बुटवल । बुटवल उपमहानगरपालिकाले निरन्तर बजार अनुगमनलाई तीव्रता दिएसँगै स्थानीय बजारमा बिक्री वितरण भइरहेको दूधको गुणस्तरमा सुधार आएको पुष्टि भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले सार्वजनिक गरेको पछिल्लो परीक्षण प्रतिवेदनले बुटवलमा बिक्री हुने दूध गुणस्तरीय रहेको देखाएको छ।
उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त प्रतिवेदन सार्वजनिक गर्दै बजार अनुगमनको सकारात्मक परिणाम देखिएको बताएकी छन्। उनले बजारभित्र आउने दूधको नियमित परीक्षण र अनुगमनका कारण गुणस्तरमा सुधार आएको उल्लेख गर्दै यसले उपभोक्तामा विश्वास बढाएको बताएकी छन्।
केही समयअघि बुटवल उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा संकलित केही दूधका नमुनामा गुणस्तर मापदण्डभन्दा कम रहेको तथा केही नमुनामा न्युट्रलाइजर (सोडा) को प्रयोग भएको तथ्य फेला परेको थियो। त्यसलगत्तै सामाजिक सञ्जालमा दूधमा ‘विषादी’ भेटिएको भन्दै विभिन्न भ्रामक प्रचारसमेत भएका थिए।
तर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आधिकारिक परीक्षण प्रतिवेदनले विषादी नभई गुणस्तर र न्युट्रलाइजर प्रयोगसँग सम्बन्धित विषय मात्र देखाएको थियो। पछिल्लो परीक्षणमा भने दूध तथा दुग्धजन्य पदार्थहरू तोकिएको मापदण्डअनुसार रहेको पुष्टि भएको छ।
उपप्रमुख अर्यालले खाद्य सुरक्षाको विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै उपभोक्ताले सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न अनुगमनलाई निरन्तरता दिइने बताएकी छन्। उनले व्यवसायीलाई गुणस्तर कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन समेत आग्रह गरेकी छन्।
निरन्तर अनुगमन, प्रयोगशाला परीक्षण र व्यवसायीहरूको बढ्दो सचेतनाका कारण बुटवलमा खाद्य सुरक्षाको अवस्था सुधारोन्मुख रहेको सरोकारवालाहरूको भनाइ छ।
