२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • नेकपा (माओवादी) रुपन्देहीको बैठक सम्पन्न :...
News

नेकपा (माओवादी) रुपन्देहीको बैठक सम्पन्न : जनजीविका, सुशासन र संगठन सुदृढीकरणमा केन्द्रित निर्णय

नेकपा (माओवादी) रुपन्देहीको बैठक सम्पन्न : जनजीविका, सुशासन र संगठन सुदृढीकरणमा केन्द्रित निर्णय

आइतवार, आषाढ २१ २०८३
आइतवार, आषाढ २१ २०८३
  • बुटवल, असार — नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देही जिल्ला कमिटीको बैठक जिल्ला सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार जितबहादुर सी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा केन्द्रीय सल्लाहकार ज्योतिलाल सी तथा केन्द्रीय सदस्यहरू विश्वास सी, नवीन सी, वर्षा सी, श्याम सी र नवीन थारु सी लगायतको विशेष उपस्थिति रहेको थियो।

    बैठकले समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टी संगठनभित्र पछिल्लो चरणमा देखापरेका पलायन तथा आत्मसमर्पणवादी प्रवृत्तिको गम्भीर समीक्षा गरेको छ। साथै जनजीविका, सुशासन, भूमिहीन नागरिकका अधिकार तथा संगठन सुदृढीकरणका विषयमा महत्वपूर्ण राजनीतिक, वैचारिक र संगठनात्मक निर्णयहरू गरेको जनाएको छ।

    बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको हकअधिकारको रक्षा, सम्मानजनक व्यवस्थापन र न्यायपूर्ण समाधानका पक्षमा संघर्ष गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारी कार्यालय तथा अस्पतालमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती र बिचौलियातन्त्रको अन्त्यका लागि प्रभावकारी संघर्ष गर्ने निर्णय पनि गरिएको छ।

    बैठकले विभिन्न भ्रम, दिग्भ्रम, दबाब वा असत्य प्रचारका कारण पार्टी परित्याग गरेका नेता–कार्यकर्तालाई आफ्नो निर्णय पुनर्विचार गरी पार्टीमा पुनः फर्किन हार्दिक अपिल गरेको छ। साथै पार्टीको नीति विपरीत गतिविधिमा संलग्न भएकासँग स्पष्टीकरण लिने निर्णय पनि गरेको छ।

    त्यसैगरी पार्टीविरुद्ध योजनाबद्ध रूपमा फैलाइएका भ्रम, दिग्भ्रम, पलायनवादी, आत्मसमर्पणवादी, कुण्ठाग्रस्त तथा अवसरवादी प्रवृत्तिको वैचारिक र राजनीतिक रूपमा दृढ प्रतिवाद गर्दै पार्टीको विचार, कार्यदिशा र संगठनात्मक एकतालाई थप सुदृढ बनाउन राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।

    बैठकले असार महिनादेखि साउन १० गतेसम्म सम्पूर्ण नेता–कार्यकर्तालाई उत्पादनमूलक श्रममा सहभागी गराउने, साउन ११ गतेदेखि साउन मसान्तसम्म सबै वडामा वडा भेला सम्पन्न गर्ने तथा भदौ महिनाभित्र सबै पालिकामा पालिका भेला सम्पन्न गर्ने कार्ययोजना पनि पारित गरेको छ।

    यसैगरी स्थानीय, प्रदेश तथा संघीय सरकारका कामकारबाहीको प्रभावकारी अनुगमन गर्ने, सार्वजनिक स्रोत–साधनको दुरुपयोग, भ्रष्टाचार र अनियमिततासम्बन्धी विषयमा तथ्यगत अध्ययन, अनुसन्धान तथा निगरानीका लागि स्थानीय तहमा पार्टी प्रतिनिधि परिचालन गर्ने निर्णय गरिएको छ। जनताका समस्या, जनजीविकाका सवाल तथा सुशासनको पक्षमा पार्टीको जनपरिचालन अभियानलाई थप प्रभावकारी बनाउँदै संगठन विस्तारलाई तीव्रता दिने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ।

    यसैबीच, पार्टीको केन्द्रीय नेतृत्वप्रति असहमति जनाउँदै अलग भएका नेताहरूको समूहले हिजो रुपन्देहीमा जिल्ला भेला आयोजना गरी नेपाल कम्युनिस्ट पार्टीको रुपन्देही जिल्ला समिति गठन गरेको घोषणा गरेको छ। यस घटनाक्रमसँगै रुपन्देहीमा कम्युनिस्ट आन्दोलनभित्रको ध्रुवीकरण थप स्पष्ट देखिएको राजनीतिक वृत्तमा चर्चा छ। यता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देही जिल्ला कमिटीको बैठकले भने पार्टीविरुद्ध फैलाइएका भ्रम, पलायनवादी तथा आत्मसमर्पणवादी प्रवृत्तिको वैचारिक र राजनीतिक रूपमा प्रतिवाद गर्दै संगठनलाई थप सुदृढ बनाउने निर्णय गरेको जनाएको छ।

    रुपन्देहीमा एउटै दिन दुई फरक राजनीतिक धाराका गतिविधि सार्वजनिक भएसँगै जिल्लाको कम्युनिस्ट राजनीतिले नयाँ मोड लिएको विश्लेषण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij