२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • नेकपा (माओवादी) र मिराज नेतृत्वको जेनजी...
समाचार

नेकपा (माओवादी) र मिराज नेतृत्वको जेनजी समूहबीच मोर्चाबन्दी

नेकपा (माओवादी) र मिराज नेतृत्वको जेनजी समूहबीच मोर्चाबन्दी

सर्वपक्षीय सरकारका लागि सडकमै निर्णायक संघर्ष घोषणा

बिहिवार, माघ २ २०८२
बिहिवार, माघ २ २०८२
  • काठमाडौं । नेकपा (माओवादी) र मिराज नेतृत्वको जेनजी समूहबीच वर्तमान राज्यसत्ताविरुद्ध संयुक्त मोर्चा बनाएर निर्णायक संघर्षमा उत्रने सहमति भएको छ। बिहीबार माइतीघर मण्डलामा आयोजित संयुक्त कार्यक्रममा दुवै पक्षले चारबुँदे राजनीतिक सहमति सार्वजनिक गर्दै सर्वपक्षीय अन्तरिम सरकार गठनका लागि संयुक्त आन्दोलन अघि बढाउने घोषणा गरेका हुन्।

    सहमति सार्वजनिक गर्दै नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सत्ता, संविधान र शासन प्रणाली जनविरोधी, असफल र संकटग्रस्त भइसकेको ठहर गरे। उनले देशलाई निकास दिन सर्वपक्षीय सरकारबाहेक अर्को कुनै विकल्प नरहेको दाबी गर्दै अब आन्दोलन प्रतिकात्मक नभई निर्णायक हुने कडा चेतावनी दिए।

    विप्लवका अनुसार सहमतिमा

    – सर्वपक्षीय अन्तरिम सरकार गठनका लागि देशव्यापी संघर्ष

    – राज्यको अग्रगामी पुनर्संरचना

    – भ्रष्टाचारमा लिप्त शासक वर्गविरुद्ध विशेष न्यायिक संयन्त्र गठन

    – जन–जीवन ध्वस्त पार्ने नीति र सत्ताविरुद्ध जनविद्रोहलाई संगठित गर्ने

    जस्ता बुँदामा दुवै पक्ष पूर्ण रूपमा एकमत भएका छन्।

    कार्यक्रममा जेनजी समूहका संयोजक मिराज ढुंगानाले पुरानो राजनीतिक शक्तिले युवाको भविष्य बन्धक बनाएको आरोप लगाउँदै अब सत्तासँग सम्झौता होइन, प्रत्यक्ष टकरावको बाटो रोजिएको स्पष्ट पारे। उनले युवाहरूलाई निर्णायक आन्दोलनमा संगठित गरिने दाबीसमेत गरे।

    नेकपा (माओवादी) र जेनजी समूहबीचको यो सहमतिलाई विद्यमान सत्ता संरचनामाथि खुला राजनीतिक चुनौती का रूपमा हेरिएको छ। सहमतिसँगै आगामी दिनमा आन्दोलनका कार्यक्रम झनै सशक्त, आक्रामक र संगठित बनाइने संकेत दुवै पक्षले दिएका छन्।

    यसैबीच, घोषित फागुन २१ को चुनाव आउन झण्डै ५० दिन मात्र बाँकी रहँदा जेनजी समूह र नेकपा (माओवादी)बीच भएको यो सहमतिले सरकारमाथि चर्को राजनीतिक दबाब सिर्जना गर्ने निश्चितप्रायः देखिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij