२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • शिवरात्री : भगवान शिवको आराधना र...
समाचार

शिवरात्री : भगवान शिवको आराधना र धार्मिक आस्थाको पर्व

शिवरात्री : भगवान शिवको आराधना र धार्मिक आस्थाको पर्व

आइतवार, फाल्गुण ३ २०८२
आइतवार, फाल्गुण ३ २०८२
  • आज हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्री देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। त्रिलोकका संहारकर्ता तथा सृष्टिको पुनर्संरचनाका प्रतीक भगवान शिवको पूजा–आराधना गर्दै यो पर्व मनाउने परम्परा रहेको छ। धार्मिक मान्यता अनुसार आजकै दिन भगवान शिव र पार्वतीको विवाह सम्पन्न भएको तथा भगवान शिवले ताण्डव नृत्य गरेको विश्वास गरिन्छ। शिवरात्रीको दिन उपवास बस्ने, बेलपत्र, धतुरो, दूध तथा जल अर्पण गर्ने चलन रहेको छ। यसो गर्दा मनोकांक्षा पूरा हुने र पापबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ।

    पर्वको अवसरमा राजधानीस्थित विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर मा बिहानैदेखि हजारौं भक्तजनहरुको घुइँचो लागेको छ। नेपालसहित भारत लगायत विभिन्न देशबाट साधुसन्त र भक्तजनहरु पशुपतिनाथ पुगेका छन्। मन्दिर परिसरमा विशेष पूजा, आरती तथा धार्मिक अनुष्ठान सञ्चालन भइरहेका छन्।

    यस्तै, लुम्बिनी प्रदेशका विभिन्न शिवालयहरूमा पनि भक्तजनहरुको उल्लेख्य भीड देखिएको छ। पाल्पास्थित धार्मिक आस्थाको केन्द्र सिद्धबाबा मन्दिर मा दर्शनार्थीहरुको लाम लागेको छ। त्यस्तै बुटवलको नयाँ गाउँमा रहेको मुक्तिनाथ धाम मा बिहानैदेखि भक्तजनहरुको उपस्थिति बाक्लो बनेको छ।

    रूपन्देहीको सैनामैनास्थित बोलबम धाम लगायतका शिवालयहरूमा समेत शिवभक्तहरू पूजा, आराधना र भजनकीर्तनमा सहभागी भएका छन्।

    देशका अन्य प्रमुख शिवधामहरूमा पनि आज विशेष पूजा अर्चना भइरहेको छ। भक्तजनहरु पूर्वी नेपालस्थित हलेसी महादेव मन्दिर, भक्तपुरको डोलेश्वर महादेव मन्दिर तथा पश्चिम नेपालका विभिन्न शिवालयहरूमा समेत दर्शन गर्न पुगेका छन्।

    महाशिवरात्रीले धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव, संयम र आत्मशुद्धिको सन्देश दिने पर्वका रूपमा लिइन्छ। सरकारले पनि शिवरात्रीको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij