बुटवल, फागुन ४ गते । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले मोक्षधामको दर्शन गर्दै चुनावी प्रचारप्रसारको औपचारिक सुरुवात गरेका छन्।
तिलोत्तमा–६ स्थित मोक्षधाममा पुगेर दर्शन गरेपछि उनले मतदातासँग घरदैलो अभियान सुरु गरेका हुन्। चुनाव प्रचारप्रसारका लागि निर्वाचन आयोग नेपाल ले निर्धारण गरेको मितिअनुसार सोमबारदेखि काँग्रेस उम्मेदवार पौडेलले अभियान अघि बढाएका हुन्।
घरदैलो कार्यक्रमअन्तर्गत उनले स्थानीय कृषक, व्यवसायी, श्रमिक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेका छन्। भेटघाटका क्रममा स्थानीयले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, व्यवसायिक चुनौती, रोजगारी तथा विकासका प्राथमिकताबारे आफ्ना धारणा राखेका थिए। पौडेलले जनताका सुझाव र गुनासोलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रुपन्देहीको तिलोत्तमा पश्चिम क्षेत्रको पहुनीबाट सुरु भएको घरदैलो अभियान गोरकट्टा, १२ नम्बर चोक हुँदै मणिग्रामसम्म पुगेको थियो। घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार रिता सेन, क्षेत्रीय सभापति प्रजापाल गिरी, तिलोत्तमा–६ का सभापति युवराज भण्डारी लगायत काँग्रेसका नेता–कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
पौडेलले सबै वर्ग र समुदायका घरघरमा पुगेर भोट माग्ने तथा आशीर्वाद लिने बताएका छन्। उनले रोजगार सिर्जना तथा व्यवसायी संरक्षणलाई आफ्नो प्राथमिकतामा राख्ने धारणा सार्वजनिक गरेका छन्। पौडेलले रुपन्देहीमा विभिन्न उद्योग तथा अस्पताल सञ्चालन गरी झण्डै पाँच हजार नागरिकलाई रोजगारी दिइरहेका छन् भने सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्।
यसैबीच स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसालले सोमबार मोटरसाइकल र्याली गर्दै प्रचारप्रसार सुरु गरेका छन्।
यता नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार बिरेन्द्र सीले पनि बुटवलमा कार्यक्रम आयोजना गर्दै चुनावी प्रचारप्रसारको औपचारिक सुरुवात गरेका छन्। उम्मेदवार सीले सुकुम्बासी, दलित तथा श्रमजीवी वर्गको मत आफ्नो पार्टीमा आउनेमा विश्वास व्यक्त गरेका छन्।
रुपन्देही क्षेत्र नम्बर २ बाट नै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष बिष्णु प्रसाद पौडेल पनि चुनावी प्रतिस्पर्धामा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी बाट सुलभ खरेलले समेत प्रतिस्पर्धा गरिरहेका छन्। यस अघिको निर्वाचनमा एमाले नेता पौडेलले झिनो मतान्तरले विजय हासिल गरेका थिए।
