बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्य सेवा र स्वदेशी उत्पादन प्रवर्द्धनलाई जोड्दै बुटवलस्थित रक्त सञ्चार केन्द्रमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज र नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको समन्वयमा आयोजित १५७औँ नियमित रक्तदान कार्यक्रममा ५१ पोइन्ट रगत संकलन गरिएको छ ।
कार्यक्रम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव दिपक ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि ज्ञवालीले खेर जाने रगतले अर्काको जीवन बचाउन सक्ने उल्लेख गर्दै यस्तो पुण्य कार्यमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कृष्ण चौहानले गर्नुभएको थियो भने सञ्चालन मगर विद्यार्थी संघका सचिव कमल थापाले गर्नुभएको थियो ।
विशेष रूपमा, नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशले रक्त सञ्चार केन्द्रमा सहभागी रक्तदाताहरूलाई निशुल्क मोही सेवन गराएको थियो । एसोसिएसनका प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेका अनुसार स्वदेशी पेय पदार्थ मोहीको प्रवर्द्धन गर्दै स्वास्थ्यसँग जोड्ने उद्देश्यले यस्तो पहल गरिएको हो ।
उक्त कार्यक्रममा अधिकारकर्मी कृष्ण भट्टराई लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साथै, कार्यक्रमकै अवसरमा नयाँ वर्षको क्यालेन्डर विमोचन समेत गरिएको थियो ।
एसोसिएसनले विगत दुई वर्षदेखि मोहीलाई प्रचारप्रसार गर्दै दिवसकै रूपमा मनाउँदै आएको जनाएको छ । हाल बजारमा हजारौं लिटर मोही खपत भइरहेको र यसले किसानलाई राहत पुर्याएको उल्लेख गरिएको छ ।
जारी विज्ञप्तिमा विदेशी तथा कृत्रिम पेय पदार्थको विकल्पमा स्वदेशी मोही प्रयोग गर्न आग्रह गर्दै ‘मोहीको उपभोग बढ्नु भनेको ग्रामीण किसानले उचित मूल्य पाउनु र आयातमा बाहिरिने अर्बौं रुपैयाँ जोगिनु हो’ भनिएको छ ।
साथै नेपाल डेरी एसोसिएसनले सरकारी बैठक, विद्यालयका क्यान्टिन तथा पारिवारिक समारोहहरूमा मोही प्रयोग गर्न सबैमा अपिल गरेको छ ।
