बुटवल, असार १२। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी, भक्तपुरले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअनुसार बुटवल उपमहानगरपालिकाका पाँच सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण सम्पन्न गरी तयार गरिएको पुस्तिका सम्बन्धित विद्यालय र पालिकालाई हस्तान्तरण गरेको छ।
अधिराज्यभरका विभिन्न पालिकाका १०० विद्यालयमा सञ्चालन गरिएको कार्यसम्पादन परीक्षण कार्यक्रमअन्तर्गत बुटवलका कान्ति माध्यमिक विद्यालय, नहरपुर माध्यमिक विद्यालय, नवीन औद्योगिक माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय र प्रगति माध्यमिक विद्यालय छनोटमा परेका थिए।
परीक्षणका क्रममा विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, व्यवस्थापकीय, अभिलेख व्यवस्थापन तथा वातावरणीय पक्षको प्रत्यक्ष अवलोकन गरिएको थियो। साथै शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय तहसँग अन्तरवार्ता गरी विद्यालयको समग्र अवस्थाको स्वमूल्याङ्कन, बाह्य परीक्षण तथा कार्यसम्पादन स्तर निर्धारणका आधारमा प्रतिवेदन तयार गरिएको हो।
बुटवल उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मित्रमणि खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञ बाबुराम गौतमले कार्यसम्पादन परीक्षणको उद्देश्य र महत्वबारे प्रकाश पार्दै प्रतिवेदनको निष्कर्षलाई विद्यालय सुधार योजनासँग जोड्न सके शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सुधार आवश्यक देखिएका विद्यालयलाई सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा थप उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना समेत दिनुभयो।
बुटवल उपमहानगरपालिकाका शिक्षा अधिकृत यादवचन्द्र बिष्टले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी विद्यालयका तर्फबाट नहरपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिश्वर गौतम र नवीन औद्योगिक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेतले कार्यसम्पादन परीक्षणबाट प्राप्त सुझावलाई विद्यालय सुधारको मार्गदर्शकका रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिका–४ का वडा अध्यक्ष नरिश्वर शर्माले बुटवलका सामुदायिक विद्यालयहरूले पछिल्लो समय शैक्षिक सुधारमा गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि सबै पक्षबीच सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका माध्यमिक शिक्षा शाखा प्रमुख वरिष्ठ शिक्षा अधिकृत टिकाराम पन्थी, वरिष्ठ शिक्षा अधिकृतहरू कमला चुडाली र कोपिला ज्ञवाली, शिक्षा अधिकृतहरू मधुसुधन बेल्वासे, अमृता पन्थी र लक्ष्मी खनाल, साथै कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य रामकृष्ण शर्मालगायतको उपस्थिति रहेको थियो।
कार्यसम्पादन परीक्षण पुस्तिका तीन प्रति तयार गरिएको छ। एक प्रति सम्बन्धित विद्यालय, एक प्रति बुटवल उपमहानगरपालिका र एक प्रति शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा रहने व्यवस्था गरिएको छ। साथै प्रतिवेदनका सम्पूर्ण विवरण केन्द्रको अनलाइन पोर्टलमा समेत प्रविष्ट गरिने जनाइएको छ।
शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालयको वास्तविक अवस्था पहिचान तथा सुधारका लागि स्पष्ट कार्ययोजना निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यसम्पादन परीक्षण कार्यक्रमलाई सामुदायिक विद्यालयको शैक्षिक विकासतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
