२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • बुटवलमा उपभोक्ता सचेतना कार्यक्रम: शुद्ध खानपान...
समाचार

बुटवलमा उपभोक्ता सचेतना कार्यक्रम: शुद्ध खानपान तथा  बजार अनुगमनमा  कडाइ

बुटवलमा उपभोक्ता सचेतना कार्यक्रम: शुद्ध खानपान तथा  बजार अनुगमनमा  कडाइ

शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  •  

    बुटवल। उपभोक्ता अधिकार दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले उपभोक्ता सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा शुद्ध खानपान, उपभोक्ता अधिकार संरक्षण र बजार अनुशासनलाई प्राथमिकतामा राखिएको थियो।
    कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख खेलराज पाण्डेले स्वस्थ जीवनका लागि विषादीरहित सागसब्जी तथा गुणस्तरीय खाद्य पदार्थको प्रयोग अनिवार्य भएको बताउनुभयो। उहाँले बढ्दो रोगको जोखिम न्यूनीकरणमा शुद्ध खानपानको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै उपभोक्तालाई सचेत र सजग बन्न आग्रह गर्नुभयो।
    उपप्रमुख सावित्रा देवी अर्यालले नगरपालिकाले बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लगेको जानकारी दिनुभयो। उपभोक्ताको स्वास्थ्यसँग कुनै पनि हालतमा सम्झौता नहुने स्पष्ट पार्दै उहाँले बजार व्यवस्थापनमा कडाइ गरिने बताउनुभयो।
    उहाँले बुटवलका सडक किनारमा बढ्दै गएका ठेला व्यवसायका कारण पैदल यात्रुहरूलाई समस्या भएको उल्लेख गर्दै पछिल्लो जेनजी आन्दोलनपछि व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभयो। नगरबासीको सहकार्य आवश्यक रहेकोमा जोड दिँदै साना समस्याले समेत झुम्साको खानेपानी आपूर्तिमा असर परेको उल्लेख गर्नुभयो र समाधानका लागि छिट्टै पहल गरिने जानकारी दिनुभयो।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख अनुप हलुवाइले बुटवलको बजार अनुगमन प्रभावकारी बन्दै गएको उल्लेख गर्दै खाद्य गुणस्तरमा कडाइ गरिएको जानकारी दिनुभयो।
    उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले उपभोक्ता ठगी नियन्त्रणका लागि कडा कानुनी कारबाही आवश्यक रहेको बताउनुभयो। उहाँले लुम्बिनी प्रदेशमा छिट्टै उपभोक्ता अदालत गठनको तयारी भइरहेको जानकारी पनि दिनुभयो।
    कार्यक्रममा कानुनी शाखा प्रमुख धुर्ब प्रसाद भट्टराईले बजार अनुगमनका क्रममा कैफियत भेटिएमा कडा कारबाही गरिने चेतावनी दिनुभयो। अनुगमन शाखा प्रमुख लक्ष्मी अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij