बुटवल । शिवनगर सामुदायिक वन उपभोक्ता समूहको ३०औँ वार्षिक साधारण सभा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले शिवनगर सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय वनको रूपमा विकास गर्न आवश्यक रहेको बताए। उनले भने, “यस क्षेत्रमा रहेको गौशालाको दीगो व्यवस्थापनका लागि वनलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्नुपर्छ। नगरपालिकाले वन संरक्षण तथा विकासका लागि आवश्यक जुनसुकै सहयोग गर्न तयार छ।” साथै, उनले यहाँ देखिएको खानेपानी समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व नगर प्रमुख शिवप्रसाद सुवेदीले वनको व्यवस्थापन र संरक्षणमा सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए। उनले भने, “विगतमा सरकारी नीतिका कारण समस्या परेको वन क्षेत्र सामुदायिक वनमा आएपछि अब यसको संरक्षण गर्ने जिम्मेवारी प्रत्येक नागरिकको हो।”
उद्घाटन सत्रमा संचालक समितिका अध्यक्ष मनोज गौचनले एक वर्षको अवधिमा संचालक समितिले गरेका गतिविधि, वन संरक्षण कार्यक्रम, विकास परियोजना तथा आगामी वर्षका योजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरे। उनले वन संरक्षण, वातावरणीय सन्तुलन, पर्यटन विकास तथा समुदायको सक्रिय सहभागिताको महत्व औँल्याए।
त्यसपछि विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा टोल विकास संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। शुभकामना दिने प्रमुख व्यक्तिहरूमा एमाले बुटवल नगर अध्यक्ष शोभाखर पोखरेल, नेपाली कांग्रेस नगर उपसभापति ज्योति भण्डारी, नेपाली कम्युनिस्ट पार्टीका नगर संयोजक महेन्द्र भुसाल लगायत रहेका थिए।
कार्यक्रमको सञ्चालन सचिव श्यामकुमारी आचार्यले गरेकी थिइन् भने सह–सचिव शिवबहादुर अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। यसैगरी कोषाध्यक्ष रविन केसीले समूहको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
उक्त शिवनगर सामुदायिक वनमा झण्डै चार हजार उपभोक्ताहरू आवद्ध छन्। साधारण सभाको बन्द सत्रमा अध्यक्ष, कोषाध्यक्ष तथा लेखा समितिद्वारा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो। साथै, साधारण सभाले आगामी वर्ष वन संरक्षण, पर्यटकीय विकास, गौशाला व्यवस्थापन तथा खानेपानी परियोजना अघि बढाउने कार्ययोजना समेत पारित गरेको छ।
