२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • “बुटवलमा चल्यो डोजर” — अटेरीमाथि कडा...
समाचार

“बुटवलमा चल्यो डोजर” — अटेरीमाथि कडा कारबाही, फुटपाथ कब्जा हटाउन निर्णायक अभियान

“बुटवलमा चल्यो डोजर” — अटेरीमाथि कडा कारबाही, फुटपाथ कब्जा हटाउन निर्णायक अभियान

बुधवार, बैशाख २ २०८३
बुधवार, बैशाख २ २०८३
  • बुटवल। “बुटवलमा चल्यो डोजर” भन्ने सन्देशलाई व्यवहारमै उतार्दै बुटवल उपमहानगरपालिकाले सडक तथा फुटपाथ अतिक्रमणविरुद्ध कडा अभियान सुरु गरेको छ। केही दिनअघिदेखि माइकिङमार्फत स्वेच्छिक रूपमा अतिक्रमण हटाउन आग्रह गरिए पनि बेवास्ता भएपछि बुधबारदेखि डोजरसहितको टोली परिचालन गर्दै बलपूर्वक संरचना हटाउन थालिएको हो।
    अभियानअन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिक चोक क्षेत्रका फुटपाथहरू खाली गराइएको छ। सार्वजनिक आवतजावतका लागि बनाइएका सडक पेटीमै व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीका सामग्री जफत गरिनुका साथै अवैध संरचना भत्काइएको उपमहानगरपालिकाले जनाएको छ। विशेष गरी व्यस्त भुट्की चोकमा डोजर चलाउँदै सडक पेटी फिर्ता गराइएको छ भने सडकमै अतिक्रमण गरी सेप्टिक ट्यांकी निर्माण गरिएको समेत फेला परेको छ।
    नगर प्रमुख खेलराज पाण्डे ले कसैको दबाबमा नझुक्ने स्पष्ट पार्दै सहरलाई व्यवस्थित बनाउने अभियानमा कुनै सम्झौता नहुने बताएका छन्। “म बरु राजीनामा दिन तयार छु, तर अतिक्रमणलाई संरक्षण गर्दिनँ,” उनले भने। उनले सकेसम्म बल प्रयोग नगर्न आग्रह गर्दै समयसीमा दिएको भए पनि अटेरीका कारण बाध्य भएर कडा कदम चाल्नुपरेको स्पष्ट पारे।
    यता फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक व्यवस्थाबिना हटाइँदा जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने गुनासो गरेका छन्। साना व्यवसायीलाई उचित स्थान व्यवस्थापन गरेर मात्रै हटाउने नीति अपनाउनुपर्ने उनीहरूको माग छ।
    उपमहानगरपालिकाले भने सार्वजनिक स्थलको संरक्षण र नागरिकको सहज आवागमनलाई प्राथमिकतामा राख्दै अभियानलाई अझ कडाइका साथ निरन्तर अघि बढाइने जनाएको छ। बुटवलमा अब फुटपाथ कब्जा सह्य नहुने स्पष्ट संकेतसहित ‘डोजर अभियान’ थप आक्रामक बन्दै गएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij