बुटवल । धार्मिक सहिष्णुता, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै बुटवल उपमहानगरपालिका–१ स्थित "रजा ए मुस्तफा" मस्जिद समिति ले बुटवल–७ शिवनगरमा सञ्चालित नन्दिनी गौशाला का गाई–गोरुका लागि गौ–आहार सहयोग गरेको छ।
बुटवल उपमहानगरपालिकाले सडकमा अलपत्र परेका गाई–गोरुको संरक्षण तथा व्यवस्थापनका लागि सञ्चालन गरेको उक्त गौशालामा हाल करिब ५ सय गाई–गोरु आश्रित छन्। गौशालाको सञ्चालनमा स्थानीय बासिन्दा, विभिन्न सामाजिक संघ–संस्था तथा स्वदेश–विदेशमा रहेका नेपालीहरूले जन्मदिन, पुण्यतिथि र अन्य विशेष अवसरमा निरन्तर सहयोग गर्दै आएका छन्।
यसपटक मस्जिद समितिका अध्यक्ष हाजी सहमत मियाँ सहित मुस्लिम समुदायका सदस्यहरूले गौ–आहार हस्तान्तरण गर्दै धर्मभन्दा माथि मानवता र सामाजिक सद्भाव रहेको सन्देश दिएका छन्। उनीहरूको यो सहयोगले समुदायबीचको विश्वास, सम्मान र एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
सहयोग ग्रहण गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे ले मुस्लिम समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गरे। उनले गौ–संरक्षण कुनै एक धर्म वा समुदायको मात्र विषय नभई सम्पूर्ण समाजको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता उदाहरणीय कार्यले धार्मिक सहिष्णुता, सामाजिक एकता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउने बताए।
नगर प्रमुख पाण्डेले गौशालाको दिगो व्यवस्थापनका लागि सबै समुदाय, संघ–संस्था र सहयोगी हातहरूको निरन्तर साथ आवश्यक रहेको उल्लेख गर्दै समाजलाई जोड्ने यस्ता सकारात्मक अभियानमा सबैलाई सहभागी हुन आग्रह गरे।
मुस्लिम समुदायले गरेको यो सहयोगले बुटवलबाट धार्मिक सद्भाव, सामाजिक सहकार्य र मानवीय सेवाको सशक्त सन्देश प्रवाह गरेको छ।
