बुटवल । बुटवल उपमहानगरपालिकाको सहकार्यमा सहिद तथा बेपत्ता स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजनामा सञ्चालन हुँदै आएको बुटवल बृहत सरसफाइ अभियान ले चौथो हप्ताको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। ‘Clean Butwal–Green Butwal, Historical Butwal–Tourism Butwal’ भन्ने नारासहित सुरु गरिएको अभियानले बुटवललाई सफा, हरित र पर्यटकीय सहरका रूपमा विकास गर्ने उद्देश्य लिएको छ।
बसपार्क क्षेत्रबाट सुरु गरिएको सरसफाइ अभियानले पहिलो र दोस्रो हप्ता बसपार्कमै सरसफाइ गरेको थियो भने तेस्रो हप्ता गोलपार्क र पुलचोक क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो। चौथो हप्ताको कार्यक्रममा पनि स्थानीय नागरिक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
आजको कार्यक्रममा रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (माओवादी) का उम्मेदवार बिरेन्द्र सी सहित विभिन्न संघ–संस्थामा आवद्ध व्यक्तित्वहरू, कानुन व्यवसायी (वकिल) तथा पत्रकारहरूको सक्रिय सहभागिता देखिएको थियो। कार्यक्रममा सहभागीहरूले सरसफाइलाई अभियान मात्र नभई दैनिक जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सहिद तथा बेपत्ता स्मृति प्रतिष्ठान नेपालका उपाध्यक्ष शरद वली ले सरसफाइ अभियानमा निरन्तर साथ र सहयोग गर्ने सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गरे। साथै उनले आगामी हप्ताको सरसफाइ कार्यक्रम बुटवल देवीनगर क्षेत्रमा आयोजना गरिने जानकारी गराउँदै, यो अभियान निरन्तर र नियमित रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय तह, सामाजिक संस्था र नागरिकको संयुक्त प्रयासमा अघि बढिरहेको बुटवल बृहत सरसफाइ अभियानले बुटवललाई स्वच्छ, स्वस्थ र आकर्षक सहर बनाउने अभियानमा सकारात्मक सन्देश दिएको छ।
