बुटवल ।बुटवल उपमहानगरपालिकाले शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यसहित सुरु गरेको सडकपेटी तथा फुटपाथ खाली अभियान दोस्रो दिन पनि थप कडाइका साथ जारी राखेको छ।
नगरपालिकाले राममन्दिर लाइन, अमरपथ बजार क्षेत्र र मिलनचोक लगायतका स्थानमा डोजर परिचालन गर्दै अतिक्रमित फुटपाथ खाली गराएको हो। अभियानका क्रममा ठूलो संख्यामा नगर प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरिएका थिए।
कारबाहीका क्रममा कतिपय स्थानमा व्यापारी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भई हात हालाहालको अवस्था समेत सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन्। सडकपेटीमा राखिएका सामान, ठेला तथा केही मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
एकातिर बल प्रयोगप्रति व्यवसायीहरू आक्रोशित देखिएका छन् भने अर्कोतिर उपमहानगरपालिका आफ्नो अभियानबाट पछि हट्ने संकेत देखिएको छैन। उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले फुटपाथ खाली गराएरै छाड्ने चेतावनी दिँदै अभियान निरन्तर चलिरहने स्पष्ट पारिन्।
यद्यपि, आम नागरिकले भने फुटपाथ खाली गर्ने कार्यलाई सकारात्मक रूपमा लिएका छन्। पैदलयात्रीका लागि सहज आवागमन सुनिश्चित गर्ने यो कदम आवश्यक भएको उनीहरूको भनाइ छ।
तर, सरोकारवालाहरूले केवल फुटपाथ खाली गराएर मात्र समस्या समाधान नहुने औंल्याएका छन्। बजार क्षेत्रमा अपाङ्गमैत्री फुटपाथ निर्माण, स्पष्ट रेखाङ्कन, तथा सर्वसाधारणका लागि सहज र सुलभ पार्किङ व्यवस्थाको समेत खाँचो रहेको बताइएको छ।
विशेषगरी बुधबार र शनिबार लाग्ने हाटबजारलाई लक्षित गर्दै पार्किङ व्यवस्थापन र सुरक्षाको प्रत्याभूति गर्नुपर्ने माग उठिरहेको छ। व्यवसायीहरूले आफ्नो रोजीरोटीमा असर नपर्ने गरी सहजीकरणको नीति अपनाउन पनि स्थानीय सरकारसँग आग्रह गरेका छन्।
यसैबीच, तिलोत्तमा नगरपालिकाले समेत सूचना जारी गर्दै अतिक्रमित सडक र फुटपाथ खाली गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।
शहरलाई व्यवस्थित र मर्यादित बनाउने अभियानमा स्थानीय सरकारको कडाइसँगै नागरिक र व्यवसायीको सहकार्य अपरिहार्य देखिएको छ।
