बुटवल — नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले साम्राज्यवादी शक्तिविरुद्ध जुनसुकै मोर्चाबाट पनि संघर्ष गर्न तयार रहेको उद्घोष गरेका छन्।
नेकपा (माओवादी) लुम्बिनी प्रदेश अन्तर्गत बुटवलमा आयोजित गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र नवलपरासीका उम्मेदवार तथा अगुवा कार्यकर्ताको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा बोल्दै विप्लवले विदेशी डिजाइनमा सरकार गठन भएको आरोप लगाए।
उनले वर्तमान राजनीतिक सत्ता राष्ट्रिय स्वाधीनता कमजोर पार्ने दिशामा अघि बढेको दाबी गर्दै त्यसविरुद्ध माओवादी शक्तिले सशक्त राजनीतिक प्रतिवाद गर्ने चेतावनी दिए।
महासचिव विप्लवले संविधान संशोधन, राज्य पुनःसंरचना र प्रत्यक्ष राष्ट्रपतिको प्रणाली लागू गर्नुपर्ने मुद्दा लिएर जनताको घरदैलोमा जान उम्मेदवारहरूलाई निर्देशन दिए। उनले वर्तमान संविधानले जनताको वास्तविक अधिकार सुनिश्चित गर्न नसकेको आरोप लगाए।
उनले राष्ट्रपतिसमक्ष पेस गरिएका राष्ट्रिय स्वाधीनता, जनअधिकार र राजनीतिक सुधार सम्बन्धी मागहरू सुनुवाइ नभएको भन्दै राज्यसत्ता जनभावनाबाट टाढिँदै गएको टिप्पणी गरे।
विप्लवले शुशिला कार्की नेतृत्वको सरकारले स्वतन्त्र राजनीतिक पहिचान गुमाएको दाबी गर्दै उक्त सरकार रास्वपाको प्रभावमा सञ्चालन भइरहेको आरोप लगाए। चुनाव गराउने जिम्मेवारी लिएर सरकारमा सहभागी भएका मन्त्रीहरू नै उम्मेदवार बन्नु अस्वाभाविक राजनीतिक डिजाइनको संकेत भएको उनको भनाइ थियो।
प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगर, पीबीएम वसन्त श्रेष्ठ, बाला थापा तथा केन्द्रीय सदस्यहरू संगम पुन, धिरज राना, सरद ओली लगायतका नेताहरूले सम्बोधन गरेका थिए। उम्मेदवारहरूले आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रको राजनीतिक अवस्था बारे रिपोर्टिङ गरेका थिए।
नेकपा (माओवादी) ले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये २६ निर्वाचन क्षेत्रमध्ये २३ क्षेत्रमा उम्मेदवार उठाएको जनाएको छ। रोल्पामा प्रभावशाली नेता चुडामणि वली उम्मेदवार रहेका छन्।
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा माओवादीले उम्मेदवार घोषणा गरेको छ। क्षेत्र नम्बर ५ मा विष्णु भट्टराई, क्षेत्र नम्बर २ मा वीरेन्द्र विक, क्षेत्र नम्बर १ मा मदनबहादुर थारु, क्षेत्र नम्बर ३ मा शंकर ज्ञवाली र क्षेत्र नम्बर ४ मा विष्णु तिवारी उम्मेदवार रहेका छन्।
यसैगरी पाल्पा क्षेत्र नम्बर १ मा विष्णु ठाडराई र क्षेत्र नम्बर २ मा जेन्जी युवा पूर्ण गैरेलाई प्रत्यक्ष उम्मेदवार बनाइएको नेकपाका केन्द्रीय सदस्य सरद वलीले जानकारी दिए।
