बुटवल। बुटवल उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नयाँ शैक्षिक सत्र २०८३ का लागि तयारी तीव्र बनाइएको छ। प्रधानाध्यापक र पालिकाबीच सम्पन्न समन्वयात्मक बैठकले शैक्षिक गतिविधिलाई व्यवस्थित बनाउन स्पष्ट कार्यतालिका सार्वजनिक गरेको हो।
बैठकको निर्णयअनुसार शैक्षिक सत्र २०८२ का विद्यार्थीहरूको नतिजा सबै विद्यालयहरूले वैशाख ४ गतेभित्र अनिवार्य रूपमा प्रकाशन गर्नुपर्नेछ। त्यसपछि वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गरिनेछ।
यस्तै, नयाँ शैक्षिक सत्रका लागि वैशाख १४ गतेदेखि नियमित कक्षा सञ्चालन गरिने निर्णय गरिएको छ। भर्ना अवधिसँगै विद्यालयहरूले वैशाख ७ देखि १३ गतेसम्म शिक्षक तथा कर्मचारीहरूको क्षमता विकास, तालिम तथा उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ।
यसैगरी, नगरद्वारा संशोधन गरिएको स्थानीय पाठ्यक्रमलाई बुटवलका विद्यालयहरूमा कार्यान्वयन गर्ने तयारीसमेत गरिएको छ, जसले शिक्षालाई स्थानीय आवश्यकतासँग जोड्ने अपेक्षा गरिएको छ।
बैठकले वैशाख ११, १२ र १३ गते बुटवल उपमहानगरपालिका अन्तर्गत विद्यालयस्तरीय सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
नयाँ शैक्षिक सत्रलाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउने लक्ष्यसहित सार्वजनिक गरिएको यो कार्यतालिकाले बुटवलको शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने देखिएको छ।
