बुटवल। बुटवलको ऐतिहासिक गढीका रूपमा परिचित जीतगढी किल्ला मा मनाइएको जीतगढी विजय उत्सव २०८३ सम्पन्न भएको छ। उत्सवलाई सम्बोधन गर्दै खेलराज पाण्डे ले कर्णेल उजिरसिंह थापा लाई राष्ट्रिय विभूति भएको उल्लेख गर्दै इतिहासको सम्मानसँगै वर्तमान सुधारमा कडा कदम चाल्नुपर्ने बताएका छन्।
उनले सीमा क्षेत्रमा बढ्दो गाई तस्करीप्रति तीव्र आक्रोश व्यक्त गर्दै गृहमन्त्रीलाई नै सीधा चेतावनी दिएका छन्। “तस्करी रोक्ने जिम्मेवारी सरकारकै हो, अब परिणाम देखिनै पर्छ,” भन्दै उनले संघीय सरकारमाथि दबाब सिर्जना गरेका छन्।
त्यसैगरी, वन क्षेत्र लगायत विकास अवरोध गर्ने कानुनहरू तत्काल संशोधन गर्नुपर्ने माग राख्दै उनले स्पष्ट भने, “विकास रोक्ने होइन, सहजीकरण गर्ने नीति आवश्यक छ।”
बुटवलको फुटपाथ खाली गराउने अभियानमा व्यवसायी संघ–संस्थाले देखाएको दोहोरो भूमिकाप्रति पनि नगर प्रमुख पाण्डे कडा रूपमा प्रस्तुत भए। “भित्र सहमति गर्ने, बाहिर गएर विरोध गर्ने प्रवृत्ति अस्वीकार्य छ,” भन्दै उनले यस्तो व्यवहारप्रति असन्तुष्टि जनाए।
साथै, बुटवलमा सञ्चालन भइरहेको सरसफाइ अभियान, छाडा चौपाया व्यवस्थापन तथा फुटपाथ अतिक्रमण हटाउने अभियानबाट पछि नहट्ने स्पष्ट चेतावनी दिँदै उनले घोषणा गरे—“सहर व्यवस्थित बनाउने अभियान अब कुनै हालतमा रोकिन्न, कसैले दबाब दिए पनि पछि हटिन्न।”
यसै गरि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले नगरपालिका सँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै व्यवसायीहरूलाई समेत सहमतिमा उभिन आग्रह गरेका छन्।
