२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • भेनेजुएलामाथि अमेरिकी आक्रमणविरुद्ध बुटवलमा ...
समाचार

भेनेजुएलामाथि अमेरिकी आक्रमणविरुद्ध बुटवलमा विरोध सभा

भेनेजुएलामाथि अमेरिकी आक्रमणविरुद्ध बुटवलमा विरोध सभा

संसारभरका कम्युनिस्ट एकजुट भएर अमेरिकालाई जवाफ दिनुपर्छ : वक्ताहरू

आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • बुटवल — भेनेजुएलामाथि भएको अमेरिकी साम्राज्यवादी हस्तक्षेप र आक्रमणविरुद्ध बुटवलमा कडा विरोध सभा सम्पन्न भएको छ। विभिन्न वामपन्थी तथा प्रगतिशील दल–संगठनहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त सभाले अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपकारी चरित्रको तीव्र भर्त्सना गरेको छ।

    विरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य प्रेम सुवेदीले अमेरिकी आक्रमणको कडा भर्त्सना गर्दै संसारभरका कम्युनिस्ट शक्तिहरू एकजुट भई अमेरिकी साम्राज्यवादलाई राजनीतिक र जनआन्दोलनको माध्यमबाट ठोस जवाफ दिनुपर्ने बताए। उनले साम्राज्यवाद जहाँ पुगे पनि युद्ध, विनाश र लुट निम्त्याउने गरेको उल्लेख गर्दै भेनेजुएलामाथिको हस्तक्षेप त्यसैको निरन्तरता भएको स्पष्ट पारे।

    यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य शरद वलीले अमेरिका मानवताविरोधी राष्ट्रका रूपमा विश्वभर चिनिँदै गएको आरोप लगाए। उनले भेनेजुएलामा रहेका खनिज स्रोत र तेल लुट्नकै लागि अमेरिकाले आफ्ना दलाल सत्ता स्थापना गर्ने उद्देश्यले वैधानिक राष्ट्रपति निकोलस मादुरोमाथि आक्रमण र षड्यन्त्र गरिरहेको बताए। उनले नेपालमा समेत नयाँ दलालहरू खोज्ने प्रयास भइरहेकोतर्फ संकेत गर्दै सबै देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरू एकजुट हुन अपिल गरे।

    विरोध सभामा राष्ट्रिय जनमोर्चाका नेता बद्री आलमले अमेरिकाले अन्तर्राष्ट्रिय मूल्य–मान्यता, संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन गरेकोप्रति कडा आपत्ति प्रकट गरे। उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथिको दमन र गिरफ्तारी प्रयास तत्काल रोक्न तथा सम्मानसहित रिहाइ गर्न माग गरे।

    सभामा वक्ताहरूले भेनेजुएलाका जनताले आफ्नो भविष्य आफैं निर्धारण गर्ने सार्वभौम अधिकारमाथि भइरहेको हस्तक्षेप अस्वीकार्य भएको जनाउँदै विश्वका सबै प्रगतिशील शक्ति र जनसमुदाय साम्राज्यवादी आक्रमणविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए।

    यसैबीच, काठमाडौँसहित देशका विभिन्न मुख्य स्थानहरूमा पनि विद्यार्थी संगठन तथा कम्युनिस्ट पार्टीहरूले अमेरिकी हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेका छन्। ती प्रदर्शनहरूमा अमेरिकी साम्राज्यवादविरुद्ध चर्का नारा लगाउँदै भेनेजुएलाका जनतासँग ऐक्यबद्धता प्रकट गरिएको जनाइएको छ।

    चिसो मौसमका बाबजुद उल्लेख्य जनसहभागितासहित सम्पन्न उक्त विरोध सभाले अमेरिकी साम्राज्यवादविरुद्ध जनआक्रोश थप चुलिँदै गएको सन्देश दिएको छ र यो आन्दोलनलाई देशभर चर्काउने कम्युनिस्ट घटकहरुले चेतावनी दिएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij