२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • बुटवलमा फुटपाथ व्यवस्थापनमा विवाद: व्यवसायी संगठनको...
समाचार

बुटवलमा फुटपाथ व्यवस्थापनमा विवाद: व्यवसायी संगठनको असन्तुष्टि, सहमतिअनुसार काम गर्न माग

बुटवलमा फुटपाथ व्यवस्थापनमा विवाद: व्यवसायी संगठनको असन्तुष्टि, सहमतिअनुसार काम गर्न माग

शनिवार, बैशाख ५ २०८३
शनिवार, बैशाख ५ २०८३
  • बुटवल, वैशाख ५ — बुटवल उपमहानगरपालिका र यहाँ क्रियाशील विभिन्न व्यावसायिक संघ–संस्थाबीच फुटपाथ व्यवस्थापनलाई लिएर देखिएको असन्तुष्टि सार्वजनिक भएको छ।
    बुटवलको सौन्दर्य, ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीको सहजताका लागि सडकपेटी खाली गराउने अभियानप्रति व्यवसायीहरू सकारात्मक देखिए पनि कार्यान्वयनको तरिकाप्रति गम्भीर आपत्ति जनाएका छन्।
    संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा वैशाख ३ गतेदेखि बजार क्षेत्रका अमरपथ, विपी चोक, राममन्दिर लाइनलगायत स्थानमा गरिएको अनुगमन तथा कारबाहीका क्रममा उपमहानगरपालिकाले केही व्यवसायिक प्रतिष्ठानमाथि बलपूर्वक ढंगले कार्य गरेको उल्लेख गरिएको छ।
    व्यवसायीहरूका अनुसार सटर तथा पिलरभित्र रहेका सामानहरू समेत बिना कुनै पूर्वसूचना उठाइ लैजाने, क्षति पुर्‍याउने र अस्थायी टहरा तथा पसलका संरचनासमेत जफत गर्ने कार्यले आपसी सहमति उल्लंघन भएको ठहर गरिएको छ।
    विज्ञप्तिमा बुटवल उपमहानगरपालिका र व्यावसायिक संघ–संस्थाबीच भएको सहमतिअनुसार कार्यान्वयन हुनुपर्नेमा एकपक्षीय ढंगले गरिएको कारबाहीले व्यवसायीहरूमा असन्तुष्टि बढाएको जनाइएको छ।
    यसै सन्दर्भमा व्यवसायीहरूले बुटवलको सौन्दर्य र ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उपमहानगरपालिकालाई स्पष्ट मापदण्ड तयार गर्न, सटर क्षेत्रबाट लगिएका सम्पूर्ण सामान तत्काल फिर्ता गर्न तथा सहमतिअनुसार मात्रै कारबाही अघि बढाउन आग्रह गरेका छन्।
    उक्त विज्ञप्तिमा प्रकाश ढकाल (रूपन्देही व्यापार संघ), हरिप्रसाद अर्याल (बुटवल उद्योग वाणिज्य संघ), कृष्णप्रसाद पराजुली (रूपन्देही उद्योग संघ) र लोकनाथ पन्थी (उद्योग व्यापार संघ) का अध्यक्षहरूले हस्ताक्षर गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij