बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रको आयोजनामा परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी अर्थशास्त्र विषयको दुईदिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ। कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको उद्घाटन गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेल ले पाठ्यक्रम अद्यावधिक, परिमार्जन तथा समयानुकूल परिवर्तनका आवश्यकता र यसको प्रभावकारी कार्यान्वयनका विषयमा प्रशिक्षण दिनुभयो। उहाँले बदलिँदो शैक्षिक परिवेशअनुसार पाठ्यक्रमलाई व्यवहारमुखी, जीवनोपयोगी र विद्यार्थीकेन्द्रित बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो।
केन्द्रका निर्देशक गोपाल नारायण श्रेष्ठ ले पाठ्यक्रम निर्माण प्रक्रिया, सिकाइ सहजीकरणका प्रभावकारी विधि तथा शिक्षण–सिकाइ प्रक्रियाका विविध पक्षबारे सहजीकरण गर्नुभयो।
अर्थशास्त्री लेखराज खनाल ले आन्तरिक मूल्याङ्कन प्रणाली, यसको प्रभावकारी कार्यान्वयन तथा विद्यार्थी मूल्याङ्कनका व्यवहारिक पक्षबारे प्रशिक्षण दिनुभयो।
कार्यक्रमका सञ्चालक केन्द्रका शाखा अधिकृत मिन बहादुर थापाले प्रशिक्षण सत्र सञ्चालन गर्नुभएको थियो।
कक्षा ९ र १० का अर्थशास्त्र विषयका पाठ्यपुस्तक लेखक बाबुराम शर्मा ले परिमार्जित पाठ्यक्रमअनुसार तयार गरिएको नयाँ पाठ्यपुस्तकको संरचना, विषयवस्तु, Project-Based Learning र Problem-Based Learning का अवधारणा तथा नयाँ पाठ्यपुस्तकमा समेटिएका विषयवस्तुबारे विस्तृत प्रस्तुति दिँदै सहभागी शिक्षकहरूले उठाएका जिज्ञासाको समाधान गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका सदस्य रामकृष्ण शर्मा ले स्वागत मन्तव्यसहित सहभागी तथा प्रशिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली ले पनि स्वागत तथा शुभकामना व्यक्त गर्दै यस्ता प्रशिक्षणले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अर्थशास्त्र विषयका शिक्षकहरूको सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रम भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
