२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • “बजेट आयो, तर श्रमिक जनताको पक्षमा...
News

“बजेट आयो, तर श्रमिक जनताको पक्षमा आएन” – विप्लव

“बजेट आयो, तर श्रमिक जनताको पक्षमा आएन” – विप्लव

"सरकारको बजेटलाई नेकपा महासचिव विप्लवद्वारा ‘नवउदारवादी’ संज्ञा, उत्पादन र रोजगारीभन्दा दलाल पूँजीको संरक्षणमा केन्द्रित रहेको आरोप"

शनिवार, जेठ १६ २०८३
शनिवार, जेठ १६ २०८३
  • काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई “नवउदारवादी चरित्रको बजेट” भन्दै कडा आलोचना गरेका छन्।
    बजेट सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै महासचिव विप्लवले बजेटले श्रमिक, किसान, बेरोजगार युवा तथा उत्पादनमुखी क्षेत्रका जनताको अपेक्षालाई सम्बोधन गर्न नसकेको बताएका छन्। उनका अनुसार बजेटले मुलुकको आर्थिक संकट समाधान गर्नेभन्दा पनि पुरानै दलाल पुँजीवादी संरचनालाई संरक्षण गर्ने काम गरेको छ।
    विप्लवले देशमा बढ्दो बेरोजगारी, युवा पलायन, कृषि उत्पादनको संकट तथा उद्योगधन्दाको कमजोर अवस्थाप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए। उनले बजेटमा आत्मनिर्भर अर्थतन्त्र निर्माण, राष्ट्रिय उद्योगको संरक्षण र उत्पादन वृद्धिका लागि ठोस कार्यक्रमको अभाव रहेको बताए।
    उनले भने, “यो बजेट श्रमिक, किसान र आम जनताको होइन, नवउदारवादी अर्थनीतिलाई निरन्तरता दिने बजेट हो। जनताले परिवर्तनको अनुभूति गर्ने गरी कुनै नयाँ दृष्टिकोण प्रस्तुत गरिएको छैन।”
    महासचिव विप्लवले बजेटले सामाजिक न्याय, उत्पादन र रोजगारी सिर्जनाभन्दा विदेशी ऋण, आयातमुखी अर्थतन्त्र र सीमित वर्गको हितलाई प्राथमिकता दिएको दाबी गरे। उनले वर्तमान आर्थिक चुनौतीको सामना गर्न उत्पादनमुखी, श्रममैत्री र राष्ट्रिय स्वाधीनता केन्द्रित आर्थिक नीतिको आवश्यकता औँल्याए।
    सरकारले दुईतिहाइ नजिकको समर्थनसहित स्थिरता र समृद्धिको प्रतिबद्धता व्यक्त गरिरहे पनि प्रस्तुत बजेटले जनताको वास्तविक अपेक्षा पूरा गर्न नसक्ने उनको निष्कर्ष छ। बजेटप्रति विभिन्न राजनीतिक दल तथा अर्थविद्हरूको प्रतिक्रिया आउने क्रम जारी रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij