बुटवल । रूपन्देही डेरी व्यवसायी समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा बैशाख ३ र ४ गते दुई दिने डेरी सुधार तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले गर्दै डेरी व्यवसायीहरुलाई आवश्यक सहयोग गर्न नगरपालिका सधैं तयार रहेको बताइन्।
उनले दूधको गुणस्तर सुधारमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै हाल यस क्षेत्रमा सुधार देखिन थालेको उल्लेख गरिन्। साथै, बुटवलका सडक तथा फुटपाथ अतिक्रमण हटाउने अभियान निरन्तर सञ्चालन हुने भन्दै सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरिन्।
उद्घाटन सत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाइ, दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजनाका प्रमुख कृष्ण अर्याल, बुटवल उपमहानगरपालिका पशुपन्छी शाखा प्रमुख झबिन्द्र बनजाडे, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, डेरी विज्ञ कपिल न्यौपाने तथा समितिका निवर्तमान अध्यक्ष रामकृष्ण शर्मालगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको समापन सत्रमा बुटवल–१४ का अध्यक्ष दधिराम न्यौपाने प्रमुख अतिथि रहेका थिए। सो अवसरमा लुम्बिनी दुग्ध वितरण आयोजनाका रमेश भट्टराईले दुग्धजन्य पदार्थको उत्पादन, भण्डारण तथा गुणस्तर व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए।
करिब १०० जना डेरी व्यवसायीहरुको सहभागिता रहेको उक्त तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन सचिव याम प्रसाद शर्माले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष जीवलाल न्यौपानेले व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षता विष्णु प्रसाद पाण्डेले गरेका थिए।
कार्यक्रम संयोजक गणेश सिंह भण्डारीले सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै डेरी क्षेत्रको समग्र सुधारका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
उक्त कार्यक्रमको आर्थिक सहयोग बुटवल उपमहानगरपालिकाको रहेको थियो भने अन्य अतिरिक्त खर्चको व्यवस्थापन समितिले नै गरेको थियोे ।
