बुटवल, जेठ २९ । सरकारले देशभर भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि “डोजर आतंक” मच्चाएर हजारौं परिवारलाई विस्थापित गर्न खोजेको आरोप लगाउँदै रुपन्देहीका विभिन्न राजनीतिक दलहरू सरकारको कदमविरुद्ध एकजुट भएका छन्।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी, नेकपा बहुमत, नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा संयुक्तका जिल्ला नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको उचित व्यवस्थापन नगरी घरटहरा भत्काउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
विज्ञप्तिमा वैकल्पिक व्यवस्थाविना नागरिकलाई जबरजस्ती विस्थापित गर्नु अमानवीय र संविधानले सुनिश्चित गरेको आवासको अधिकारमाथिको हस्तक्षेप भएको उल्लेख गरिएको छ। दलहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या वार्ता, सहमति र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका रामकृष्ण खाँड, नेकपा (एमाले)का यज्ञ गैरे, नेपाली कम्युनिस्ट पार्टीका निर्मल जिसी, श्रम संस्कृति पार्टीका छविलाल गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद श्रेष्ठ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका लक्ष्मीकान्त पौडेल, नेकपा माओवादीका शरद वली, नेकपा बहुमतकी रेखा खनाल, नेकपा (मसाल)का लालचन्द पन्त, राष्ट्रिय जनमोर्चाकी इन्दिरा ज्ञवाली, प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णकुमार बन्जाडे तथा नेकपा संयुक्तका भीमबहादुर क्षेत्रीको हस्ताक्षर रहेको छ।
यसैबीच, नेकपा माओवादीका नेता शरद वलीले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको अन्यायविरुद्ध सबै राजनीतिक दलहरू साझा रूपमा उभिएको बताउँदै नागरिकको आवासको अधिकार सुनिश्चित नभएसम्म संघर्ष जारी रहने बताएका छन्।
