बुटवल । श्री ध्रुवतारा सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलको आयोजनामा अन्तरसहकारी असल अभ्यास साटासाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाकर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रम संस्थाका अध्यक्ष मानबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भयो। सचिव विनोद खनालले स्वागत मन्तव्य व्यक्त गरे भने उपाध्यक्ष ई. छबिन्द्र भट्टराईले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो। कानुनी सल्लाहकार अधिवक्ता माधवप्रसाद घिमिरेले धन्यबाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा बुटवल तथा आसपासका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सबैको साकोस तिलोत्तमाका अध्यक्ष भरत भुषाल र व्यवस्थापक हरिहर पौडेल, लालटिन बहुउद्देश्यीय सहकारीका अध्यक्ष गंगालाल सापकोटा, उपकार साकोसका अध्यक्ष कृष्णप्रसाद शर्मा र कोषाध्यक्ष भुपाल शर्मा, सिर्सिरे साकोसका अध्यक्ष रामकृष्ण शर्मा, सतगढी साकोसका सचिव ओमप्रसाद भट्टराई, जुनतारा साकोसका अध्यक्ष यमप्रसाद पोखरेल, धनवर्षा साकोसका अध्यक्ष राधाकृष्ण देउला र व्यवस्थापक रचना पन्थी, जागरुक साकोसका व्यवस्थापक सुन्दर रेग्मी, साथै ध्रुवतारा सयपत्री साकोसका निवर्तमान अध्यक्ष तुलसिराम शर्मालगायतले सहकारी क्षेत्रका अनुभव र असल अभ्यासबारे धारणा राख्नुभएको थियो।
प्रमुख अतिथि गुणाकर खनालले बुटवल उपमहानगरपालिकाभित्र रहेका १२५ वटा सहकारी संस्थाको अवस्था समग्रमा सन्तोषजनक रहेको बताउँदै सहकारीहरू एक–आपसमा मर्जर हुने अवस्थामा उपमहानगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो। मर्जरले सञ्चालन खर्च घट्ने, सुशासन र नियमन सहज हुने तथा सहकारीहरू अझ सुदृढ बन्ने उहाँको भनाइ थियो।
कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष मानबहादुर कुँवरले ध्रुवतारा सयपत्री साकोसले अवलम्बन गर्दै आएका असल अभ्यास, पारदर्शी वित्तीय व्यवस्थापन र सदस्यकेन्द्रित कार्यक्रमहरू समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभयो। कार्यपत्रले सहभागी सहकारीहरूलाई व्यवहारिक ज्ञान र अनुभव साटासाटमा थप टेवा पुर्याएको सहभागीहरूको प्रतिक्रिया थियो।
कार्यक्रमले सहकारीहरूबीच आपसी सहकार्य, सिकाइ र समन्वयलाई मजबुत बनाउँदै दिगो र उत्तरदायी सहकारी आन्दोलनतर्फ अघि बढ्ने आधार तयार गरेको निष्कर्ष निकालिएको छ।
