीतिक ध्रुवीकरण र बृहत् कम्युनिस्ट एकताको अभियानलाई अगाडि बढाउने घोषणा गर्दै रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। शनिबार बुटवलमा सम्पन्न भेलाले **विष्णु तिवारी 'मुकेश'**को संयोजकत्वमा ४५ सदस्यीय जिल्ला समिति गठन गर्दै संगठन विस्तार र वैचारिक पुनर्गठनलाई तीव्र बनाउने निर्णय गरेको हो।

    तत्कालीन स्थायी समिति सदस्य असल सी र उमा सी लगायतका नेतामाथि पार्टी कारबाही भएपछि विकसित राजनीतिक घटनाक्रमसँगै देशभरका नेता–कार्यकर्ताहरू पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध हुने क्रम बढिरहेको दाबी गर्दै रुपन्देहीको भेला सोही अभियानको निरन्तरताका रूपमा आयोजना गरिएको आयोजकहरूले बताएका छन्।

    केन्द्रीय कार्यालय सदस्य भेषराज भुसालको प्रमुख आतिथ्यता तथा केन्द्रीय कार्यालय सदस्य बसन्त श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै भुसालले नेपालका विभाजित कम्युनिस्ट शक्तिहरूलाई वैचारिक स्पष्टताका आधारमा एउटै मोर्चामा ल्याउनुपर्ने आवश्यकता औँल्याए। उनले जनताले खोजेको विकल्प निर्माण गर्न क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबीच संवाद, सहकार्य र बृहत् ध्रुवीकरणको पहल पार्टीले अघि बढाउने बताए।

    भुसालले पछिल्लो राजनीतिक परिस्थितिले कम्युनिस्ट आन्दोलनलाई गम्भीर समीक्षा र पुनर्संरचनाको मोडमा पुर्‍याएको उल्लेख गर्दै जनतासँग प्रत्यक्ष जोडिएको, संघर्षशील र वैचारिक रूपमा स्पष्ट कम्युनिस्ट आन्दोलन निर्माण गर्नु आजको आवश्यकता भएको धारणा राखे।

    विशिष्ट अतिथि बसन्त श्रेष्ठले पार्टीले विगत १४ वर्षको राजनीतिक यात्रा, कार्यशैली र संगठनात्मक अभ्यासको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। आत्मसमीक्षा बिना नयाँ राजनीतिक दिशानिर्देश सम्भव नहुने उल्लेख गर्दै उनले विगतका कमजोरीबाट शिक्षा लिएर जनताको विश्वास जित्ने नयाँ ढंगले अघि बढ्नुपर्ने बताए।

    भेलाले केन्द्रीय सदस्य शरद वलीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिँदै **विष्णु तिवारी 'मुकेश'**को संयोजकत्वमा ४५ सदस्यीय जिल्ला समिति गठन गरेको छ। यसअघि रहेका जिल्ला सदस्यहरूलाई सचिवालयमा समेट्दै आवश्यक सदस्य थप गरी नयाँ समिति निर्माण गरिएको जनाइएको छ।

    भेलाले देवदह, ओमसतिया र रोहिणी क्षेत्रको इन्चार्जमा मदन थारु (जसवन्त), सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको इन्चार्जमा शंकर ज्ञवाली, मायादेवी र गैडहवा गाउँपालिकाको इन्चार्जमा अविराम यादव तथा सचिवमा रामवचन यादवलाई जिम्मेवारी दिएको छ। त्यसैगरी बुटवल उपमहानगरपालिकाको इन्चार्जमा महेन्द्र टण्डन र सचिवमा दीपक पौडेल, कञ्चन गाउँपालिकाको इन्चार्जमा सोमनाथ शर्मा, तिलोत्तमा नगरपालिकाको इन्चार्जमा श्रीधर ज्ञवाली, मर्चवारी गाउँपालिकाको इन्चार्जमा नन्दलाल लोध तथा सियारी गाउँपालिकाको सचिवमा अनवर यादव चयन भएका छन्। सैनामैना क्षेत्रको संगठनात्मक जिम्मेवारी भने जिल्ला कार्यालयले प्रत्यक्ष रूपमा हेर्ने निर्णय गरिएको छ।

    भेलाको अध्यक्षता तथा सञ्चालन केन्द्रीय सदस्य शरद वलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य केन्द्रीय सदस्य जया पौडेलले राख्नुभएको थियो।

    भेलाले रुपन्देहीबाट सुरु भएको पुनर्गठन अभियानलाई देशव्यापी रूपमा विस्तार गर्दै बृहत् कम्युनिस्ट एकता, वैचारिक पुनर्संरचना र जनआधारित राजनीतिक अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij