बुटवल, रुपन्देही | बुटवल उपमहानगरपालिका ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्दै ‘जिपिए ४’ प्राप्त गर्ने नगरभित्रका १४ वटा सामुदायिक तथा संस्थागत विद्यालय र ४६ जना विद्यार्थीलाई विशेष सम्मान गरेको छ।
नगरप्रमुख खेलराज पाण्डे को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्याल ले सम्मानित विद्यार्थीहरूलाई उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्दै सफलताको यात्रामा विद्यालय र अभिभावकको योगदान कहिल्यै नबिर्सन आग्रह गर्नुभयो। उहाँले कक्षा ११/१२ को अध्ययन पनि आफ्नै विद्यालयमा निरन्तरता दिन सके अझ सकारात्मक वातावरण बन्ने सुझाव दिनुभयो।
कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डे ले बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यार्थी सङ्ख्या, नतिजा र शैक्षिक गुणस्तरका आधारमा देशमै उत्कृष्ट पहिचान बनाएको उल्लेख गर्दै शिक्षा क्षेत्रको विकासमा विद्यालय परिवारको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले सम्मानित विद्यार्थीहरूलाई आगामी दिनमा पनि अनुशासन, मेहनत र निरन्तरतासहित अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो।
सामुदायिक विद्यालयतर्फ कान्ति माध्यमिक विद्यालय बाट ४ जना, कालिका मानवज्ञान माध्यमिक विद्यालय बाट ६ जना तथा नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय र नयाँ गाउँ माध्यमिक विद्यालय बाट १/१ जना विद्यार्थीले जिपिए ४ प्राप्त गरेका थिए।
त्यसैगरी संस्थागत विद्यालयतर्फ अक्सफोर्ड माध्यमिक विद्यालय बाट ११ जना, दीप बोर्डिङ हाई स्कूल बाट ७ जना, न्यु होराइजन माध्यमिक विद्यालय र मणिमुकुन्द माध्यमिक विद्यालय बाट ४/४ जना, लुम्बिनी बोर्डिङ स्कुल र एभरग्रिन बोर्डिङ स्कूल बाट २/२ जना तथा एभरेष्ट माध्यमिक विद्यालय, गार्गी माध्यमिक विद्यालय, एलबी नमुना माध्यमिक विद्यालय र गणेश ज्ञानज्योति माध्यमिक विद्यालय बाट १/१ जना विद्यार्थीले जिपिए ४ प्राप्त गरेका थिए।
सम्मानित विद्यार्थीहरूले आफूहरूको सफलतामा व्यक्तिगत मेहनतसँगै विद्यालय, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्टता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली, वरिष्ठ उपसचिव मित्रमणि खनाल, माध्यमिक शिक्षा शाखा प्रमुख टिकाराम पन्थी लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो भने सम्मानित विद्यार्थीका अभिभावकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत यादव चन्द्र बिष्ट ले गर्नुभएको थियो।
सम्मानित विद्यार्थीहरूलाई ढाका टोपी, दोसल्ला, प्रमाणपत्र, कर्णेल उजिरसिंहको तस्वीर तथा बुटवल उपमहानगरपालिकाको डायरी प्रदान गरिएको थियो भने विद्यालयका प्रधानाध्यापकहरूलाई समेत ढाका टोपी, दोसल्ला, प्रमाणपत्र र कर्णेल उजिरसिंहको तस्वीरसहित सम्मान गरिएको थियो।
