२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • आधारभूत तहको मूल्याङ्कन प्रणालीबारे बुटवलमा अन्तरक्रिया,...
News

आधारभूत तहको मूल्याङ्कन प्रणालीबारे बुटवलमा अन्तरक्रिया, “अब काम गरेर देखाउने बेला आएको छ” : विष्णु पन्थी

आधारभूत तहको मूल्याङ्कन प्रणालीबारे बुटवलमा अन्तरक्रिया, “अब काम गरेर देखाउने बेला आएको छ” : विष्णु पन्थी

शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • बुटवल। शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णु पन्थीले शिक्षा क्षेत्रका महत्वपूर्ण विषयमा राज्यले गर्नुपर्ने काम शिक्षक तथा कर्मचारी कल्याण कोष रुपन्देहीले अगाडि बढाएको भन्दै प्रशंसा गरेका छन्। उनले शिक्षा सुधारका लागि आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै अब बहस र छलफलमा मात्र सीमित नभई व्यवहारमा परिणाम देखाउने गरी काम गर्ने बेला आएको बताएका छन्।

    शिक्षक तथा कर्मचारी कल्याण कोष रुपन्देहीको आयोजनामा बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा सम्पन्न “आधारभूत तह (कक्षा १–५) मूल्याङ्कन अवधारणा : अभ्यास, समस्या र समाधान” विषयक शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले यस्तो धारणा व्यक्त गरेका हुन्।

    कार्यक्रममा कोषका अध्यक्ष गुणाखर भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै आधारभूत तहको मूल्याङ्कन प्रणालीका विद्यमान अभ्यास, देखिएका समस्या तथा सुधारका सम्भावनाबारे प्रकाश पारेका थिए। प्रस्तुत कार्यपत्रमाथि घनश्याम पाठक, रुपकुमार रायमाझी र चण्डी प्रसाद पाण्डेले टिप्पणी गर्दै मूल्याङ्कन प्रणालीलाई थप प्रभावकारी, वस्तुनिष्ठ र विद्यार्थीमैत्री बनाउन आवश्यक सुझाव दिएका थिए।

    छलफलका क्रममा मिरा भुसाल, वासुदेव घिमिरे, गंगा नेपाल लगायतका सहभागीहरूले विद्यालय तहमा मूल्याङ्कन कार्यान्वयनका अनुभव, चुनौती र सुधारका उपायबारे आफ्ना धारणा राखेका थिए। सहभागीहरूले सिकाइ उपलब्धिको सही मूल्याङ्कन गर्न व्यवहारिक र परिणाममुखी प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका थिए।

    कोषका अध्यक्ष गुणाखर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डिल्लीराज भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण पंगेनीले गरेका थिए। कार्यक्रममा शिक्षक, शिक्षाकर्मी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij