बुटवल, असार १३ । बुटवल उपमहानगरपालिका–४ वडा कार्यालयको आयोजनामा टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। नागरिकलाई वडा कार्यालयबाट प्रदान गरिने सेवा–सुविधालाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जन्म, मृत्यु तथा विवाह दर्ता, बसाइँसराइ, नागरिकता सिफारिस, व्यवसाय दर्ता तथा नवीकरण, विभिन्न कानुनी व्यवस्था, आवश्यक कागजातको प्रक्रिया लगायत वडा कार्यालयबाट प्रदान गरिने सेवाका विषयमा सहभागीलाई विस्तृत जानकारी गराइएको थियो। टोल विकास संस्थामार्फत नागरिकसम्म सही सूचना पुर्याई सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नरिश्वर पौडेलले बुटवल–४ उपमहानगरको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र भएकाले यहाँका नागरिकका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यका साथ वडा कार्यालय अघि बढिरहेको बताउनुभयो। उहाँले नागरिकलाई छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन आफूहरू निरन्तर सक्रिय रहेको उल्लेख गर्दै जेनजी आन्दोलनका क्रममा वडा कार्यालयमा आगजनी हुँदा पनि वैकल्पिक व्यवस्था गरी सेवा प्रवाहलाई निरन्तरता दिइएको जानकारी दिनुभयो।
वडा अध्यक्ष पौडेलले बजार क्षेत्रको पार्किङ व्यवस्थापन, लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणका लागि आवश्यक पहल तथा वडा मात्र नभई देशकै गौरवका रूपमा परिचित कान्ति माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालयको व्यवस्थापन तथा शैक्षिक विकासमा पनि वडा कार्यालयले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो।
कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै वडा सदस्य अरुणकुमार श्रेष्ठले वडा विकासका हरेक अभियानमा स्थानीयवासीले दिएको सकारात्मक साथ र सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले वडा कार्यालय र टोल विकास संस्थाबीचको सहकार्यले नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
बुटवल उपमहानगरपालिकाका एमआईएस अपरेटर नारायण अर्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा स्थानीय सरकारबाट प्रदान गरिने सेवा, कानुनी प्रक्रिया, आवश्यक कागजात र नागरिकको अधिकार तथा कर्तव्यका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले यस्ता अभिमुखीकरणले टोल विकास संस्था र वडा कार्यालयबीचको समन्वय अझ सुदृढ भई नागरिकले पाउने सेवा थप प्रभावकारी, सहज र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरेका थिए।
