बुटवल । बुटवल उपमहानगरपालिकाको पहलमा बुटवल–४ स्थित कान्ति माध्यमिक विद्यालयमा वृत्ति मार्गनिर्देशन सेवा इकाई (Career Guidance Service Unit) स्थापना गरिएको छ। एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष तथा विद्यालयका संरक्षक नरिश्वर शर्मा पौडेल ले उक्त इकाईको उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले विद्यालयमा स्थापना गरिएको वृत्ति मार्गनिर्देशन सेवा इकाईले विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता र सम्भावनाअनुसार शैक्षिक तथा व्यावसायिक मार्ग छनोट गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले बदलिँदो समयअनुसार विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै प्राविधिक तथा व्यावसायिक जानकारी आवश्यक रहेकाले यस्ता कार्यक्रमले भविष्य निर्माणमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
बुटवल उपमहानगरपालिकाका शिक्षा अधिकृत यादवचन्द्र बिष्टको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपमहानगरपालिकाका अधिकृत छैटौं मधुसुधन बेल्वासेले नगरपालिकाको तर्फबाट वृत्ति मार्गनिर्देशन सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। त्यसैगरी इन्स्योर परियोजना का प्राविधिक अधिकृत दिलीप बोहरा तथा वृत्ति मार्गनिर्देशन कार्यालय भैरहवा की काउन्सिलर सुशिला पौडेलले विद्यार्थीहरूको करियर विकास, सीप अभिवृद्धि, रोजगारीका अवसर तथा भविष्य निर्माणका विविध पक्षबारे सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ४ का जनप्रतिनिधि अरुणकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू रामकृष्ण शर्मा, कमला पन्थी, संगीता पोखरेल र मित्र गिरी लगायत शिक्षकहरू विशाल आचार्य, बाबुराम भुसाल, सुरज अधिकारी तथा विद्यालय परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयमा स्थापना गरिएको उक्त सेवा इकाईमार्फत विद्यार्थीहरूले विभिन्न पेशा, प्राविधिक शिक्षा, सीपमूलक तालिम, उच्च शिक्षा तथा रोजगारीका अवसरसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्। यसले विद्यार्थीलाई भविष्यको करियर योजना बनाउन, सही निर्णय लिन र आत्मविश्वासका साथ आफ्नो लक्ष्य निर्धारण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शिक्षालाई व्यवहारिक, सीपमूलक तथा रोजगारीसँग जोड्ने बुटवल उपमहानगरपालिकाको अभियान अन्तर्गत स्थापना गरिएको यो सेवा इकाईले कान्ति माविका विद्यार्थीहरूका लागि नयाँ अवसर र सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।
