बुटवल। रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुलभ खरेल ले सामाजिक सञ्जालमार्फत बुटवल क्षेत्रमा जारी सुकुम्बासी आन्दोलनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको मुख्य माग सुरक्षित बसोबाससहित कानुनी पुर्जा प्राप्ति रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारसँग निरन्तर पहल भइरहेको जानकारी दिएका हुन्।
सांसद खरेलले केही दिनअघि बुटवलका विभिन्न क्षेत्रमा पुगेर स्थानीय नागरिकका गुनासा सुन्ने क्रममा सबैभन्दा बढी उठेको विषय सुकुम्बासी र अव्यवस्थित बसोबासकै समस्या रहेको बताएका छन्। “अधिकांश नागरिकको एउटै माग छ—हामीलाई बसोबासको कानुनी सुनिश्चितता सहित पुर्जा चाहिन्छ,” उनले उल्लेख गरेका छन्।
मोतिपुर औद्योगिक क्षेत्रभित्र पर्ने भनिएको जग्गाको विषयमा पनि आफ्नै ऐतिहासिक, सामाजिक, राजनीतिक र प्रशासनिक पृष्ठभूमि रहेको उल्लेख गर्दै उनले त्यसको समाधान संवेदनशील ढंगले खोजिनुपर्ने बताएका छन्।
उनले पछिल्ला दिनहरूमा सुकुम्बासी नागरिकको पीडा, चिन्ता र अपेक्षाबारे भौतिक पूर्वाधार मन्त्री, उद्योग मन्त्री तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमक्ष निरन्तर रूपमा कुरा उठाउँदै आएको बताएका छन्। सम्बन्धित मन्त्रीहरूबाट सरकारले जनअपेक्षा अनुरूप काम गर्ने, केही दिनभित्रै कानुनबमोजिम पुर्जा वितरण प्रक्रियालाई सहज बनाउने तथा मोतिपुर औद्योगिक क्षेत्रको विषयमा आवश्यक अध्ययन गर्न समिति गठन गर्ने विषयमा सकारात्मक प्रतिक्रिया आएको उनको भनाइ छ।
सांसद खरेलले जनताको न्यायोचित माग, सुरक्षित बसोबासको अधिकार र विकासबीच सन्तुलन कायम गर्दै समाधान खोज्नु आजको आवश्यकता रहेको बताएका छन्। यस विषयमा आफू निरन्तर रूपमा नागरिककै पक्षमा उभिएर आवश्यक समन्वय, पहल र दबाब सिर्जना गर्दै अघि बढिरहने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
